काठमाडौं- २०७८ साल मंसिर १० गते चितवनमा भएको दशौँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत चयन भएका ईश्वर पोखरेल अहिले अध्यक्ष केपी शर्मा ओलीका लागि चुनौतीका रुपमा खडा भएका छन्। गत साउन ५ र ६ गतेको केन्द्रीय कमिटी बैठकले आगामी महाधिवेशनबाट लागु हुने गरी हाल उनी बहाल रहेको वरिष्ठ उपाध्यक्ष पद नराख्ने निर्णय भइसकेको छ । जसलाई ललितपुरको गोदावरीमा भदौ २०-२२ गते भएको दोस्रो विधान महाधिवेशनले पारित गरिसकेको छ। यो अवस्थामा पोखरेलले मंसिर २७ देखि काठमाडौंमा हुने भनिएको एमालेको ११ औँ महाधिवेशनमा ओलीलाई टक्कर दिने तयारी गरेका छन् । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले एकै झट्कामा दुईतिहाइको शक्तिशाली सत्ता गुमाएका ओली एमालेको नेतृत्व छाड्न तयार छैनन् ।
हाल भक्तपुरको गुन्डुलाई मुकाम बनाएका ओलीलाई नेताहरूले नेतृत्व छाड्न ठूलै दबाब दिए। तर उनी नेतृत्व छाड्नुको साटो आफूमाथि प्रश्न उठाउनेहरूलाई प्रहार गर्न लागिरहेका छन् । उनले आफूमाथि प्रश्न गर्ने उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईसहितलाई महाधिवेशनमा देखाइदिने आशयको जवाफ दिइरहेका छन् ।
जेन-जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिप्रति आफ्नो गल्ती स्वीकार्न समेत तयार नभएका ओलीलाई एमाले नेताहरूले ११ औँ महाधिवेशनबाट बिदा गर्ने रणनीति बनाएका छन् । त्यस रणनीतिको नेतृत्व यस पटक वरिष्ठ उपाध्यक्ष पोखरेलले गर्दैछन् । उनले केही समययता आफूसँग भेट्न आउनेहरूलाई खुलेरै ११ औँ महाधिवेशनमा उठ्ने बताइरहेका छन् । अब यहाँभन्दा बढी भित्तामा पुग्ने ठाउँ नरहेको जवाफ दिँदै पोखरेलले यस पटक कुनै हालतमा खुट्टा नकमाई मैदानमा उत्रिएर ओलीसँग भिड्ने घोषणा गरेका छन् ।
पोखरेलले यस पटक कुनै हालतमा खुट्टा नकमाई मैदानमा उत्रिएर ओलीसँग भिड्ने घोषणा गरेका छन् ।
पोखरेलले खबरहबसँगको लामो कुराकानीका क्रममा प्यानल नै खडा गरेर अध्यक्ष ओलीसँग प्रतिस्पर्धामा उत्रिने बताएका छन्। आफूसँग भिड्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवीकरण गरिसकेको सदस्यता पनि रोकेका ओलीका लागि वरिष्ठ उपाध्यक्ष पोखरेलको चुनौती भारी पर्न सक्छ । पोखरेल पनि यसबारे आन्तरिक रुपमा छलफल भइरहेको बताउँछन्।
पोखरेल खडा भएमा पूर्वराष्ट्रपति भण्डारीसहितका नेताहरू उनको पक्षमा खडा हुनेछन् । जेन-जी आन्दोलनपछिको राजनीतिक उथलपुथलका कारण ओलीको राजनीतिक उचाइ र क्रेज धेरै ओरालो लागेको छ। यदि ११ औँ महाधिवेशनका लागि पोखरेलले नवौँ महाधिवेशनमा माधवकुमार नेपालले जस्तै बलियो प्यानल खडा गरेमा ओलीका लागि कठिन हुन सक्नेछ । तर पूर्वराष्ट्रपतिलाई स्वागत गर्न तयार एमालेको पंक्तिले पोखरेल नेतृत्वको प्यानललाई कतिसम्म स्वीकार्छ ? त्यो हेर्न भने महाधिवेशनको मञ्च नै कुर्नुपर्ने हुन्छ ।
अध्यक्षका लागि मैदानमा उत्रिने नै हो त ? भन्ने प्रश्नमा पोखरेल भन्छन्, ‘तयार भएको नभएको भन्दा पनि देश र जनताले परिवर्तन खोजेका छन्। कमसेकम एउटा सन्देश त दिन सक्छौँ हामीले । मिहीन ढङ्गले छलफल गरिरहेका छौँ ।’ पोखरेल अझै पनि पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पार्टीको एजेन्डामै रहेको बताउँछन् । जंघार तर्ने आँट गरिसकेकाले अध्यक्ष ओलीले के भन्छन् ? एक्ल्याउँछन् या भित्तैमा पुर्याउँछन् भन्ने कुराको आफूलाई प्रवाह नभएको पोखरेल बताउँछन् । जतिसुकै एक्लिनु परे पनि आफू तयार भइसकेको उनले बताएका छन् । त्यत्रो जेन-जीको उथलपुथलपछि पनि एमालेको मति नसुध्रिएको गुनासोबारे उनी भन्छन्, ‘मति नै नसुध्रिएको भए सुधार्नुपर्छ। जनता र सुभेच्छुकले भनेजस्तै जहाँ जहाँ कमजोरी छ, त्यसलाई सच्याएर जानुपर्छ । म पनि सँच्चिन्छु, अरू पनि सँच्चियून ।’

अध्यक्षमा उठ्ने सन्दर्भमा उनले ईश्वर पोखरेलले दह्रो खुट्टा टेक्छ कि लुलो भन्ने कुरा महाधिवेशनमै हेर्न आग्रह गरेका छन् । यति मात्रै होइन, जेन-जी पुस्ताको आवाजलाई पार्टीले निर्मम रूपमा सम्बोधन गरेर समाधान खोज्नुपर्ने बताउँछन् । जेन-जीका मागप्रति पोखरेल नकारात्मक छैनन् । तर जेन-जीले पनि अहिलेसम्मका उपलब्धिको रक्षा गर्नुपर्ने कुरा उनले सुझाएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेल अहिले नियमितजसो पार्टी बैठकमा व्यस्त छन्। नेताहरूले आफूलाई साथ दिने नदिने अवस्थाको पनि उनी मूल्याङ्कन गरिरहेका छन् । मङ्गलबार पनि उनी पार्टी बैठकमै थिए। त्यही बैठकबाट समय निकालेर उनी खबरहबसँग कुरा गर्न तयार भए । एघारौँ महाधिवेशनमा एमालेले के सन्देश देला ? पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ? साँच्चिकै पोखरेलले ओलीविरुद्ध उम्मेदवारी देलान् ? उनी टिम बनाएरै जान्छन् कि एक्लै भिड्छन् ? पुष्पकमल दाहाल प्रचण्डले सबैजसो वाम दललाई एक ठाउँमा भेला पारिरहँदा एमालेले फागुन २१ को निर्वाचन कसरी फेस गर्छ ? यीसहितका प्रश्न खबरहबले पोखरेललाई सोधेको छ।
नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिएको छ । तयारी कस्तो भइरहेको छ ?
हामी विभिन्न तयारीमा जुटिसकेका छौँ । देशभरबाट सहभागी हुने नेता-कार्यकर्ता र महाधिवेशन प्रतिनिधि व्यवस्थापनका विकल्पबारे गम्भीर ढङ्गले काम गरिरहेका छौँ । ऊर्जावान भएर महाधिवेशन बनाउन कोशिश भइरहेको छ ।
यो महाधिवेशनलाई विशेष चासोसाथ हेरिएको छ, कसरी प्रस्तुत हुन्छ एमाले ?
महाधिवेशन भन्नेबित्तिकै नीति र विधानबारे, सङ्गठनको संरचनाबारे छलफल गर्ने ठाउँ हो । हामीले दुईवटा महाधिवेशन गरिरहेका छौँ । हामीले भदौ २० देखि २२ सम्म भएको विधान महाधिवेशनमा विधि र नीतिसम्बन्धी छलफल गरेका थियौँ । त्यसपछि भदौ २३ र २४ को घटनाले कतिपय अवस्था परिवर्तन भएको छ । राजनीतिक समीकरण नै हेरफेर भएको छ । परिस्थिति आमूल फेरबदल भएको छ । यो अवस्थाबारे छलफल गर्ने पार्टीको सर्वोच्च थलो महाधिवेशनको मञ्च हो । महाधिवेशनमा व्यापक छलफल गर्छौँ । हामीले नीति र विधिमा के-के हेरफेर गर्नु पर्छ, नेतृत्वको ढाँचाबारे पनि छलफल गर्छौं । नेताहरू पनि यही तयारीमा लाग्नु भएको होला । देशको बदिलएको राजनीतिक अवस्था अनुरुप पार्टी अगाडि बढ्ने निचोड महाधिवेशनले निकाल्छ ।
तर मुख्य चासो केपी शर्मा ओली नै तेस्रो पटक नेतृत्वमा आउनुहुन्छ कि नयाँ अनुहार देखिन्छन् भन्ने छ नि ?
यसको निर्णय गर्ने महाधिवेशन नै सर्वोच्च थालो हो । देशभरका पार्टी सदस्यहरूले पनि परिस्थिति बुझ्नुभएको होला । पार्टी सदस्यले निर्वाचित गरेका प्रतिनिधिहरूको उपस्थितिमा छलफल गर्नुहुन्छ । उहाँहरूले पक्कै पनि परिवर्तनको पक्षमा निर्णय गर्नुहुन्छ । यो स्वतः स्थापित कुरा हो ।
यहाँ यस पटक नेतृत्व लिन तयार हो ? ओलीसँग प्रतिस्पर्धा गर्ने हो ?
योग्यता पुगेका हरेक व्यक्ति तयार हुन्छन् । म मात्रै होइन, अरू पदाधिकारीमा प्रतिस्पर्धा गर्न लागेका नेता पनि तयार हुनुहुन्छ होला । अनौठो भएन । नीति र विधिमा टेकेर जानुपर्छ । चुनौती दिने कुरा एक ठाउँमा छ । मैले त प्रतिस्पर्धाको कुरा गरेको हो । प्रतिस्पर्धा त प्रत्येक अधिवेशन र महाधिवेशनमा भइरहन्छ नि । दलमा प्रतिस्पर्धा स्वाभाविक कुरा हो । प्यानल पनि बन्ला, यो नौलो भएन ।

उसो भए तपाईंको टिम तयार भइरहेको छ ?
महाधिवेशन आउँदै छ । साथीहरू सल्लाहमा हुनु हुन्छ । के गर्ने, कसो गर्ने ? कुन बाटोबाट जाँदा पार्टी बलियो हुन्छ ? जनता र कार्यकर्ताले के चाहेका छन् ? ग्राउन्डले के भन्छ ? यो सबै कुराबारे छलफल र संवाद भइरहेको छ । हामी सबै मिलेर समाधान खोज्ने पक्षमा छौँ । सधैँ समस्यामा अल्झिरहन सकिँदैन ।
यहाँलाई सुरूमा हल्ला गरेर अन्तिममा जिम्मेवारीबाट पन्छिने, आफ्नै घोषणा पनि बिर्सिने नेता भनिन्छ नि !
यसभन्दा अगाडि चितवनको महाधिवेशनमा यहाँले भनेजस्तो हल्ला थिएन । किनभने विशेष अवस्था थियो । त्यो अवस्थामा हाम्रो अध्यक्ष केपी शर्मा ओली हुने स्वतः कुरा थियो । पछि भीम रावल उठ्नुभयो तर परिस्थिति फरक भएकाले उहाँ पराजित हुनुभयो । म कहिल्यै अगाडि सरिनँ । मैले सोचेँ, एक पटक अध्यक्ष नै दोहोरिँदा पार्टी बन्छ भने म चुप बस्छु । त्यसबेला कसैले हल्ला गरेको थिएन ।
अर्को कुरा पूर्वराष्ट्रपतिको सदस्यता रोकिएको छ । एमालेमा धेरै नेता उहाँको पक्षमा देखिँदा पनि नवीकरण भएन, यहाँहरू अध्यक्ष ओलीविरुद्ध बोल्न सक्नुहुन्न हो ?
नसकेको होइन । हामी छलफल गर्छौं । जुनसुकै कठिनाइ र जटिलताबारे छलफल गर्छौं, समाधान निकाल्छौँ । यो विषयमा पनि समाधान निस्किन्छ र पार्टी अगाडि बढ्छ ।
उहाँको सदस्यताको च्याप्टर क्लोज भएको छैन उसो भए ?
छैन, एउटा बैठकले रोकेको छ । तर त्यो विषय नेकपा एमालेको एजेन्डा हो । त्यसबारे निरन्तर छलफल हुन्छ ।
यस अगाडिको सचिवालय बैठकमा अध्यक्ष ओलीले एक पटक कुरा गर्छु भन्नुभएको रहेछ, कुरा गर्नुभयो उहाँले ?
मलाई थाहा भएन । कुरा भएन होला ।
किन रोक्या होला अध्यक्षले, कारण के रहेछ ?
त्यो उहाँलाई थाहा होला । तर रोकिनु गलत छ । हामीले पटक-पटक भनेकै हो । किन रोके, त्यो तपाईंहरूले थाहा पाउनुभएकै छ त ।
अहिले के भन्दैहुनुहुन्छ पूर्वराष्ट्रपतिले ? यहाँ त निरन्तर संवादमा हुनुहुन्छ रे ?
निरन्तर भन्दा पनि कहिलेकाहीँ भेट हुन्छ । उहाँले भेटमा सन्चो बिसन्चोबारे कुरा गर्नुहुन्छ । पार्टी राजनीतिबारे पनि कुरा हुन्छ । उहाँले पार्टी कसरी बढ्नुपर्छ ? कस्तो बन्नुपर्छ भनेर गहन चिन्तन सुनाउनुहुन्छ । उहाँ पार्टीलाई असाध्यै माया र स्नेह गर्नुहुन्छ ।
उहाँ एमाले राजनीतिमा फर्किने योजनाबाट पछि हट्नुभएको छैन ?
उहाँकै पार्टी हो एमाले । उहाँ केटाकेटीदेखि नै यो पार्टीमा लाग्नुभएको हो । पार्टीमा आउने चहाना हुनु स्वाभाविक हो । उहाँ आउनुपर्छ । एमालेलाई चाहिने मान्छे हो ।
उहाँलाई फर्काउन सक्नुभएन भने एमालेलाई गाह्रो होला नि ?
त्यो हामी सल्लाह गर्छौं । गाह्रो नहुने ढङ्गले छलफल गरेर निकास निकाल्छौँ ।
उसो भए उहाँ एमालेमा फर्कने सम्भावना जीवित छ ?
कसरी हुँदैन । यो राजनीतिक विषय हो । बैठकमा उठिहाल्छ नि । उहाँ एमाले छाडेर भागेको मान्छे होइन । आफ्नो घरमा आउन खोज्नुभएको हो । आउनुपर्छ । ल्याउनुपर्छ ।
सदस्यता नवीकरण नभए यहाँलाई अध्यक्षमा उठाउने चर्चा रहेछ । तर यहाँले दह्रो खुट्टा टेक्नु हुन्न कि भन्ने आशंका पनि गर्ने रहेछन्, यहाँ तयार हो यस पटक ?
छलफल त सबै कोणबाट हुन्छ नि । तर उहाँको सदस्यता रोक्नुपर्ने कारण के छ ? मैले खुट्टा दह्रो टेक्छ कि लुलो भनेर महाधिवेशनमा हेरे भइहाल्यो नि । मैले हल्ला गरेर हिँडेको छैन । सल्लाह गरेर हिँडेको छु । साथीहरूले सल्लाह दिनुभएको छ । हामी सल्लाह गरिरहेका छौँ । चर्चा त भइहाल्छ नि । हेर्नु न महाधिवेशनमा । केही समय कुर्नु ।
कम्युनिस्ट पार्टी त लोकतान्त्रिक विधिबाट चल्छ । कहाँ सर्वसम्मत हुन्छ ? एमालेलाई नबुझेकाले मात्रै सर्वसम्मत हुन्छ भनेका होलान् । एमाले लोकतन्त्र प्रणालीमा विश्वास गर्छ । लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउँछ ।
फेरि दोहोर्याएँ, यहाँ साँच्चिकै अध्यक्षमा उम्मेदवारी दिन तयार हो ?
सबैसँग छलफल भइरहेको छ । तयार भन्दा पनि देश र जनताले परिवर्तन खोजेका छन् । कमसेकम एउटा सन्देश त दिन सक्छौँ भन्ने दिशामै छौँ । मिहीन ढङ्गले सल्लाह गरेर सामूहिक रूपमा जान्छौँ । किन तयार नहुनु र ?
महाधिवेशनमा अध्यक्षबाहेक अरू पदमा पनि निर्वाचन हुन्छ ?
कम्युनिस्ट पार्टी त लोकतान्त्रिक विधिबाट चल्छ । कहाँ सर्वसम्मत हुन्छ ? एमालेलाई नबुझेकाले मात्रै सर्वसम्मत हुन्छ भनेका होलान् । एमाले लोकतन्त्र प्रणालीमा विश्वास गर्छ । लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउँछ ।
तर, महाधिवेशन ओलीले सर्वसम्मत हुन्छ, मैले नाम पढेपछि सकिन्छ भनिरहनु भएको छ नि ?
महाधिवेशनमा छलफल नै नगरे त्यो कसरी महाधिवेशन हुन्छ ? यस्तो त महाधिवेशन हुँदैन होला । महाधिवेशनमा विचार, विधान, नेतृत्वको विषयमा छलफल हुने ठाउँ नै त्यही हो । भएन भने किन उहाँले महाधिवेशन गर्ने ? यो त अचम्म भएन र ?
सबै कम्युनिस्ट शक्ति एकजुट भइरहँदा एमाले एक्लिँदै गएको छ, घेराबन्दीमा देखिन्छ । यसलाई कसरी हेर्नु भएको छ ?
यसमा एमाले जिम्मेवार भएर भूमिका खेल्न चाहन्छ । कम्युनिस्ट एकता भनेर नामको कम्युनिस्ट होइन, कामको कम्युनिस्ट मिल्नुपर्छ । तर यहाँ नाम मात्रैको कम्युनिस्ट पनि एक भएको देखिन्छ । यो ठिक छैन । कामका कम्युनिस्टसँग पार्टी र व्यक्तिगत एकता चाहिन्छ ।
घेराबन्दीबीच पनि अध्यक्ष ओलीले आफूअनुकूल नेता मात्रै छानिछानी एमालेमा फर्काउँदै हुनुहुन्छ नि ?
होइन । हाम्रो अध्यक्षज्यू पनि कामको एकताको पक्षमा हुनुहुन्छ । नामको एकताको पक्षमा होइन । काम लाग्ने नेता त फर्काउनुपर्छ नि । ल्याएर पनि केही काम नदिने नेता के गर्नु र पार्टीमा ।
एमालेलाई अलिक सङ्कट छ निर्वाचन फेस गर्न । भदौ २३ र २४ को जेन-जी आन्दोलनमा ओली प्रधानमन्त्री हुनुन्थ्यो, उहाँले उक्त घटनाबारे आत्मालोचना गर्नुभएन, बरु अरू अरुलाई दोष दिनुभयो, यसरी एमाले कहाँ पुग्ला ?
यो विषय महाधिवेशनमा उठ्छ । समाधान नै महाधिवेशन हो । आन्दोलनमा यो प्रश्न उठेको थियो । अब कसरी जाने ? के गर्ने नेतृत्वले छलफल हुन्छ । परिस्थिति बदलिएपछि मनस्थिति पनि बदल्नुपर्छ । सबैले उक्त प्रकरणमा आत्मालोचना गर्नुपर्छ । मेरा पनि कमजोरी भए र अरूका पनि कमजोरी भए आफूलाई सच्चाउनुपर्छ । विधान महाधिवेशनपछि जेन-जी आन्दोलन भयो । अब एमालेको विधान पनि हेरफेर गर्नुपर्छ । अनि मात्रै जनता उत्साहित हुन्छन् ।
एमालेलाई अब जेन-जी पुस्ताको मन जित्न कठिन होला कि ?
सुशासनको सन्दर्भमा, जनतालाई डेलिभरी दिने सन्दर्भमा भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा, जनताका चाहाना पूरा गर्ने सन्दर्भमा र जेन-जी पुस्ताले उठाएका कुरा पूरा गर्ने सन्दर्भमा ख्याल गरेर अगाडि बढ्छौँ । उहाँहरूको माग हाम्रो पनि माग हो । हामीलाई जनतामा जान कठिन छैन ।
तर जेन-जीले भनेजस्तै पुराना नेता बिदा हुने कुरा, उमेरको हदबन्दी र भ्रष्टाचारका फाइल खोल्ने माग पूरा गर्छ एमालेले महाधिवेशनपछि ?
उहाँहरूले उठाएको राजनीतिक दलसम्बन्धी आवाजको हामी सम्बोधन गर्छौं । राज्य संयन्त्रबाट सम्बोधन हुने कुरामा हामी दबाबमूलक भूमिका खेल्छौँ । अन्य पार्टीका साथीहरूले पनि सुधार गर्नुहुन्छ । म पनि सुधार गर्न तयार छु, हामी सबैतिरबाट सुधारको पहल गर्छौँ ।
जेन-जीको माग सम्बोधन हुन्छ ?
एमाले भनेको यस्तो पार्टी हो जसले जनताका मागहरू सम्बोधन गर्छ । जसरी पनि गर्नुपर्छ ।अहिले त वाम मिलेर एमालेलाई निर्वाचनमा एक्ल्याउन खोजेको जस्तो छ नि ।
एमाले आफ्नो विचार, योजना, कार्यक्रमका आधारमा अगाडि बढ्छ । हिजो पनि त्यहीअनुसार अगाडि बढेको हो । अहिले पनि त्यही अनुसार बढ्छ । कसैले एक्ल्याउन सक्दैन । नयाँ विचार र नेतृत्व लिएर निर्वाचन फेस गर्छ ।
एमाले आफ्नो विचार, योजना, कार्यक्रमका आधारमा अगाडि बढ्छ । हिजो पनि त्यहीअनुसार अगाडि बढेको हो । अहिले पनि त्यही अनुसार बढ्छ । कसैले एक्ल्याउन सक्दैन । नयाँ विचार र नेतृत्व लिएर निर्वाचन फेस गर्छ एमालेले ।
११ औँ महाधिवेशनबारे प्रतिनिधि, सुभेच्छुक र जेन-जी पुस्तालाई के भन्नुहुन्छ ?
जेन-जी पुस्ताबाट जुन विषय उठेका थिए, ती राज्यको तर्फबाट राजनीतिक दलको तर्फबाट सम्बोधनका लागि सकारात्मक ढङ्गले हेरिनुपर्छ । सुशासन र डेलिभरी, भ्रष्टाचार नियन्त्रको कुरामा गम्भीर हुनुपर्छ । सामाजिक सञ्जालको प्रतिबन्ध हट्नुपर्छ भन्नु जायज थियो । यी सबै कुरा विधिसंगत ढङ्गले हल गर्नुपर्छ । अर्को कुरा हामीले आफ्नो राष्ट्रियता स्वाभीमान, स्वाधीनता, स्वतन्त्रता जस्ता विषयहरू संवेदनशील ढङ्गले छलफल हुनुपर्छ ।
त्यसमा कुनै पनि ढङ्गले सम्झौता गर्न सक्दैनौँ । हामी सबै लोकतन्त्रको पक्षमा लाग्नुपर्छ । नयाँपुस्ताले पनि हाम्रा अनुभव र इतिहास बुझ्नुपर्छ । ऊर्जा र जोश देखाएर मात्रै हुँदैन । र, एमाले महाधिवेशन प्रतिनिधिले पनि वर्तमान अवस्था सुहाउँदो नेता र नेतृत्व छान्नुपर्छ । यो या त्यो भन्दा पार्टी र जनतामा ऊर्जा भर्ने विवादरहित नेतृत्व छान्न आग्रह गर्छु ।
यहाँहरू आगामी निर्वाचनमा नयाँ नेतृत्व लिएर जनतामाझ परीक्षण गर्न तयार हो ?
हो, जे जे गर्नुपर्ने हो गरिन्छ । एमालेका प्रतिनिधिले यो काम गर्नुहुन्छ । महाधिवेशनबाट समयअनुकूल नेता छान्नुहुन्छ । छान्ने अधिकार पार्टीले दिनुपर्छ ।
निर्वाचनमा जान नेता फेरिएर मात्रै नहुने होला, आत्मालोचना पनि त गर्नुपर्यो । जेन-जीले अरू दलको मति सुध्रियो तर एमालेको सुध्रिएन भनिरहेका छन् ।
मति नै नसुध्रिएको भए त सुधार गर्नुपर्छ । तर क-कसले सुधार्नुपर्ने हो, त्यो पनि हेर्नुपर्छ । हाम्रो मति बिग्रिएको छैन जस्तो लाग्छ । तर पनि जनता र शुभेच्छुकले भनेजस्तै जहाँ-जहाँ कमजोरी छन्, त्यसलाई सच्चाएर जानुपर्छ । सुधार्नुपर्छ । यो विषयमा पार्टीमा आवाज उठाइरहेको छु ।
नेतृत्वविरुद्ध आवाज उठाइरहँदा अध्यक्षमा उठ्ने भनेपछि तपाईंलाई एक्ल्याउने खतरा पनि होला नि भीम रावल जस्तै ?
सही कुरा गर्दा कसले एक्ल्याउने ? सही कुरा गर्दा एक्लिने कुरा भएन । सही कुरा गर्दा एक्लिनुपर्छ भने म तयार छु । तर सत्य कुरा यही हो । मति सुधार्नुपर्नेले सुधारौँ । म पनि मेरो गल्ती भए सुध्रिन तयार छु । मुख्य कुरा भनेको पार्टी र सिद्धान्त बाँच्नुपर्छ । जनताले दुःख पाउनु हुँदैन । म सत्य कुरामा पछि हट्दिनँ ।













प्रतिक्रिया