गहुँ छर्ने समयमा किसानलाई मल अभाव « Khabarhub

गहुँ छर्ने समयमा किसानलाई मल अभाव


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका– ३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने खबर सुन्नासाथ हतार–हतार पुग्ने गर्छिन् । जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशमा उनले अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसिसकेकी छिन् ।

बिहान ४ बजेदेखि सयौँ कृषकसँगै लाइन बस्ने उनको पालो भने अझै आएको छैन । ‘जति पटक आए पनि मल पाउनै गाह्रो भयो, लाइन बस्दा बस्दै फर्कनुपर्छ’, उनले दुखेसो पोखिन् ।

उनीसँगै घोडाघोडी– ३ की सीता चौधरी पनि मलका लागि पटकपटक लाइन बसेर थाकिसकेकी छिन् । धेरै पटकको प्रयासपछि उनले बल्लतल्ल एक बोरा युरिया मल हात पारिन् । एक बिघाभन्दा बढी जमिनमा गहुँ लगाउने योजना बनाएकी सीता भन्छिन्, ‘तीन बोरा डीएपी र दुई बोरा युरिया चाहिन्छ, तर सहकारीले एक बोरा युरिया मात्रै दिएको छ, एक बिघामा त छरिसकेँ, अझै आठ कट्ठा खेतमा गहुँ छर्न बाँकी छ ।’

घोडाघोडी नगरपालिका– १ स्थित चुरे कृषक सहकारी संस्थामा मल आउने बित्तिकै किसानहरूको भीड लाग्ने गर्छ । सहकारीले तोकेको परिमाणभन्दा बढी मल नपाइने, बिहान सबेरैदेखि लाइन बस्नुपर्ने, कहिले मालसामान नआएको भन्दै फर्काइने जस्ता समस्या कृषकले भोगिरहेका छन् । कतिपय किसान त मल नपाएरै गहुँ छर्न बाध्य भएका छन् ।

घोडाघोडी नगरपालिका– ३ का ज्ञानु चौधरीले मलबिना नै गहुँ छरिसकेकी छिन् । ‘समयमै गहुँ छर्नुपर्‍याे, मलको आश गर्दै बस्दा ढिला हुने भयो’, उनले भनिन् ।

ज्ञानुले जस्तै घोडाघोडी– ८ का डम्बर विष्टले मलबिना नै गहुँ छरेका छन् । जसोतसो सहकारीमा लाइन लागेर आज बल्ल पाएको उनले सुनाए । अहिले धेरै किसान मलको आशामा बसिरहेका छन् । गहुँ छर्ने मुख्य समय बित्दै जाँदा किसानको चिन्ता झन् बढ्दो छ । समयमै मल नपाउँदा उब्जनीमा असर पर्छ भन्ने चिन्तामा किसान छन् । युरिया मलको अभाव रहेपनि डिएपी मल धेरै जसो किसानले पाइसकेका छन् ।

समयमै गहुँ नछर्दा उत्पादन घट्ने सम्भावना हुने घोडाघोडी नगरपालिका कृषि शाखा प्रमुख जनक धामी बताउँछन् । उनका अनुसार प्राविधिक हिसाबले तोकिएको समयमा बीउ नछरिँदा गहुँको बालामा दाना कम लाग्ने, बिरुवा राम्रोसँग नबढ्ने र कूल उत्पादनमा गिरावट आउने सम्भावना रहन्छ ।

कैलालीमा गहुँ छर्ने समय एक साता बाँकी छ । धेरै किसानले गहुँ रोप्नुअघि नै युरिया मल हाल्नुपर्छ भन्ने गलत धारणा राख्ने गरेको धामीको बुझाइ छ । युरियामा पाइने नाइट्रोजन डिएपीमा १८ प्रतिशत हुन्छ । त्यसैले सुरुमा डिएपी मल भए पुग्ने उनले बताए ।

धामीका अनुसार गहुँ रोप्ने सुरुवातमा पोटास मल प्रयोग गर्नु राम्रो हुन्छ । पोटासले गहुँको जरा बलियो बनाउने, बिरुवा स्वस्थ राख्ने र बीउको अङ्करण राम्रो बनाउन सहयोग गर्छ । तर किसानहरू प्रायः सुरुवातमै युरिया खोज्छन्, जसको अभावका कारण गहुँ छर्न ढिलाइ गर्छन् ।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका धेरै स्थानीय कृषि निर्भर छन् । सरकारले कृषिमा क्रान्ति ल्याउने अवधारण सार्वजनिक गरिरहँदा सुदूरपश्चिम प्रदेशका किसानलाई भने अझै पनि रासायनिक मल पाउनै सकस छ ।

यस वर्ष मात्रै होइन हरेक वर्ष यहाँका किसानहरूले समयमै पर्याप्त मल पाउन सक्दैनन् । डिएपी मल पाए पनि युरिया मल पाउँदैनन् । जसका कारण किसानहरू ढिलो गहुँ छर्ने गर्छन् ।

सुदूरपश्चिममा साल्ट ट्रडिङ कर्पोरेसनले ३० प्रतिशत र कृषि सामग्री केन्द्र लिमिटेड धनगढीले ७० प्रतिशत मल वितरण गर्दै आएका छन् । तर, दुवै निकायबाट किसानले पर्याप्त मल पाउन सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा केन्द्रबाट आएको मलमध्ये कैलालीमा ५४, कञ्चनपुरमा ३४ प्रतिशत र बाँकी अन्य जिल्लाका वितरण गर्ने गरेको साल्ट टे«डिङ कर्पोरेसन धनगढीका कार्यालय प्रमुख तेजबहादुर कुँवरले बताए । (रासस)

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : ५० बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा