नेपालले सात महिनामा १४ अर्बको धान र साढे ९ अर्बको मकै बेसायो, कुन कृषि उपज कति आयात ? | Khabarhub Khabarhub

तथ्याङ्कमा कृषि परनिर्भरता

नेपालले सात महिनामा १४ अर्बको धान र साढे ९ अर्बको मकै बेसायो, कुन कृषि उपज कति आयात ?


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘कृषिप्रधान देश’को नारा नछाडेका नेपालीले खेतबारी बाँझो राखेर चालु आर्थिक वर्षको सात महिनामा १४ अर्बको धान र साढे ९ अर्ब रुपैयाँभन्दा बढीको मकै बेसाएका छन् ।

धान र मकै नेपालका प्रमुख खाद्यबाली हुन् । देशमा वृहत् उत्पादन सम्भावना रहेका अधिकांश कृषि उपज पनि ठूलो मात्रामा आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रुपैयाँ बराबरका विभिन्न वस्तु आयात भएकोमा खर्बभन्दा बढीको कृषि उपज आयात भएको हो ।

तथ्याङ्क अनुसार; माघ मसान्तसम्म नेपालमा आयात भएका मुख्य कृषि उपजमध्ये सबैभन्दा धेरै सोयाबिन तेलको कच्चापदार्थ (भटमास) आयात भएको छ । सनफ्लावर (सूर्यमुखी) तेलको कच्चापदार्थ, लसुन, आलु र चामल लगायत धेरै खाद्यपदार्थ पनि ठूलो मात्रामा आयात गरिएको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालमा सोयाबिन तेलको कच्चापदार्थ सबैभन्दा धेरै अर्थात् ३८ अर्ब २९ करोड ७३ लाख ९२ हजार रुपैयाँ बराबरको आयात भएको हो । साथै, सोही अवधिमा तीन अर्ब ६८ करोड ४३ लाख ९० हजार रुपैयाँ बराबरको भिन्दै सोयाबिन पनि आयात भएको छ ।

सात महिना अवधिमा नेपालमा कृषिजन्य वस्तुमध्ये सनफ्लावर तेलको कच्चा पदार्थ दोस्रो धेरै मूल्य बराबर अर्थात् १७ अर्ब १३ करोड ९६ लाख ६८ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

यही अवधिमा ३२ अर्ब बढीको सोयाबिन तेल र साढे ६ अर्ब बढीको सन फ्लावर तेल नेपालबाट निर्यात भएको छ । नेपाली व्यवसायीहरूले यूरोपेली मुलुकबाट सोयाबिन र सनफ्लावरका दाना ल्याएर प्रशोधन गरी भारत लगायत देशमा निर्यात गर्ने गर्छन् ।

क्र.सं.बस्तुमूल्य
१.सोयाबिन तेलको कच्चापदार्थ३८,२९,७३,९२,०००
२.सन फ्लावर तेलको कच्चापदार्थ१७,१३,९६,६८,०००
३.धान१४,५१,९६,२३,०००
४.मकै९,४१,९९,५०,०००
५.लसुन६,२६,५४,३२,०००
६.चामल (बासमती सहित)१०,७७,३४,१०,०००
७.आलु५,४९,४५,५६,०००
८.स्याउ५,००,३०,९३,०००
९.सोयाबिन३,६८,४३,९०,०००
१०.पाम तेलको कच्चापदार्थ३,४१,३०,६२,०००
सात महिनामा आयात गरिएका कृषिजन्य मुख्य १० उत्पादन ।

नेपालबाट निर्यात नभएका र नेपालमा नै उत्पादन हुनसक्ने कृषिजन्य वस्तुहरू पनि ठूलो मात्रामा आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । बीउ बाहेकको धान नै १४ अर्ब ५१ करोड ९६ लाख २३ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

यो अवधिमा धानबाहेक चामल पनि ठूलो मात्रामा आयात भएको छ । सात महिनामा १० अर्ब ७७ करोड ३४ लाख १० हजार रुपैयाँ बराबरको बासमती सहितका चामल आयात गरिएको हो ।

नेपालको पहाडदेखि तराईसम्म प्रशस्त उत्पादन सम्भावना रहेको मकै नै ९ अर्ब ४१ करोड ९९ लाख ५० हजार रुपैयाँ बराबरको आयात भएको छ । मसलाजन्य समूहमा पर्ने लसुन ६ अर्ब २६ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

नेपालको स्याउले राम्रो मूल्य प्राप्त गर्न नसकेको, आवश्यक भण्डार र ढुवानी लगायत समस्या किसानले व्यहोरिरहेको आवाज उठिराख्दा यो अवधिमा नेपालमा ५ अर्ब ३० लाख ९३ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ ।

यद्यपि भन्सार विभागले उल्लेख गरेभन्दा गुणात्मक मात्रामा नेपालमा आयात भएको आकलन हुने गरेको छ । न्यून बिजकीकरण, भन्सार छली र तस्करीका माध्यमबाट यथार्थ आयातभन्दा झण्डै दोब्बर बढी रकम बराबरको सामान नेपालमा भित्रिने गरेको अर्थशास्त्रीहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : १२ बजे

जसपाले अवरोध गरेपछि मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम– जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशसभा बैठकमा अवरोध गरेपछि

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

पाटन– ललितपुरको ठैवमा विद्युत्को पोल सार्ने क्रममा पोलले लागेर एक

कमल थापा बोलिरहँदा राजावादीबीच होहल्ला, नवराज सुवेदीले गरे बैठक स्थगित (तस्बिरहरू)

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि भनेर गठन गरिएको संयुक्त जनआन्दोलन समितिको

आईसीसी विश्वकप लिग-२ : नेदरल्यान्ड्सविरुद्ध सुरुवातमै नेपाललाई सफलता  

काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक  शृखलाअन्तर्गत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले सुरुवातमै सफलता

देउवा भन्छन्- अहिलेको सरकार सबै खालका विभेद अन्त्य गर्न सक्रिय छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारका माध्यमबाट विभेदका