सरकार बनेको एक महिनापछि दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री  | Khabarhub Khabarhub

सरकार बनेको एक महिनापछि दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री 

सचिवालय भन्छ : दशैं-तिहार र बाढी पहिरोले व्यस्त बनायो  



काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय दलका मुख्य नेताहरूसँग संवादका लागि आइतबार पत्र पठाउने तयारी गरेकी छन् । 

कार्कीले दलहरूसँग राजनीतिक संवादका लागि पत्र पठाउन लागेको सचिवालयका सदस्य अजयभद्र खनालले बताए । 

खनालले खबरहबलाई दिएको जानकारी अनुसार पत्र पठाएर यही साताभित्र राष्ट्रिय दलका प्रमुख नेताहरूसँग संवाद गर्ने भएकी छन् । 

‘यो हप्ताभित्र हामी राष्ट्रिय दलका प्रमुख नेताहरूसँग संवाद गर्न पत्र पठाउने तयारी गरेका छौँ। छलफलको मिति आज नै तोकिनेछ ‘, खनालले खबरहबसँग भने, ‘पहिला राष्ट्रिय दलहरूसँग संवाद हुन्छ त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने अरु दल र अन्य सबैसँग पनि संवाद गर्ने तयारी गरेका छौँ।’

खनालका अनुसार आइतबार त्यसको मिति तोकिने बताइएको छ। 

‘हामीले यस अगाडि नै दलहरूसँग संवाद गर्ने भनेर तयारी गरेका थियौँ तर दशैं तिहार बाढी पहिरो लगायतका समस्याहरूले गर्दा सकिरहेका थिएनौँ, खनालले खबहबसँग भने,’देश जटिल अवस्थामा पुगेका कारण हामीले बाढी पहिरो लगायतका विपत्तिलाई उद्धार गर्नतर्फ लाग्यौँ। संवाद गर्ने कुरा त हाम्रो निकै अगाडि नै भएको हो तर हामीले सकिरहेका थिएनौँ।’

खनालले राष्ट्रपतिलाई प्रधानमन्त्रीले नै दलहरूसँग संवाद गर्न आग्रह गरेको बताएका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको सल्लाहमै केही दिनअगाडि शीतल निवासमा दलहरूसँग संवाद गरेको खनालको दाबी छ। 

खनालका अनुसार अनौपचारिक रूपमा केही दलका नेताहरूसँग प्रधानमन्त्री कार्की अहिले पनि संवादमै छिन् ।  

कार्कीले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताहरूसँग भने भेटेर छलफल गरेकी थिइन् । 

यी नेताहरूले प्रधानमन्त्रीसँग भेट्ने इच्छा जाहेर गरेपछि उनले भेटेको बताइएको छ। 

नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबाहेक प्रधानमन्त्री कार्कीले अन्य दलका नेताहरूसँग अनौपचारिक छलफल गरेको अन्य दलका नेताहरू बताउँछन्। 

यसबारे प्रश्न गर्दा खनालले भने यस्तो नभएको बताए । उनले भने, ‘सबै जनालाई आह्वान गरेर उहाँले भेटेर संवाद गर्न चाहिँ नसक्नुभएको हो किनकि अवस्था नै त्यस्तै बन्यो तर भेट्न चाहने र संवाद गर्न चाहने व्यक्तिसँग उहाँले अस्वीकार गर्नुभएको छैन ।’ 

सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको छ। निर्वाचनको मिति पनि दलहरूसँग संवाद नगरी तोकेको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले असन्तुष्टि जनाइरहेका छन्। 

केही समय अगाडि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले दलहरूसँग संवाद नै नगरी निर्वाचनको मिति घोषणा गरेको र शान्ति सुरक्षाको प्रत्याभूति नगराएको भन्दै असन्तुष्टि जनाएका थिए। 

उनले चाँडोभन्दा चाँडो कार्कीले दलहरूसँग संवाद गरेर अगाडि बढ्नका लागि सुझाव दिएका थिए। 

यस्तै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पनि सरकारले निर्वाचनको मिति घोषणा गरे पनि मुख्य दलहरूसँग संवाद नगरेका कारण सरकारको काम कर्तव्यमाथि प्रश्न उठाएका थिए। 

उनले सरकारलाई दलहरूसँग संवाद गरेर अगाडि बढ्नका लागि सुझाव समेत दिएका थिए। 

यी दुवै नेतालाई प्रधानमन्त्रीले संवादका लागि आग्रह गरे जानुहुन्छ भन्ने प्रश्नमा भने, ‘यसका लागि हामी तयार छौँ उहाँसँग भेटेर हामी अहिलेको वस्तु स्थिति र परिस्थितिका बारेमा खुलस्त रुपमा छलफल गर्नेछौँ।’

निर्वाचन नसार्ने पक्षमा प्रधानमन्त्री

प्रधानमन्त्री कार्की अहिलेसम्मको अवस्थामा फागुनको निर्वाचन सार्ने तयारीमा छैनन्। सचिवालयका अनुसार उनी जसरी पनि फागुनमा निर्वाचन गर्ने पक्षमा छिन् ।

यता जेन-जीले पनि फागुन २१ मै निर्वाचन गराउनुपर्ने मागसहित प्रधानमन्त्रीसँग भेटघाट गरिरहेका छन्। 

तर दलहरूको छलफल पछाडि निर्वाचन सार्नेसम्मको तयारी हुनसक्ने सम्भावना छ। मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपालका माओवादी केन्द्रको महाधिवेशन मङ्सिरमै हुँदैछ। 

यसबारे प्रधानमन्त्रीका सचिवालय सदस्य खनालले भने, ‘सरकार शान्ति सुरक्षा कायम गर्न तयार छ । निर्वाचन सार्ने मनसायमा हामी छैनौँ। यसका लागि गर्नुपर्ने आवश्यक तयारी गरिरहेका छौँ।’

दलहरूपछि जेन-जीसँग पनि छलफल गर्ने

प्रधानमन्त्री कार्कीले मुख्य दलका नेता र अन्य दलहरूसँग संवाद गरेपछि पुन: जेन-जीसँग पनि छलफल गर्ने बताइएको छ। 

खनालका अनुसार तेस्रो चरणमा कार्कीले जेन-जीसँग पनि छलफल गर्ने छिन्। ‘अहिले पनि जेन-जीसँग हामी संवादमै छौँ । दलहरूसँग बसिसकेपछि पुन: एकपटक उहाँहरूसँग पनि बस्नेछौँ’, खनालले अगाडि भने, ‘सरकार कुनै हालतमा निर्वाचनमा गएर जनप्रतिनिधिलाई हस्तान्तरण गर्न तयार छ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १२ : १८ बजे

सरकारले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने

काठमाडौं– सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु

विवादले स्वास्थ्यमन्त्री बन्न नपाएकी संगीता मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक

‘जेरी अन टप’को व्यापार : शुक्रबार ७२ लाख, शनिबार ८६ लाख

काठमाडौं – चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट अनुसार नायक

सर्लाहीको रवि चोकबाट शंकास्पद विलविजकसहित दुई वटा ट्रक नियन्त्रणमा

सर्लाही- जिल्लाको बरहथवा नगरपालिका–९ रवि चोकबाट कार्तिक १ गते सशस्त्र

यो सरकारले जेन-जीको राजनीतिक उद्देश्य पूरा गर्न सक्दैन, खारेज गर्नुपर्छ : विप्लव

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जेन-जी