तारकेश्वरका मेयरलाई वडाध्यक्षको प्रश्न- फोहरको सात करोड कहाँ गयो ? | Khabarhub Khabarhub

तारकेश्वरका मेयरलाई वडाध्यक्षको प्रश्न- फोहरको सात करोड कहाँ गयो ?

फेसबुकमा लेखेपछि मेयरले सोधे स्पष्टीकरण


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकामा फोहरमैला व्यवस्थापनलाई लिएर विषयमा नगर प्रमुख कृष्णहरि महर्जन र ५ नम्बर वडाका अध्यक्ष शम्भुप्रसाद फुयालबीच विवाद भएको छ । फोहरलाई लिएर दुई जनप्रतिनिधि भनाभनमा उत्रिएका छन् ।

वडाध्यक्ष फुयालले तारकेश्वरबासीले फोहरमैलाको नाममा बुझाउने ७ करोड रुपैयाँबारे चासो राख्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि नगर प्रमुख महर्जनसँग विवाद भएको हो ।

फुयालले गत पुस २९ गते फेसबुकमा, ‘तारकेश्वर नगरपालिकामा वार्षिक रुपमा जनताले फोहरमैलाको नाममा ७ करोड बुझाउँछन् । कसलाई बुझाउँछन्, थाहा छैन । हिजोको मेयर पनि चुप, आजको पनि चुप’ भनेर लेखेका थिए ।

वडाध्यक्ष फुयालले नगरपालिकाको बेथिति फेसबुकमा लेखेपछि आक्रोशित नगर प्रमुख महर्जनले उनलाई स्पष्टीकरण सोधेका छन् । नगर प्रमुख महर्जनले वडाध्यक्ष फुयाललाई स्टाटस लेखेको तेस्रो दिन तीन दिने म्याद तोकेर लिखित स्पष्टीकरण सोधेका हुन् ।

फेसबुकमा गरिएको पोष्टले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै महर्जनले वडाध्यक्षलाई माघ २ मा सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘फेसबुक आइडी तपाईंको भए-नभएको साथै आइडी तपाईंको भए फेसबुकबाट पोस्ट् गरिएको उल्लिखित विषय स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११२ (२) बमोजिम सार्वजनिक शिष्टाचार उल्लंघन गरेको देखिँदा पोस्टसँग सम्बन्धित सत्य-तथ्यसहितको यथार्थ विवरण ३ दिनभित्र यस कार्यालयमा पेश गर्नुहुन अनुरोध छ ।’

वडाध्यक्ष फुयालले नगर प्रमुख महर्जनलाई सोमबार (माघ ७) स्पष्टीकरण पत्रको लिखित जवाफ दिएका छन् । उनले आफू वडा नम्बर ५ का जनताद्वारा चुनिएको जनप्रतिनिधि रहेको स्मरण गराउँदै प्रचलित कानुन तथा स्थानीय शासन सञ्चालन ऐन र जनप्रतिधिको काम, कर्तव्य र अधिकारप्रति सचेत जनउत्तरदायी व्यक्ति भएको उल्लेख गरेका छन् ।

फुयालले ५ नम्बर वडा क्षेत्र र नगर कार्यसमिति सदस्यको हैसियतले वडा र समग्र नगरपालिका क्षेत्रभित्रको थिति बेथितिबारे चासो राख्नु र सम्बोधनका लागि नगर कार्यसमितिबाट समाधान नभए आमनागरिकमा यथार्थ अवस्थाको जानकारी गराउनु जनप्रतिनिधिको दायित्व र कर्तव्य भएको पनि पत्रमा लेखेका छन् ।

‘हाम्रो नगरभित्र कुन माध्यमबाट फोहर उठेको छ, वैधानिक प्रक्रियाबारे नगपालिकामा पटक-पटक बुझ्दा त्यसबारे केही प्रश्न रहेकै छ,’ वडाध्यक्ष फ्यालले भनेका छन् ।

तारकेश्वर नगरपालिकाभित्र वर्षौँदेखि विभिन्न निजी कम्पनीको नाममा फोहर संकलन हुँदै आएको छ । त्यसबापत प्रतिघर तीन सय रुपैयाँ लिने कम्पनीहरूले हालसम्म नगरपालिकाबाट वैधानिक रुपमा अनुमति नलिएको पनि नगर प्रमुख महर्जनलाई वडाध्यक्षले स्मरण गराएका छन् ।

‘उक्त कम्पनीहरूले हालसम्म नगरपालिकाबाट वैधानिक रुपमा अनुमति नलिएको विषयमा चाँसो राख्नु एक जनप्रतिनिधिको कर्तव्य र दायित्व होइन र ?,’ फुयालले प्रश्न गरेका छन्, ‘आमनागरिकले उठाउने सुशासन र पारदर्शीताको विषयमा बोल्न, लेख्न नगपालिकाको अनुमति लिनुपर्ने भएको हो ?’

तारकेश्वरका ४१ हजार ३६२ घरधुरीबाट प्रतिघर तीन सय रुपैयाँका दरले रकम संकलन गर्दा हरेक महिना एक करोड २४ लाख आठ हजार ६ सय रुपैयाँ संकलन हुने गरेको भन्दै फुयालले हालसम्म उक्त रकमबाट नगरपालिका लाभान्वित हुने गरी कुनै काम नभएको बताएका छन् ।

‘व्यक्तिले मात्र नाफा कमाएको विषयमा मैले पटक-पटक आवाज उठाए पनि मैले उठाएको आवाजको सम्बोधन नभएपछि आमनगरबासीको प्रश्नको उत्तर दिएको हुँ,’ वडाध्यक्षले नगर प्रमुख महर्जनलाई दिएको स्पष्टीकरणमा भनेका छन्, ‘मेरो आवाज नगरबासीको पक्षमा हो भन्ने प्रष्ट पार्दछु ।’

उनले सार्वजनिक खरिद ऐन-२०६२, सार्वजनिक खरिद नियमावली-२०६४ तथा स्थानीय सकार सञ्चालन ऐनले प्रतिस्पर्धा बिना नगरपालिकाले कुनै सामान खरिद गर्न वा ठेक्कापट्टा लगाउन बन्देज लगाएको र ऐनविपरितको कार्य गरेमा भ्रष्टाचार निवारण ऐन-२०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन-२०४८ ले भ्रष्टाचारजन्य कसुर हुने भन्ने कानूनी व्यवस्था रहेकोसमेत स्मरण गराएका छन् ।

फुयालले आफ्नो सार्वजनिक टिप्पणीले कसैलाई आरोप नलगाएको र भ्रम नफैलाएको दाबी गर्दै आफूले फेसबुकमार्फत् सार्वजनिक जवाफदेहिता खोजेको प्रष्टीकरण दिएका छन् ।

‘नगरपालिकामा हुने हरेक कार्य पारदर्शी र नगरपालिकामा सुशासन कायम गराउनु मेरो कर्तव्य भएकाले लोकतान्त्रिक प्रणालीमा म जनप्रतिनिधिको हैसियतले निभाउनु पर्ने कर्तव्य अन्र्तगत रही नगरक्षेत्रको बेथितिको विषयमा उठाएको आवाजलाई सार्वजनिक सरोकारको विषयमा चाँसो राखेको भनी बुझ्न आग्रह गर्दछु,’ वडाध्यक्षले भनेका छन् ।

उनले विकृति-विसंगति अन्त्य गरेर पारदर्शिता र सुशासन कायम गर्नका लागि तत्काल फोहरमैला संकलनका लागि सार्वजनिक खुला प्रतिस्पर्धाको आधारमा नगरपालिकालाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीलाई अनुमति दिइने र फोहर संकलन गर्दा प्रति घरधुरी उठाउने रकमको दर-रेट तोकिनेमा आफू आशावादी रहेको भनेका छन् ।

‘उल्लेखित कार्य यथाशक्य छिटो सुरु गर्नुपर्ने समेत मेरो माग हो । जनप्रतिनिधिले नगरअन्तर्रगत आफ्नो क्षेत्रमा हुने बेथिति, विसंगति, अपारदर्शिता, सार्वजनिक खरिद ऐन तथा स्थानीय सरकार सञ्चालन ऐनविपरित भ्रष्टाचारजन्य कार्यहरूको विषयमा उठेको आवाज स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११२ (२) को कानूनी परिभाषाभित्र नपर्ने स्पष्ट रहेको समेत जानकारी गराउँद छु,’ फुयालले भनेका छन् ।

कांग्रेसकै हुन् दुवै

मेयर महर्जन र वडाध्यक्ष फुयाल दुवैजना २०७९ वैशाखको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

महर्जन पूर्वरक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता भीमसेनदास प्रधाननिकट हुन् । उता फुयाल भने कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति सबुज बानियाँनिकट मानिन्छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ४ : ०१ बजे

ह्वाइट हाउसमा बाइडेनले गरे ट्रम्पलाई स्वागत

काठमाडौं – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुगेका

वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारप्रति

ऐतिहासिक ब्रह्मा मन्दिर पुनःनिर्माणका लागि शिलान्यास

काठमाडौं – पशुपति क्षेत्रमा रहेको काठमाडौं महानगरपालिका–८ स्थित ऐतिहासिक एवं

कनकाई कप–२०८१ : बेलबारी र सिक्किम फाइनलमा

झापा – झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी ‘कनकाई कप–२०८१’ भलिबल

महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागीता

प्रयागराज – महाकुम्भ मेलाको आठौं दिन सोमबार दिउँसो २ बजेसम्म