ओली-देउवाले विश्व पौडेललाई गभर्नर बनाउने टुंगो गरेपछि सिफारिस समितिको बैठक | Khabarhub Khabarhub

ओली-देउवाले विश्व पौडेललाई गभर्नर बनाउने टुंगो गरेपछि सिफारिस समितिको बैठक


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खासमा नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीनजनाको नाम छान्ने जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिको हो ।

तर, करिब डेढ महिनादेखि रिक्त गभर्नर चयनमा नेपाली कांग्रेस र नेकपा एमालेले उल्टो अभ्यास गरिरहेका छन् । चैत २२ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारी बिदा भएयता नयाँ गभर्नर छान्न नसकेर आफ्नो अक्षमता छताछुल्ल पारेका दुई दलले त्यो क्रमलाई मंगलबारसम्म निरन्तरता दिए ।

सोमबार र मंगलबार दुई दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको चरणबद्ध छलफलपछि गभर्नरमा २०७९ सालमा प्रतिनिधिसभाको चुनावमा पराजित विश्व पौडेलको नाम टुंगिएको छ ।

प्रधानमन्त्री ओली देउवाकै अडानअुनसार कांग्रेसको कोटाबाट गभर्नरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेललाई नियुक्त गर्न तयार भएका हुन् ।

मंगलबार बिहान दुई नेताबीचको यो सहमतिपछि बल्ल पौडेल नेतृत्वको सिफारिस समितिको बैठक सिंहदरबारमा बसिरहेको छ ।

अर्थमन्त्रालयमा बसिरहेको यस बैठकले अब नयाँ गभर्नरका रूपमा अघि सारिएका पौडेलसहित अन्य दुईजनाको नाम सिफारिस गर्नेछ ।

सिफारिस समितिमा अहिले अर्थमन्त्री पौडेल संयोजक छन् । त्यसैगरि तत्कालीन सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि नियुक्त निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विज्ञतर्फ पोषराज पाण्डे छन् । उनी पनि गभर्नर बन्न लागेका विश्व पौडेलले राजीनाम दिएपछि हालै मात्र सिफारिस समितिमा पुगेका हुन् ।

पौडेल नेतृत्वको समितिको सिफारिस अनुसार मंगलबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्नेछ ।

यसअघि गभर्नरमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको नाममा ओली र देउवाले सहमति जनाएका थिए । तर बिचौलियाको चर्को चलखेलका कारण भट्टको नाम पनि पछि अस्वीकृत भयो । त्यसपछि कायमुकायम गभर्नर नीलम ढुंगाना र नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगानाको नाम पनि चर्चामा थियो ।

दुई दलबीच असहमति मात्रै थिएन, नयाँ गभर्नरका लागि फरक फरक नाममा बिचौलियाहरूले चर्को लबिइङ गरेका थिए । ओली र देउवासँगै परराष्ट्रमन्त्री डा. आरजु देउवाले पनि गभर्नरका लागि आफ्नोतर्फबाट लबिइङ गरेकी थिइन् । अन्तत: लामो रस्सकस्सी गरेर बदनाम दुई दलले गभर्नरको टुंगो लगाएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ४ : ५१ बजे

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा

आकाशको पानीमा भरपर्दा सर्लाहीमा भएन रोपाइँ

सर्लाही- हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका

घाइते छाडा चौपायाको उद्धारमा विष्णु

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

इतिहासकै एक पक्षीय जितसहित इगाले जितिन् विम्बल्डन

काठमाडौं – अमान्डा अनिसिमोभालाई ६-०, ६-० ले हराउँदै इगा स्वेतकले