एमाले मोरङको कार्यालयमा पूर्वराष्ट्रपति भण्डारी, जिल्ला अध्यक्षसहितले गरे स्वागत | Khabarhub Khabarhub

एमाले मोरङको कार्यालयमा पूर्वराष्ट्रपति भण्डारी, जिल्ला अध्यक्षसहितले गरे स्वागत


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले मोरङ जिल्ला कमिटीको कार्यालयमा पुगेकी छन् । पार्टीका कुनै पनि गतिविधिमा संलग्न हुन नदिन एमालेले हरसम्भव कोसिस गरिरहँदा उनी मंगलबार दिउँसो विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा पुगेकी हुन् ।

एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी पार्टी कार्यालयमा पुग्दा जिल्ला अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा र पूर्वकेन्द्रीय सदस्य एवम् नेता विनोद ढकालसहितले स्वागत गरे । भण्डारीको स्वागतमा सयौँ एमाले कार्यकर्ताहरू पार्टी कार्यालयमा जम्मा भएका थिए ।

उनले पार्टी कार्यालय परिसरमा रहेका एमालेसहितका कम्युनिस्ट नेताहरूको शालीकमा पनि माल्यापर्पण गरिन् । उनले २०७२ सालको भूकम्पयता मोरङ पार्टीको कार्यालयमा आउन नपाएको सुनाइन् ।

गत साउन ५-६ को केन्द्रीय कमिटी बैठकले नवीकरण गरिसकेको सदस्यतासमेत खारेज गरिदिएसँगै एमालेले उनका लागि च्यासलको दैलो बन्द गरेर कुनै पनि गतिविधिमा निषेध गरेको छ

तर पनि उनी नवौँ महाधिवेशनबाट निर्वाचित पूर्वउपाध्यक्षका रुपमा सक्रिय हुन छाडेकी छैनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले छेक्न सबै शक्ति लगाइरहँदा भण्डारी भने काठमाडौं बाहिरसमेत पुगेर सक्रिय हुन थालेकी छन् ।

यही सोमबार उद्घोष दैनिकको कार्यक्रममा भाग लिन विराटनगर पुगेकी उनी मंगलबार एमालेको जिल्ला पार्टी कार्यालयमा पुगेर नेता-कार्यकर्तासँग प्रत्यक्ष संवाद गरेकी हुन् ।

विद्याको स्वागतका लागि विराटनगर विमानस्थलमा मन्त्रीदेखि एमाले नेतासम्मको ‘लाइन’

उनलाई त्यहाँ एमालेकै पूर्वउपाध्यक्षको हैसियतमा स्वागत गरिएको हो । एमाले पूर्वकेन्द्रीय सदस्य विनोद ढकालले पकड बनाएको मोरङलाई प्रयोग गर्दै भण्डारीले सक्रियता बढाउने अवसर पाएकी छन् ।

तर त्यहाँ पनि उनलाई छेक्न एमालेको संस्थापन पक्षले अन्तिम कोसिस गरेको थियो। एमालेको विराटनगर महानगर इन्चार्जसमेत रहेका नेता परशुराम बस्नेतले भण्डारी सहभागी हुने उक्त कार्यक्रममा नजान कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा उर्दी नै जारी गरेका थिए ।

विद्याको दाबी : केन्द्रीय कमिटीको निर्णय थाहा भएन, म एमालेकै संगठित सदस्य हुँ  

‘सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते (मंगलबार) दिउँसो १२ बजे एमाले जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ’, उनले कार्यक्रमअघि भनेका थिए, ‘यस सन्दर्भमा एमालेको केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै कार्यक्रम निर्धारण गरिएको छैन। जिल्ला कार्यालय वा विराटनगर महानगरपालिकाभित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन।’

उनले पार्टीको कार्यक्रम भन्दै झूटो प्रचार गरिएको आरोपसहित नझुक्किन पनि भनेका थिए । उनले अप्रत्यक्ष रुपमा पूर्वराष्ट्रपति सहभागी हुने कार्यक्रममा नजान पनि नेता कार्यकर्तालाई भनेका थिए । तर उनको उर्दी बेवास्ता गर्दै सयौँ नेता-कार्यकर्ता भण्डारीको स्वागतमा पाञ्चाली पुगे ।

स्मरणीय के छ भने मोरङमा अध्यक्ष ओली पक्षीय नेताहरू नराम्रोसँग पराजित भएका छन् । मोरङ जिल्ला कमिटीको दशौँ महाधिवेशनमा नेता ढकालनिकट अजम्बर राई अध्यक्ष, सागर थापा उपाध्यक्ष र सोमराज थापा सचिवमा विजयी भएका थिए । विराटनगर महानगरमा पनि ढकाल पक्षीय प्यानलले नै कब्जा जमाएको थियो ।

त्यहाँ आफूलाई ओलीनिकट बताउने परशुराम बस्नेतहरू नराम्रोसँग पराजित भएका थिए । यस्तोमा बस्नेतले भण्डारीको कार्यक्रममा नजान उर्दी जारी गरेका थिए ।

एमालेका नेताहरूले यसो भने पनि मोरङ जिल्ला पार्टीमा अहिले नेता-कार्यकर्ताको ठूलो भिड लागेको छ। सोमबार उनलाई विराटनगर विमानस्थलमा कोशी प्रदेशका मन्त्री र एमालेका नेताहरूले लाइन लागेर स्वागत गरेका थिए ।

पूर्वराष्ट्रपति भण्डारी सोमबार विराटनगर विमानस्थलमा उत्रिँदा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई स्वागतका लागि ‘बूके’ बोकेर पुगेकी थिइन् । यस्तै एमाले नेता विनोद ढकाल पनि विमानस्थलमा पुगेका थिए ।

भण्डारीको स्वागतका लागि एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी पनि विराटनगर विमानस्थल पुगेका थिए । एमाले मोरङ जिल्ला सचिव सोमराज थापा पनि विमानस्थल पुगेका थिए । भण्डारीलाई स्वागत गर्न पुग्ने सय हाराहारीमा अधिकांश एमाले कार्यकर्ता देखिन्थे ।

एमालेको साउन ५–६ मा बसेको नवौँ केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा आउन निषेध गरेको थियो । उनको सदस्यतासमेत खारेज गरेर अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि गतिविधिमा सहभागी हुन नदिन कडा निर्देशन नै दिएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  २ : ०१ बजे

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो  माओवादी

काठमाडौं– नेकपा माओवादी केन्द्रले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको

इटालीको भेन्टिना हिमनदी तीव्र रूपमा पग्लिँदै

रोम- इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको

विद्यालय तहको स्वास्थ्य शिक्षा पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानुकूल,