काठमाडौं– स्थानीय तह निर्वाचन-०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता हुनबाट वञ्चित भएको छ ।
अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी समूहबीचको आन्तरिक किचलोका कारण आगामी कात्तिक १७ गते निर्धारित उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दलका रूपमा दर्ता हुनबाट वञ्चित भएको हो ।
आयोगका आयोगका प्रवक्ता तथा सहसचिव निता पोखरेल अर्यालले आवश्यक कागजात पेस नगरेका कारण नाउपा उपनिर्वाचन प्रयोजनका लागि दर्ता नभएको जानकारी दिइन् ।
‘नागरिक उन्मुक्ति पार्टीले पेस गर्नुपर्ने डकुमेन्ट पेस नभएका कारणले दर्ता नभएको हो,’ उनले खबरहबसँग भनिन्, ‘हामीले डकुमेन्ट छैन भनेर खबर गर्दा पनि ल्याउनुभएन ।’
नाउपामा देखिएको कचिलोका कारण अध्यक्ष श्रेष्ठले केन्द्रीय समिति बैठकको निर्णय बिना नै निवेदन दिएका कारण आयोगले दल दर्ता गर्न अस्वीकार गरेको बताइएको छ ।
नाउपामा अध्यक्षसहित २१ सदस्यीय केन्द्रीय समिति छ । जसमध्ये १३ जनाले राष्ट्रिय भेलामार्फत् रञ्जितालाई कारबाही गरेका थिए । जसका कारण रञ्जिताले केन्द्रीय समिति बैठक नबोलाएरै दल दर्ताका लागि आयोगमा निवेदन दिएकी थिइन् ।
उनले उपनिर्वाचन प्रयोजनका लागि दल गर्न केन्द्रीय समितिको पुरानो बैठकमा उपस्थित कार्यसमिति पदाधिकारी र सदस्यहरूको हस्ताक्षर उपयोग गरेकी थिइन् ।
रेशमले निर्वाचन प्रयोजनका लागि दल दर्ता नहुनुमा अध्यक्ष रञ्जिता दोषी भएको बताएका छन् । ‘निर्वाचन प्रायोजनको लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन,’ उनले भनेका छन्, ‘म अध्यक्ष हो र ? केन्द्रीय समितिको बैठक बसाएर निर्णय बुझाए भैहाल्थ्यो त ।’
रेशमले रञ्जितामाथि केन्द्रीय समिति बैठक बराखेको, लेखापरीक्षण नगरेको पार्टीलाई चलायमान नबनाएको पनि आरोप लगाएका छन् ।
‘न केन्द्रीय समितिको बैठक बसाउने, न लेखापरीक्षण गराउने, न पार्टीलाई चलाएमान बनाउने, अनि दोष जति मेरो थाप्लोमा थुपारेर आफू चोखो बन्ने ?,’ प्रश्न गर्दै उनले भने, ‘अहिले पनि तुरुन्त केन्द्रीय समितिको बैठक बोलाए भइहाल्यो नि । बाँकी मनोनीत साथीहरूलाई अध्यावधिक गराइदिनु, टण्टै साफ । दुश्मनको सल्लाहमा लागेर युद्ध कहिल्यै जितिन्न । हामी सहयोगी मात्रै होइन, सहयोद्धा पनि हौँ ।’
रूपन्देही–३ मा हुने भनिएको उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता नभएपछि अध्यक्ष रञ्जिता र संरक्षक रेशम समूहसामु अब ‘डमी’ उम्मेदवार अघि सार्ने विकल्पमात्रै बाँकी छ ।
नाउपाका महासचिव थारू उपनिर्वाचनमा कसरी अगाडि जाने भन्नेबारे छलफल गरेर अघि बढ्ने बताउँछन् । तराई–मधेशकेन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले उपनिर्वाचनमा नाउपालाई सघाउने निर्णय यसअघि नै गरिसकेको छ ।
नाउपा निर्वाचन प्रयोजनका लागि दलका रूपमा आयोगमा दर्ता नभएपछि मोर्चाको आगामी कदम के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । तर, मोर्चाको एक घटक राष्ट्रिय मुक्ति पार्टी, नेपालका महासचिव केशव झा नाउपाका संरक्षक रेशमले अघि सार्ने उम्मेदवारलाई सहयोग गरिने बताउँछन् ।
‘हामीले रेशम चौधरीलाई सहयोग गर्ने निर्णय गरिसकेका छौँ । उहाँले स्वतन्त्र रूपमा जसलाई उठाउनुहुन्छ, उही नै हाम्रा साझा उम्मेदार हो,’ झाले खबरहबसँग भने ।
नाउपाका महासचिव थारूले पनि मोर्चाले विश्वास गरेका कारण रूपन्देहीमा स्वतन्त्र उम्मेदवार अघि सारिने संकेत गरे ।
‘दल दर्ता नभए पनि मोर्चाले हामीलाई विश्वास गरिसकेपछि अब छलफल गरेर कसैलाई उठाउन कि भन्ने अप्सनमा छलफल हुन सक्छ,’ उनले भने ।
निर्वाचन आयोगले रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनका लागि २६ दल दर्ता भएका जानकारी दिएको छ । आयोगले साउन २१ गतेदेखि साउन २७ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न भनेको थियो ।
संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन आएका २७ दलमध्ये २६ दलले मापदण्ड पूरा गरेको आयोगको भनाइ छ ।
संरक्षक रेशम दल दर्ता नभए पनि आफ्नो तर्फबाट उपनिर्वाचनमा उम्मेदवार उठाउने भएक छन् । उनी यसै साताबाट उपनिर्वाचनको प्रचार–प्रसारका लागि रूपन्देही जान लागेका छन् ।
‘हाम्रो उम्मेदवार उठ्छ । म राजनैतिक वयक्ति हो । यही सातादेखि प्रचारप्रसारमा खटिन रूपन्देही आउँछु,’ रेशमले फेसबुकमा लेखेका छन्, ‘समस्या चर्काउनतिर होइन, समाधान तिर लागौँ । पार्टी विभाजनका सहयोगीलाई दलबाट मात्रै होइन, समूहबाटै बहिष्कार गरौँ ।’
उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरू–
– मंगोल नेशनल अर्गनाइजेशन
– राष्ट्रिय प्रजातन्त्र पार्टी
– नेपालका लागि नेपाली पार्टी
– जनमत पार्टी
– राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
– जनता समाजवादी पार्टी
-नेपाली कांग्रेस
-राष्ट्रिय जनमोर्चा
-नेकपा (माओवादी केन्द्र)
-जनप्रजातान्त्रिक पार्टी, नेपाल
-नेकपा (एमाले)
-नेकपा माक्र्सवादी (पुष्पलाल)
-संयुक्त नागरिक पार्टी
– नेकपा (एकीकृत समाजवादी)
-नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)
-नेकपा (माले)
-राप्रपा नेपाल
-) नेशनल रिपब्लिक नेपाल
– राष्ट्रिय मातृभूमि पार्टी
– नेपाली जनता दल
– राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
– राष्ट्रिय स्वतन्त्र पार्टी
– नेपाल जनमुक्ति पार्टी
– हाम्रो नेपाली पार्टी
– बहुजन शक्ति पार्टी
– खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल
प्रतिक्रिया