आगलागीबाट ७७ लाख बढीको क्षति | Khabarhub Khabarhub

आगलागीबाट ७७ लाख बढीको क्षति


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

खोटाङ – यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा भएको आगलागीबाट रु ७७ लाख बढीको क्षति भएको छ ।

यही चैत ३ गते राति स्थानीय बाल्सीखोला सामुदायिक वनबाट सुरु भएको डढेलो गाउँ पस्दा १० वटा घर, बालकन्या आधारभूत विद्यालय र दुईवटा खानेपानी आयोजनामा क्षति पुर्याएको थियो ।

आगलागीबाट अदम राईको दुई वटा फुसको छाना भएको घर तथा घरमा भएका सम्पूर्ण सामग्री, गाईको गोठ तथा गोठमा बाँधिएका एउटा गाईको बाच्छी र तीन वटा बाख्रा जलेर नष्ट भएको थियो । राईको रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोही डढेलोले स्थानीय सम्बरबहादुर राईको रु सात लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । नगेन्द्र राईको रु १२ लाख, पविन्द्रकुमार राईको रु नौ लाख, हिराधन राईको रु नौ लाख, कृष्णबहादुर राईको रु सात लाख, चयनकुमार राईको रु सात लाख बराबरको क्षति भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए ।

डिकुवाको विभिन्न गाउँमा फैलिएको डढेलोले स्थानीय टङ्कबहादुर राईको फुसको छाना भएको घर जल्दा रु पाँच लाख तथा स्थानीय रनबहादुर राईको घरमा आंशिक क्षति हुँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ । स्थानीय छोटा राईको चरनका लागि जङ्गलमा छाडिएको छ वटा बाख्रा र चार वटा खसी जलेर मर्दा रु एक लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीमा स्थानीय नाईखोला मुहान भएको बाल्चुङ–बाघखोर खानेपानी आयोजनाको ३२ मिलिलिटरको एक हजार २०० र २५ मिलिलिटरको ९०० मिटर पोलेथिन पाइप जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको जनाइएको छ ।

बाल्चुङ, बाघखोर र च्यानटारका ३२ घरधुरी उपभोक्ताले उपभोग गर्दै आएको खानेपानी आयोजनाको पाइप जलेर नष्ट भएपछि खानेपानी अभाव भएको छ ।सोही ठाउँको मैतञ्जु–थुम्की खानेपानी आयोजनाको ३२ मिलिलिटरको दुई हजार १०० मिटर लामो पोलेथिन पाइप जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको छ ।

आगलागीपीडितलाई जिल्ला प्रशासन कार्यालय, हलेसी तुवाचुङ नगरपालिका र रेडक्रसले राहत सामग्री उपलब्ध गराएका छन् । आगलागीका घटनाबाट बिचल्लीमा परेका डिकुवावासीका लागि तत्काल राहत तथा पुनःस्थापनामा ध्यान दिन प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले आज संसद्मा विशेष समय लिएर सरकारको ध्यानाकार्षणसमेत गराउनुभएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ८ : ५२ बजे

एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई)धैर्यताका

एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह

काठमाडाैं – बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९

पर्यटनमन्त्री पाण्डे चारदेशको भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी,

संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो : प्रचण्ड

निजगढ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

आगलागीबाट ७७ लाख बढीको क्षति

खोटाङ – यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको