काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने गरी आइतबार प्रदर्शनको तयारी गरेपछि शिक्षकहरुको आन्दोलन प्रभावित भएको छ । आफूले १८ दिनदेखि ‘कब्जा’ गरिरहेको बबरमहलको सडक शिक्षकहरुले १९ औं दिनदेखि राजावादीलाई छाडिदिने भएका छन् ।
गत चैत २० देखि माइतघर–बानेश्वर सडकमा शिक्षकहरुले दिउँसो १२ देखि नियमित प्रदर्शन गर्दै आइरहेका थिए । आइतबार शिक्षकहरुको प्रदर्शनको १९ औं दिन हो । तर, आजदेखि शिक्षकहरु आन्दोलनबाट अलिकति पछि हट्ने भएका छन् र शिक्षकले आन्दोलन गर्दै आएको ठाउँ राजावादीहरुका लागि खाली गरिने भएको छ ।
राप्रपाले प्रदर्शनको तयारी गरेपछि शिक्षकहरु पछि हट्ने निर्णयमा पुगेका हुन् । आइतबारदेखि शिक्षकहरुले बिहान ९ बजे नै माइतीघरमा प्रदर्शन शुरु गरेर १२ बजे सिध्याउने र राप्रपाका लागि सडक खाली गरिदिने भएका हुन् ।
पछिल्लो समय शिक्षक आन्दोलनमा देशैभरिका शिक्षकहरुको सहभागिता बढ्दै गएका बेला नेतृत्व पछि हटेको हो ।

यो पनि
संस्थागत विद्यालयसमेत बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको आग्रह
आन्दोलनको नेतृत्व गरिरहेका नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर घिमिरेले प्रदर्शनको समय तालिका सरेको जानकारी गराउँदै भनेका छन्, ‘साथीहरुको सुझावलाई मध्यनजर गरी आजदेखि आन्दोलनको समय विहान ९ बजेबाट दिउँसो १२ बजे गरिएको छ । साथीहरु आज ठीक ९ बजे माइतीघर मण्डला आइपुग्नु होला ।’
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छलफल गरे पनि आन्दोलन जारी राखेका शिक्षकहरुले माग पूरा नभएसम्म पछि नहट्ने बताएका छन् । आन्दोलन शान्तिपूर्ण हुने बताउँदै घिमिरेले शिक्षकहरुलाई भनेका छन्, ‘यतिका दिनसम्म हाम्रो आन्दोलन शान्त, मर्यादित र सशक्त भएर अघि बढेको छ । त्यसैले शान्ति, संयम, मर्यादा र अनुशासन कायम गरी आन्दोलनको मोर्चामा याथावत् डटिरहनु होला ।’

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर घिमिरे
शिक्षकहरुले सडकमा नाचगान गर्ने क्रममा माया प्रेमका गीतहरु समेत गाएर नाचगान गरेको पाइएपछि त्यसलाई मर्यादित गराउन आग्रह गर्दै अध्यक्ष घिमिरेले सामाजिक सञ्जालमार्फत् घिमिरेले भनेका छन्, ‘आन्दोलनका क्रममा प्रस्तुत भएका गीत, नृत्य, कविता, गजलहरुमा शिक्षक–कर्मचारी आन्दोलन तथा शैक्षिक माग मुद्दा मात्र समेटेर प्रस्तुत गर्न अनुरोध छ ।’
त्यस्तै, गीत कविता आदिमा प्रधानमन्त्री ओलीको नामै किटेर विरोध गर्ने गरिएकोमा अध्यक्ष घिमिरेले त्यसलाई पनि रोक्ने प्रयास गर्दै भनेका छन्, ‘आफ्ना प्रस्तुतीमा कुनै पनि व्यक्ति, राज्यका पदाधिकारीका व्यक्तिगत विषय, राजनीतिक तथा गैरशैक्षिक विषय समावेश नगर्नुहोला । आफ्ना प्रस्तुतीको भाषा र शब्दहरु सभ्य, मर्यादित र शोभनीय राख्नु हुन समेत अनुरोध छ । हाम्रो आन्दोलनमाथि अरुबाट भएका आलोचनाको प्रत्युत्तर शिष्ट र मर्यादित भाषामा दिने गरौं ।’
आन्दोलनको समय १२ बजेबाट बिहान ९ बजे सार्नुका पछाडिको उद्देश्य राजावादीहरुको घुसपैठ नहोस् भन्ने रहेको आन्दोलनमा सहभागी एक शिक्षकले खबरहबलाई बताए । उनले भने,‘ अहिलेसम्म हाम्रो आन्दोलन शान्तिपूर्ण भइरहेको छ, कुनै राजावादी घुसेर ढुंगा हानिदियो भने के गर्ने ? त्यसैले उनीहरुले प्रदर्शन गर्नुभन्दा अगाडि बिहानै माइतीघरमा भेला हुन लागेका हौं ।’
नडराए हुन्छ- राप्रपा

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन
निशेधित क्षेत्र तोड्ने निर्णय लिएको राप्रपाले आइतबार दिउँसो १२ बजेदेखि बबरमहलबाट प्रदर्शनको तयारी गरेको छ । १२ बजे बबरमहलमा भेला भएर नयाँ बानेश्वरतर्फ अघि बढ्ने राप्रपाको तयारी छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठ भन्छन्, ‘आज हामीले शक्ति प्रदर्शन गर्न लागेका हैनौं, प्रतिकात्मक प्रदर्शन मात्रै गर्न लागेका हौं, सरकार नडराए हुन्छ ।’
आइतबारको प्रदर्शनबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सामाजिक सञ्जालमा लेख्छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो–यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ । वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं, भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’
यो पनि-
सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी
प्रतिक्रिया