काठमाडौं – अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर विभिन्न स्थानमा अलपत्र परेका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएका कारण सामान बोलेका कन्टेनर सीमा पारी र राजमार्गका विभिन्न स्थानमा अलपत्र परेका हुन् ।
सडक अवरुद्ध भएको ५० दिनभन्दा बढि समय भएपछि सरोकारवालाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षणपत्र समेत बुझाइसकेका छन् ।
मन्त्री घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई समेत दिए । निर्देशन पछि सडक विभागका अधिकारीहरूले स्थलगत निरीक्षण गरेका छन् ।
उनीहरूले तत्कालका लागि ६ मिटरको एकतर्फी सडक खोज्ने जानकारी गराएको सिल्क ट्रान्सपोर्टका निर्देशक विजय शेर्पाले बताए । राजमार्ग अवरुद्ध हुँदा १५ सयभन्दा बढी कन्टेनर अलपत्र परेको र उद्योगी र व्यापारीहरूलाई कच्चा पदार्थ र तयारी सामान पठाउन कठिनाइ भएको उहाले बताए ।
त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले १५ सय कन्टेनर अड्केर बसेको बताए । दुई-तीनभित्र सडक खोल्न सके काठमाडौँ आसपास सामान पुराउन सकिने उनको भनाइ छ ।
उनले सडक अवरुद्ध हुँदा सामान बोकेर लैजानुपर्दा दैनिक १० लाख भन्दा बढि खर्च भएको गुनासो गरे । उनले उक्त सडकखण्ड पटक पटक अवरुद्ध हुने गरेकाले दीर्घकालीन सोचका साथ सडक निर्माण गर्नुपर्ने बताए ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले सडक खुलाउने विषयमा मन्त्रालयमा छलफल गर्ने र चिनिँया पक्षसँग पनि परामर्श गर्दै उक्त सडकखण्डलाई दीर्घकलीन सोचका साथ निर्माण गरिने उल्लेख गरे ।
दसैँ लगायतका चाडपर्वका बेला सडक अवरुद्ध भएपछि तातोपानी नाकाबाट सामान ल्याउन र सर्वसाधारणको आवागमनमा समेत ठुलो समस्या परेको छ । भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरोका कारण धेरै गाँउ समेत जोखिममा परेका छन् । स्थानीयहरुले बस्ती जोगाएर सडक बनाउनुपर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया