धनगढी – रजाली अर्थात् बाजुरा सदरमुकाम मार्तडीसँग सीमा जोडिएको नजिकको गाउँ ! बडीमालिका नगरपालिकाको ३ नम्बर वडा !
भूगोलको सीमा र परिवार सङ्ख्यामा सानो, तर उत्पादन र उर्वरामा जिल्लाकै नमूना गाउँ हो, रजाली । जहाँ २०८ परिवारको बसोबास छ । पालिकाका ९ वटा वडामध्ये दोस्रो सानो वडा पनि रजाली नै हो ।
तर, रजालीको परिचय कम जनसङ्ख्या र सानो वडाको रूपमा मात्र सीमित छैन । तरकारी खेतीका लागि जिल्लामै नमूना गाउँ बनेको छ । रजालीबासी सबैको अनिवार्य पेसा नै खेती हो । तीमध्ये १०० भन्दा बढी स्थानीयले व्यवसायिक तरकारी खेती गरेका छन् । उनीहरू न अन्न खेती गर्छन्, न देश विदेशमा पुगेर श्रम नै !
डोकोमै बिक्री गरेर भए पनि दशक लामो समयदेखि रजालीका स्थानीय तरकारी खेतीसँग आबद्ध छन् । सिङ्गो गाउँ तरकारी खेतीकै कारण चर्चित भएको छ ।
बडीमालिका ३ का वडाध्यक्ष डबल रोकाया बाजुरामा तरकारी र रजाली पर्यायवाची जस्तै बनिसकेको बताउँछन् । रोकाया स्वयम् तरकारी किसान हुन् । उनका अनुसार सिङ्गो मार्तडी बजारलाई नै तरकारी पुर्याउने जिम्मा रजालीकै हो ।
वि.सं. २०७९ मा रोकाया वडाध्यक्ष भएपछि तरकारी खेतीको सम्पूर्ण जिम्मा उनकी श्रीमती फुगी रोकायाले सम्हालिरहेकी छिन् । साँझ-बिहान फुर्सदमा डबलले पनि खेतीपातीमा सघाउँछन् । सफल किसानमध्येका रोकाया परिवारले डेढ दशकदेखि तरकारी खेती गरिरहेको छ ।
यो परिवारले मार्तडी बजारमा तीन तलाको घर बनाएका छन् । जेठो छोरा इञ्जिनियर, कान्छो छोरा हेल्थ असिस्टेन्स (एचए) र बहिनीलाई कृषि विज्ञान पढाउने खर्च तरकारी खेतीबाटै जुटाएका हुन् ।
यी त उदाहरण मात्रै हुन् । सिङ्गो गाउँ नै तरकारी खेतीले बाँचेको र रजालीको परिचय नै तरकारी खेतीले स्थापित भएको भन्छन् बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का । नगरप्रमुख खड्का पनि रजालीबासी नै हुन् ।
रजालीका खेत र बारीभर मौसमी र बेमौसमी तरकारी लगाइएको छ । जताततै तरकारीका टनेलमात्रै देखिने गरेका छन् । कुनै परिवारका आँगन सुख्खा देखिँदैनन्
तरकारी खेती र उत्पादन तथा आत्मनिर्भर किसानको परिचयका लागि रजालीले जिल्लाको नै शान बढाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैशी बताउँछन् ।
रजाली पिप्सेका रणबहादुर र जयबहादुर खड्काले पनि तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने गरेका छन् । जयबहादुर खड्काले तरकारी खेतीबाटै मार्तडीमा दुई ठाउँमा जमिन किनेका छन् । छोराछोरी काठमाडौँमा पढाइरहेका छन् ।
रणबहादुर खड्काले पनि छोरीलाई तरकारी खेतीबाटै ओभरसियर पढाउन थालेका छन् । उनीहरू दुबैले तरकारी खेतीबाट मासिक कम्तिमा २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । आम्दानीको केही हिस्सा बचत पनि गरिरहेका छन् । छोरालाई एसइई पछि राम्रै कलेजमा प्राविधिक शिक्षा पढाउनेगरी बचत गर्न थालेको खड्काले सुनाए ।
रजालीका करिब १०० भन्दा बढी तरकारी किसानले वार्षिक दुईदेखि चारलाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । गाउँमा वार्षिक तीन करोड रुपैयाँभन्दा बढी रकम तरकारीबाटै भित्रिने गरेको निवर्तमान वडाध्यक्ष वीरबहादुर रावलले जानकारी दिए ।
अपवाद बाहेक रोजगारीका लागि गाउँबाट भारततिर कोही गएका छैनन्, व्यवसायिक तरकारी खेतीबाट मनग्गे आम्दानी हुने भएकाले काम खोज्दै भारत नै जानुपर्ने बाध्यता पनि छैन । युवाहरू गाउँमै भेटिन्छन् । स्थानीयले तरकारी बाहेक कागती, किबी, सुन्तला र केरा खेती पनि थालेका छन् ।
रजालीका स्थानीयले तत्कालीन केयर नेपालको सहजकरणमा २०५८ सालपछि तरकारी लगाउन थालेपनि २०६४/०६५ पछि निरन्तरता दिन थालेका हुन् ।
रजालीबासीले गाउँमा तरकारी खेतीबाटै बचेको रकम जम्मा गर्न लक्ष्मी बचत तथा ऋण सहकारी संस्था बनाएका छन् । हाल त्यो संस्थामा अरूले पनि बचत गर्न र ऋण लिन पाउने सुविधा छ । खासमा तरकारी खेतीबाटै बचेको रकम बचत गर्ने उद्देश्यले स्थापना गरिएको स्थानीयको भनाइ छ ।
स्थानीय अगुवा काशी विक रजालीबासीले तरकारी खेतीबाट नाम मात्रै नभइ राम्रो आम्दानी गरी सन्तानको भविष्यसमेत राम्रो बनाएको बताउँछन् ।
गाउँमा हाल तरकारी खेतीबाटै कमाएको रकम लगानी गरी ५० बढी विद्यार्थीले विभिन्न क्षेत्रको प्राविधिक शिक्षा पढिरहेका छन् । उच्च शिक्षा अध्ययनका लागि आधा दर्जन युवाहरू विदेशमा छन् । रोजगारीकै लागि भनेर चाहिँ कोही विदेश गएको छैन ।
रजालीबासीको प्रमुख पेशानै तरकारी खेती हुन थालेको छ । सामाजिक अभियन्ता लालबहादुर ओलीका अनुसार उनीहरूको परिचय नै तरकारी हो । २०० परिवारको बसोबास रहेको गाउँमा तरकारी खेतीबाटै तीन करोड रुपैयाँभन्दा बढी आम्दानी हुने कुराले ठूलो अर्थ राख्छ ।
रजालीकै जस्तो इच्छाशक्ति र सोच देशका सबै गाउँ र युवामा विकास गर्न आवश्यक रहेको ओलीको सुझाव छ । रजालीको हालको अवस्थाले निरन्तरता पाए केही वर्षमै थप नमूना गाउँ बन्ने सम्भावना रहेको उनको भनाइ छ ।
बाजुराका ६९ वटा वडामध्ये रजालीमात्रै उत्पादनमा नमूना हो । सरकारी तथा गैरसरकारी निकायको ध्यान र लगानी पनि रजालीमा भइरहेको छ । किसानहरूमा त्यो भन्दा बढी इच्छाशक्ति र निरन्तरता दिने खुबी देखिन्छ ।
रजालीका किसान बिहान उज्यालो नहुँदै मार्तडी पुग्छन् । डोकोमा बोकेर ल्याएको तरकारी बिक्री गर्छन्, घर फर्किने गर्छन् । तरकारी खेतीमा लागिहाल्छन् ।
रजालीमा उत्पादित तरकारी ढुवानी गर्न सहज बाटो र सङ्कलन केन्द्र भने अभाव छ । पछिल्लो समय नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरी कृषकलाई केही राहत हुनेगरी काम अघि बढाएको नगर प्रमुख अमर खड्काले बताए ।
किसानलाई नै सहज हुने र कृषि क्षेत्रमा किसानलाई आकर्षण बढाउने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गरेर ढुवानी नै थालिएकोले पुरानो समस्या अब क्रमशः हट्ने उनको भनाइ छ ।
तरकारी र फलफूल खेतीबाटै करोडौं रुपैयाँ कमाइरहेको रजालीको सिको देशका अरू गाउँहरूले पनि गर्न सके गाँसबासकै लागि विदेश पलायन हुनुपर्ने र बेरोजगारी समस्या भोग्नुपर्ने बाध्यता नहुने देखिन्छ ।
प्रतिक्रिया