काठमाडौं– नेपाली शासकले दुःख दिँदा होस् कि देश निकाला गर्दा होस्, राजनीतिमा लागेका नेताहरू शरणका लागि दक्षिणी छिमेकी मुलुक भारत जाने प्रचलन कुनै नौलो विषय मानिँदैन ।
तर एउटा कालखण्डमा एउटी भारतीय स्वतन्त्रता सेनानी महिलालाई नेपालले सरकारी सुविधासहितको आवासीय शरण दिएको इतिहास छ । उनलाई सरकारले तत्कालीन थापाथली दरबार नजिकै घर, बगैंचा र भत्ताको व्यवस्था गरेर इज्जतका साथ राखेको थियो ।
अंग्रेजसँगको लडाईं वीरताका साथ लडेकी ती महिलाले अन्तिम श्वास नेपाली भूमिमै फेरिन् । उनै स्वतन्त्रता सेनानी बेगम हजरत महलको समाधि काठमाडौंको मध्य भाग बागबजारमा अवस्थित छ ।
नेपाली जामे मस्जिद परिसरमा रहेको वीरंगाना बेगम हजरत महलको समाधि स्थल रत्नपार्कको आकाशे पुलको उत्तरपट्टिबाट बागबजारतर्फ झदै गर्दा देख्न सकिन्छ । सन् १८५८ नोभेम्बर महिनामा नेपालको शरणमा आएकी वीरंगनाको सन् १८७९ अप्रिल ७ मा निधन भएको थियो ।
सन् १८२० मा जन्मिएकी बेगम हजरत महलले सन् १८५७ मा भारतको लखनऊमा अंग्रेजविरुद्ध भएको विद्रोहको नेतृत्व गरेकी थिइन् । उनी स्वतन्त्रताका लागि लडिएको पहिलो लडाईंकी एक्लो नेता थिइन् । जसलाई अंग्रेजले अनेक प्रयास गर्दा पक्राउ गर्न सकेनन् ।
नेपालमा शरण
‘लखनऊ विद्रोह’ मा सफलता हासिल गर्न नसकेपछि बेगम हजरत महल समर्थकहरूका साथ नेपाल आएकी थिइन् । उनको नेतृत्वमा अंग्रेज शासकविरुद्ध सुरु भएको ‘लखनऊ विद्रोह’ लाई नेपालबाट गएको सैन्य टुकडीले विफल तुल्याइदिएको थियो ।
तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले सहायताका लागि भारत पठाएको सेनाको साथ–सहयोगमा अंग्रेजसँगको लडाईंबाट हार खाएर बेगम हजरतमहल छोरा र बचेका समर्थकहरूका साथ नेपालको सीमातर्फ आएकी थिइन् ।इतिहासकारहरूका अनुसार उनले बहराइच जिल्लाको बुँदीको किल्लालाई आफ्नो अड्डा बनाएकी थिइन् ।
लखनऊबाट बाहिरिँदा बेगम हजरत महलसँग १५ देखि १६ हजार सैनिक साथमा थिए । उनीहरूसँग १७ तोप पनि थिए । लखनऊ छाडेर बहराइचमा रहँदा पनि हजरतले अवध प्रशासन चलाउने प्रयास भने छाडिनन् ।
बहराइचबाट पनि उनका छोरा नवाब मिर्जा ब्रिजिस कादरका नामबाट आदेश जारी हुन्थे भने सैनिकलाई नियमित तलब दिने गरिन्थ्यो । सत्तामा फर्किने आशाहरू विस्तारै समाप्त हुने क्रम बढ्न थालेपछि बेगम हजरत महललाई अंग्रेजबाट बन्दी बनाइने डरले छोप्दै गयो । त्यसपछि उनी नेपालमा शरण लिने निर्णयमा पुगिन् ।
तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले बेगम हजरत महलले शान्तिपूर्वक बस्ने प्रतिज्ञा गरे नेपालमा रहन दिने घोषणा गरे । उनले नेपालको जमिन प्रयोग गरेर कुनै पनि हिंसा गर्ने अनुमति नदिने सर्त राखे । हजरत महलले आफ्नो बाँकी जिन्दगी काठमाडौंमा बिताइन् ।

नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिम भन्छन्, ‘लखनऊको लडाईं हारेपछि उहाँ (हजरत) भागेर नेपाल आउनुभयो । पहिलोपल्ट जङ्गबहादुर राणाले शरण दिनुभएन । दोस्रोपल्टको प्रयासमा उहाँलाई शरण दिएर नेपालमै बस्न दिइयो ।’
इतिहासकार पुरूषोत्तमशमशेर जबराका अनुसार ‘लखनऊ विद्रोह’ को नेतृत्व गरेकी बेगम हजरत महलले भारतबाट भागेर नेपाल प्रवेश गर्ने क्रममा आठ सय सैनिक गुमाउनु परेको थियो ।
लखनऊबाट भागेको विद्रोहीहरू पश्चिमी तराईको बुटवल नजिकै बस्दै आएको सूचना पाएपछि जङ्गबहादुरले दमनका लागि पठाएको सैनिक टोलीको नेतृत्व गरेका कर्णेल पहलमानसिंह बस्नेतले गरेको आक्रमणबाट बेगमले आठ सय विद्रोही गुमाएकी थिइन् ।
कर्णेल बस्नेत नेतृत्वको सैन्य टोलीले बेगम नेतृत्वको विद्रोही टोलीमाथि गरेको आक्रमणबारे इतिहासकार पुरूषोत्तमशमशेर जबराले आफ्नो पुस्तक ‘श्री ३ हरूको तथ्य वृतान्त’ मा लेखेका छन्–
सन् १८५८ को आखिर औं १८५९ ई. को सुरुतिर लर्ड क्लाइंडको मातहबाट भागेको ‘नसराबाद रेजिमेन्ट’ का विद्रोही सेनाका जवानहरू र भारत कर्मठ विद्रोही नेताहरू भारत छोडी भागी नेपालको पश्चिमी तराईको चारकोसे झाडी याने जङ्गल–भैरहवा, बुटवलको सुरी खोला भन्ने ठाउँमा गड बनाई छ भन्ने सूचना जङ्गबहादुरले पाए ।
साथै ब्रिटिस–भारत सरकारको तर्फबाट रेजिडेन्ट लेफ्टिनेन्ट कर्णेल र्यामजेले पनि सम्पूर्ण विद्रोहीहरू पूर्व सन्धिअनुसार ब्रिटिस भारत सरकारको सुपुर्द गर्नुपर्छ भनी सुनाए ।
श्री ३ जङ्गको आज्ञाबाट कर्णेल पहलमान सिंह बस्नेतको मातहातमा तुरुन्त ४ हजार जवान सेनाको साथ ती विद्रोही भारतीयहरूलाई पक्रन पठाए । वि.सं. १९१६ वैशाख–जेष्ठ, तदनुसार मे १८५८ ई. मा कर्णेल पहलमान सिंह बस्नेत बुटवल नजिक चाङ्मीको किल्लामा पुगे ।
निजले भारतबाट नेपाल सरहदभित्र पसेका भारतीय विद्रोहीहरू विषय बुझ्दा विद्रोहीहरूलाई पक्रन मुस्किलै पर्ने ठहरियो । कारण २ हजारभन्दा तालिमे सेनाका जवानहरूको साथै प्रशस्त हात–हतियारसमेत तिनीहरूको साथमा बुझियो । अर्को जरुरी कुरा के थियो भने हरेक दिन सयौं विद्रोहीहरू भारततर्फबाट आई ठूलो संख्यामा तिनीहरूको गढ दिन प्रतिदिन मजबूत भैरहेको थियो ।
यस विषयको सूचना तुरुन्त ‘हेलियो’द्वारा (हेलियो भनेको एक डाँडाबाट अर्को डाँडामा घाम लागेको अवसरमा ऐनाको लाइटद्वारा संकेत गरी सूचना दिनेलाई भन्दछन्) तुरुन्त काठमाडौंमा श्री ३ जङ्गलाई यथार्थ गरी पठाए ।
यसै अवसरमा राजा गंगाधर राव र बालारावहरूले श्री ३ जङ्गलाई, ‘हामीहरू शराणर्थी स्वरूप नेपाल सरहभित्र पेसेका छौं, शरण दिनुहोस् अथवा मरण गर्नुहोस् । जब तपाईं सिवाय हिन्दु धर्मको रक्षा कसैले गर्न सक्दैन, तसर्थ हामी गाई–गंगा बराबर छौं तपाईंको जो इच्छा छ सो गरेमा हामी सन्तुष्ट छौं’ भनी पत्र लेखी पठाए ।
वि.सं. १९१६ श्रावण, तदनुसार अगस्ट ८, १८५९ का दिन श्री ३ जङ्गसमेत ७ भाइ र २ बहिनीहरूकी मुमा स्व. काजी बालनरसिंह कुँवरकी कान्छी पत्नी स्व. काजी नैनसिंह थापाकी पुत्री स्व. प्रधानमन्त्री जनरल माथवरसिंह थापाकी सहोदर बहिनी श्री गणेश कुमारी ‘रक्षकुमारी’ को जम्मा ५७ वर्षको उमेरमा मृत्यु भयो ।
मुमा गणेश कुमारीको क्रियाकर्म सिध्याई भाइ जनरल धीरशमशेरको नेतृत्वमा कर्णेल रणज्वल सिंह थापा (स्व. प्रधानमन्त्री माथवरसिंह थापाका जेठा छोरा)को साथ अगस्ट २४ का दिन कर्णेल पहलमान सिंह बस्नेतलाई मद्दतको निमित्त च्याङ्मीको किल्लातर्फ ४ हजार जवान सेनाहरू काठमाडौंबाट बुटवलतर्फ हिँडे ।
जनरल धीरशमशेर पश्चिम चारकोसे झाडी याने तराईको जङ्गलभित्रको च्याङ्मी किल्ला पुग्नु अगावै कर्णेल पहलमान सिंह बस्नेतले विद्रोहीमाथि हमला गरी करिब ४०० जवान विद्रोहीहरूको साथै सङकरापुरमा ‘डिफेन्स’ लिई बसेको विद्रोही नेता ‘बेनीमाधो’को समेत हत्या गरिसकेका रहेछन् ।
यत्तिकैमा जनरल धीरशमशेरको मातहतमा गएको सेना र कर्णेल पहलमान सिंह बस्नेतको मातहतको सेना मिली पुनः विद्रोहीमाथि धावा बोली करिब ४०० जवान अरू विद्रोहीहरूको हत्या गरी करिब ३५०० जवान विद्रोहीहरूलाई पक्री कैद गरे ।

जनरल धीरशमशेर र कर्णेल पहलमान सिंह बस्नेत मातहतको सेनाले गरेको संयुक्त आक्रमणका क्रममा पक्राउ परेका तीन हजार पाँच सय विद्रोहीमध्ये बेगम हजरत महल र उनका छोरा नवाब मिर्जा ब्रिजिस कादर पनि थिए ।
इतिहासकार पुरूषोत्तम राणाको पुस्तक ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ अनुसार बेगम र उनका छोरा नवाबसहितका विद्रोही नेताहरू पक्राउ परेको अढाई महिनापछि जंगबहादुर ११ हजार सेनाको दलबलका साथ बुटवल पुगेका थिए । पक्राउ परेका विद्रोहीलाई धीरशमशेरले आफ्नो अधीनमा राखेका थिए । बुटवल पुगेर जङ्गबहादुरले विद्रोही नेताहरूसँग भेटघाट गरेका थिए ।
‘अढाई महिनापछि नोभेम्बर १, १८५९ का दिन श्री ३ जङ्ग हातहतियारसहित ११,००० जवान सेनाको दल–बलका साथ बुटवल–हाल खस्यौलीमा पुगी भाइ धीरशमशेरका अधीनमा रहेका ती भारतीय विद्रोही नेताहरूसँग भेट मुलाकात गरे,’ पुस्तकमा लेखिएको छ ।
‘यिनीहरूमध्ये बेगम हजरत महल, नवाब मिर्जा ब्रिजिस कादर, नाना सहेव दुन्धु पन्त, निजकी माता, नाना साहेब दुन्धु पन्तकी रानी काशी बाइहरूलाई मात्र श्री ३ जङ्गले पनाह शरण दिई निजहरूलाई आफ्नै थापाथली दरबारको ढिकीनकनिर बेग्ला–बेग्लै घर, बगैंचा र भत्तासमेतको व्यवस्था गरी इज्जतका साथ राखे । अरू सम्पूर्ण भारतीयहरूलाई ब्रिटिस क्याप्टेन निल्समार्फत् कर्णेल हामेल्डिचलाई सुम्पिए ।’
श्री ३ जङ्गबहादुर राणाले उनलाई सरकारी सुविधासहितको आवासीय शरण दिएका थिए । बेगमलाई तत्कालीन थापाथली दरबार नजिकै घर, बगैंचा र भत्ताको व्यवस्था गरेर इज्जतसाथ राखिएको थियो । आफूलाई दिएको इज्जतबाट बेगम हजरत अत्यन्तै प्रभावित भइन् ।
‘शरणार्थी स्वरुप रहनुपर्ने र श्री ३ जङ्गबाट पाएको इज्जत र व्यवहारबाट प्रभावित भई मे ७(१८६०) का दिन बेगम हजरत महल, नवाव मिर्जा ब्रिजिस कादर, नानाराव दुन्धु पन्तकी माता र नाना राव दुन्धु पन्तकी रानी काशी बाईहरू मिली सुनको किस्तीमा कीमती–कीमती जवाहरातहरू राखी श्री ३ जङ्गबहादुरलाई नजरानास्वरूप प्रदान गरे,’ ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ नामक पुस्तकमा उल्लेख गरिएको छ ।
बेगम हजरत महल सन् १८७९ सम्म जीवित रहिन् । अंग्रेज शासकहरूले अन्तिम समयसम्म उनलाई भारत आउन आग्रह गरिरहेका थिए । तर, बेगमले भारत फर्किन कहिल्यै इच्छा देखाइनन् ।

भारतीय लेखक एसएन सेनको पुस्तक ‘१८५७’ लाई साभार गर्दै बीबीसी हिन्दीको अनलाइन संस्करणले लेखेको छ, ‘अंग्रेजलेउनलाई वाजिद अली शाहलाई उपलब्ध गराइए जसरी नै पेन्सन दिने प्रयास गरेका थिए । तर, बेगमले अस्वीकार गरिन् । नेपालमै उनकोमृत्यु भयो । नेपाली भूमिमै उनको समाधि बनाइयो । तर, अंग्रेजसँग बराबरीको टक्कर दिने यी महिलाको उचित मूल्याङ्कन भएन, जसको उनी हकदार थिइन् ।’
बेलायती महारानी भिक्टोरियाको गद्दी आरोहणको ५० वर्ष पूरा भएको अवसरमा बेगमकाछोरानवाब मिर्जा ब्रिजिस कादरलाई माफी दिइएको थियो । उनी भारत फर्किएर कलकत्तामा बसोबास गर्दथे । सन् १८९३ अगस्ट १४ मा उनको निधन भयो ।
बेगमको विद्रोह दबाएवापत जङ्गलाई ‘नयाँ मुलुक’ उपहार
हजरत महल भारतको तत्कालीन अवध राज्यका नवाब वाजिद अलि शाहकी बेगम (रानी) हुन् । सन् १८५६ मा अंग्रेजले अवध राज्य कब्जा गरेका थिए । अबध राज्य कब्जा गरेपछि अंग्रेजले नवाबलाई निर्वासनमा पठाएका थिए । निर्वासनमा जानुअगावै उनले बेगम हजरतसँग सम्बन्ध बिच्छेद गरेका थिए ।
एक वर्षपछि अर्थात् सन् १८५७ जुलाई ३ मा १४ वर्षीय छोरा मिर्जा ब्रिजिस कादरलाई नवाब घोषणा गर्न बेगम हजरतले अंग्रेजविरुद्ध आन्दोलनको सुरुवात गरेकी थिइन् । बेगमले नेतृत्व गरेको झण्डै पाँच हजार विद्रोही सैनिकको समूहर अंग्रेजका ६ सय सैनिकबीच लखनऊबाट ६माइलको दूरीमा रहको चिनहटमा भिडन्त भएको थियो । भिडन्तमा ब्रिटिश सैनिक पराजित भएपछि विद्रोहीले लखनऊ कब्जा गरेका थिए ।
सन् १८५७ जुलाई ६मा १४ वर्षीय मिर्जा ब्रिजिस कादरलाई अवधको राजगद्दीमा राखिएको थियो । उनी नाबालिग भएका कारण राजकाजकोसम्पूर्ण जिम्मेवारी उनकी आमा बेगम हजरत महलले सम्हालेकी थिइन् ।
इतिहासकार राणाका अनुसार बेगमले लखनऊमा विद्रोह सुरु गरेको एक दिन अगाडि अर्थात जुलाई २ मा जङ्गबहादुरले कर्णेल पहलमानसिंह बस्नेतको नेतृत्वमा ६ हजार सेना अंग्रेजको सहायताका लागि पठाएका थिए । अंग्रेजले थप सेना पठाइदिन आग्रह गरेपछि जङ्गबहादुर डिसेम्बर १० का दिन ‘लखनऊ विद्रोह’ दमनका लागि काठमाडौंबाट भारततर्फ हिँडेका थिए ।
‘प्रधान सेनापतिको हैसियतले जङ्गबहादुर आफैँ पश्चिमतर्फका प्रधान सेनापति भाइ रणोद्दीप सिंह, भाइ जनरल धीरशमशेर, चचेरा भाइ (काकाका छोरा) लेफ्टिनेन्ट जनरल बखत जङ्ग, चचेरा भाइ मेजर जनरल खड्गबहादुरसहित चौध हजार सैनिक जवानहरूको दलबलका साथ वि.सं. १९१४ (सन् १८५७) डिसेम्बर १० का दिन विद्रोह दमन गर्न भारत जानका निमित्त काठमाडौं छाडे,’ इतिहासकार जबराले पुस्तकमा लेखेका छन् ।
सन् १८५८ मार्च १९ मा जङ्गबहादुरको सैन्य सहायताले अंग्रेजहरू ‘लखनऊ विद्रोह’ दबाउन सफल भए । त्यसको खुशीमा अंग्रेजले नेपाललाई बाँके, बर्दिया, कैलाली र कञ्चनपुर उपहार स्वरुप प्रदान गर्यो । यी चार जिल्ला नेपालले अंगे्रजसँगको युद्धमा सन् १८१५ मा गुमाएको थियो ।
यसबारे इतिहासकार जबराले पुस्तकमा लेखेका छन्, ‘केही दिनपछि नै ‘नयाँ मुलुक’ जसलाई हाल नेपालगन्ज– ‘बाँके–बर्दिया–कैलाली–कञ्चनपुर’ यी चार जिल्ला वि.सं. १९१६ जेष्ठ–अषाढ, तदनुसार जून १८५८ ई तिर नेपाल सरकारलाई प्रदान गर्यो । यसलाई पनि श्री ३ जङ्गको एक महान् उपलब्धि हो भन्न सकिन्छ ।’

अफ्रिकी ‘गुलाम’ की छोरी
इतिहासकार रोजी लिउलिन जोन्सको हवाला दिँदै बीबीसीले बेगम हजरत महललाई एक अफ्रिकी ‘गुलाम’की छोरी भएको उल्लेख गरेको छ । ‘हजरत महल अत्यन्तै साधारण पृष्ठभूमिबाट आएकी थिइन् । उनका बुवा अम्बर एक अफ्रिकी गुलाम थिए । उनकी आमा महेर अफजा अम्बरकी लखौटी (ल्याइने स्वास्थी) थिइन् । उनी लखनऊको परिखाना संगीत विद्यालयमा संगीत सिक्थिइन् । त्यही भएर उनलाई‘महक परी’ भनिने गरिन्थ्यो ।
प्रतिभावान यासुन्दरी भएर हो अथवा दुवै गुण भएर हो उनी वाजिद अली शाहको ध्यान आफूतिर तान्न सफल भइन् । वाजिद अली शाहले हजरत महलले आफ्नी अस्थाई श्रीमती बनाए । सन् १८४५ मा उनको कोखबाट छोराको जन्म भयो ।जसका कारण उनकोओहदा बढ्न गयो र महलको दर्जा दिइयो ।
तर, सन् १८५० मा भाग्यले हजरत महलको अनुहारको मुस्कान खोसियो । उनलाई वाजिद अली शाहलेछोडपत्र (सम्बन्ध विच्छेद) मात्रै दिएनन् कि आफ्नो हरम (राजा वा उच्च वर्गका पुरुषहरूको निजी निवास वा पत्नीहरू र अन्य नजिकका महिलाहरू बस्ने स्थान) बाट पनि विस्थापित गरिदिए ।
‘नवभारत टाइम्स’मा प्रकाशित समाचारमा बेगम हजरत महलको जन्म १८२० ई. मा अवध प्रान्तको फैजाबाद जिल्लामा पर्ने एक सानो गाउँमा अत्यन्तै गरीब परिवारमा भएको उल्लेख छ । उनलाई बाल्यावस्थामा मुहम्मदी खातुन (मोहम्मद खानम) नामले बोलाइन्थ्यो ।
बेगम हजरत महलको परिवारकोअवस्था अत्यन्तै दयनीय थियो । उनका माता–पितालाई दैनिक हातमुख जोर्न पनि मुस्किल थियो । गरिबीकै कारणउनलाई राजशाही घरानाहरूमानृत्य गर्नुपर्ने बाध्यता आइलाग्यो ।
यसैबीच उनलाई ‘शाही हरम’को परी समूहमा समावेश गरियो । त्यसपछि उनी‘महक परी’ कोरूप चिनिन थालिन् । सौन्दर्यबाट मन्त्रमुग्ध अवधका नवाबले महक परीलाईआफ्नो ‘शाही हरम’मा सहभागी गराउँदै ‘बेगम’ बनाए । उनले ब्रिजिस कादर नामक पुत्र जन्माइन् । त्यसपछि उनलाई ‘हजरत महल’ को उपाधि दिइएको ‘नवभारत टाइम्स’ मा प्रकाशित समाचारमा उल्लेख छ ।
प्रतिक्रिया