‘सगरमाथा संवाद’को घोषणा गरिँदै | Khabarhub Khabarhub

‘सगरमाथा संवाद’को घोषणा गरिँदै


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी जेठ पहिलो साता आयोजना गर्नेगरी ‘सगरमाथा संवाद’ तयारीको घोषणा गर्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीबाट संवाद घोषणा गर्न लागिएको हो । समारोहमा मन्त्री, सचिव, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, विकास साझेदार निकायका प्रमुख, जलवायु क्षेत्रमा काम गर्ने संस्थाका प्रमुख, सञ्चारकर्मीलगायतको सहभागिता रहने बताइएको छ ।

जलवायु परिवर्तनका विषयमा विश्वमै नेतृत्व हासिल गर्न तथा जलवायु न्यायका लागि पैरवी गर्न संवाद गर्न लागिएको हो । परराष्ट्र र वन तथा वातावरण मन्त्रालयले विभिन्न समिति बनाई तयारी थालेका छन् । यो संवाद हाललाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णय छ । आगामी जेठ २, ३ र ४ गते संवाद आयोजना गर्न प्रस्ताव गरिएको छ ।

संवादलाई नेपालले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको अङ्गको रूपमा विकास गर्नेगरी घोषणा गरी तयारीको सुरुआत गर्न लागेको वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. महेश्वर ढकालले जानकारी दिए । संयुक्त राष्ट्रसङ्घले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउँदै छ । संयुक्त राष्ट्रसङ्घको प्रतिनिधित्व गर्दै विश्व मौसम सङ्गठन र युनेस्कोले आजै संयुक्त रूपमा अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको सुरुआत गर्दैछन् ।

पहिलोपटक हुन लागेको सगरमाथा संवादको विषय ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ रहेको छ । संवाद आयोजनाका लागि संयोजन गरिरहेका उनले हिमाली देशहरुमा जलवायु परिवर्तनले गरेका असर र समाधानका उपायबारे विभिन्न आयाममा र विषयगत छलफल गरी निष्कर्षलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने बताए ।

न्यून कार्बन उत्सर्जन गरेर पनि उच्च जोखिममा पर्नुपरेको पीडाका बारेमा अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउँदै त्यसबाट नेपालले लिनुपर्ने क्षतिपूर्ति र नेपालले उपलब्ध गराएका वातावरणीय सेवाबापतको भुक्तानीको सन्दर्भमा समेत संवादका क्रममा पैरवी गरिने बताइएको छ ।

सरकारले संवादको तयारीका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा निर्देशन समिति, प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा व्यवस्थापन समिति र वन मन्त्रालयका सचिवको संयोजकत्वमा सचिवालय स्थापना गरेर तयारी थालेको छ ।

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा गरेको असरका विषयमा पर्वतीय क्षेत्रका नागरिक र अन्तर्राष्ट्रिय समुदायको बुझाइमा एकरुपता ल्याउने तथा जलवायुको न्यायको लागि पैरवी गर्ने उद्देश्यका साथ संवाद गर्न लागिएको हो । साथै जलवायु विज्ञान र प्रविधिको विकास विस्तारमा योगदान गर्ने, पर्वतीय एजेण्डालाई अझ मुखरित गर्ने तथा थप प्रभावकारी बनाउन पर्वतीय मुलुकहरूसँगै काम गर्नेसमेत संवादको लक्ष्य छ ।

संवादमा विशेषगरी पर्वतीय र सामुद्रिक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषय विज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्व, सञ्चारक्षेत्रका विज्ञलगायतलाई निमन्त्रणा गरिने बताइएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ४४ बजे

गायिका जुनु गौतमको ‘यो माया’ गीत सार्वजनिक

काठमाडौं– गायिका जुनु गौतमले नयाँ कोसेली ‘यो माया’ प्रस्तुत गरेकी

चुनावको तयारीसहित घरदैलो गर्न नेताहरूलाई उपेन्द्र यादवको निर्देशन

काठमाडौं- जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको मुद्दा, नीति

प्रचण्ड-नेपाल भेटवार्ता, सहकार्य तथा एकताको सम्भावनाबारे छलफल  

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

शंकर पोखरेलको तर्क- सदस्यता नवीकरण रोकेर पूर्वराष्ट्रपतिलाई देशकै अभिभावकको भूमिकामा फर्कायौँ

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता

संविधान संशोधनका लागि सहमति आवश्यक छ : नेता सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता