धार्मिकस्थल ‘जलजला’ जोड्ने पदमार्ग निर्माण « Khabarhub

धार्मिकस्थल ‘जलजला’ जोड्ने पदमार्ग निर्माण


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ ।

जलजला कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने पदमार्गमा समेटिएको छ ।

गण्डकी प्रदेश सरकारको २० लाख बजेटबाट पर्वतको मोदी गाउँपालिका– १ माटेबाट मोदी र जलजला गाउँपालिकाको सिमानामा पर्ने जलजलासम्म ढुङ्गाको सिँढीको पदमार्ग निर्माण भएको हो ।

पर्यटन तथा उद्योग कार्यालय पर्वतमार्फत सञ्चालित उक्त योजनाको उपभोक्ता समितिका सचिव टीका पुनले माटेबाट वाइफाइडाँडा हुँदै जलजलासम्म दुई किलोमिटर दूरीमा ढुङ्गाको सिँढी चिनेर पदमार्गका साथै तीन ठाउँमा विश्रामस्थल निर्माण गरिएको जानकारी दिए ।

‘परापूर्वकालमा गोठालाहरूले प्रयोग गरेको बाटोलाई पदमार्गमा रूपान्तरण गरिएको हो’, उनले भने, ‘बस्तीबाट टाढा पदमार्ग बनाउन लेसपारका २५ जना मजदुरहरू चार महिनासम्म निर्माणस्थलमै बास बसेका थियौँ ।’ पदमार्गका साथै दुलेखानी र वाइफाइडाँडामा चौतारीसहित विश्रामस्थल र दृश्यावलोकनस्थल निर्माण भएको छ ।

तीन हजार तीन सय मिटर उचाइमा रहेको माटेबाट दुलेखानी–वाइफाइडाँडा हुँदै तीन हजार मिटर उचाइमा अवस्थित जलजलासम्म पहाडको टाकुरामा निर्माण भएको पदमार्गको यात्राका क्रममा अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीको ग्रामीण बस्ती तथा पहाडहरूको अवलोकन गर्न सकिन्छ । मृगलगायत जङ्गली जनावर पनि देखिन्छन् ।

यसअघि व्यवस्थित पदमार्ग नहुँदा पर्यटकले बाटो बिराउने, भीरको झाडीमा जोखिम मोलेर हिँड्नुपर्ने समस्या थियो । पदमार्गले पदयात्रालाई सुरक्षित बनाएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।

आर्थिक वर्ष (आव) २०८२–०८३ मा प्रदेश सरकारले विनियोजन गरेको थप २० लाख बजेटबाट जलजलबाट म्याग्दीको मोहरेडाँडातर्फ पदमार्ग निर्माण गरिने उनको भनाइ छ ।

यसअघि वाइफाइडाँडामा प्रदेश सरकारको १५ लाख बजेटबाट आश्रयस्थल भवन निर्माण भएको थियो भने गत वर्ष जलजला र मोदी गाउँपालिकाको साझेदारीमा जलजलामा विद्युत् सुविधा पुर्‍याइएकाे थियो ।

हिन्दू धार्मिकग्रन्थ रामायणमा जलजलालाई कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको छ । विभिन्न किसिमका जडीबुटी पाइने जलजला जैविक विविधतायुक्त स्थल हो । जलजलाको हम्पालमा धार्मिक पूर्वाधार र प्रवर्द्धनको गतिविधि सञ्चालन भएको छ ।

जलजलाको पहाडका बीचमा सीम क्षेत्र छ । यहाँ बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना अघि सारिएको छ । म्याग्दीको बेनीबाट पर्वतको मल्लाज, शालिजा हुँदै जलजलासम्म कच्ची सडक पुगेको छ । (रासस)

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ४८ बजे

भक्तपुर- १ का मतदाता भन्छन् : सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

काठमाडौं– ‘चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपाली मतदान गरिँदैन’ भक्तपुर

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, एकै परिवारका चारसहित कम्तीमा १६ जना मारिए

इस्लामावाद- पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ। आइतबार

यो निर्वाचनले परिवर्तनको अपेक्षा पूरा गर्नेछ : डा. अयोधीप्रसाद यादव (अन्तर्वार्ता)

राजविराज– प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २०७३ असार २७

पाक-अफगान सीमा तनाव चुलियो

बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई

मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ