काठमाडौं – मुलुकमा जब जाडो याम भित्रियो, फिल्मी बजारलाई पनि चिसो लाग्यो । अर्थात्, मध्य जाडोका तीन महिना मङ्सिर, पुस र माघमा प्रदर्शनमा आएका नेपाली फिल्मले बक्स अफिस तताउन सकेनन् ।
ट्रेलर र प्रचार सामग्रीले राम्रो हाइप बनाएका फिल्म पनि अपेक्षित चल्न सकेनन् । निर्माताको लगानीसम्म उठेन । यो अवधिमा प्रदर्शनमा आएका कुनै निर्माताले ‘लगानी सुरक्षित भयो’ भन्न सकेनन् ।
यो अवधिमा ‘स्टार’ कलाकारका फिल्म पनि नआएका होइनन् । तर, कुनै फिल्मले दर्शकलाई तान्न सकेनन् ।
तथापि फिल्मको व्यापारमा मात्र चिसो लागेको हो । फिल्मीवृत्त भने भने चलायमान नै छ । फिल्म घोषणा भएकै छन्, प्रचार सामग्री सार्वजनिक भइरहेका छन् ।
अर्कोतर्फ फिल्मको विवाद अदालत प्रवेश गर्दा नयाँ अवस्था सिर्जना भएको छ । फिल्म क्षेत्रलाई गरमागरम बनाउन यिनै विवाद खुराक बनेका छन् । पछिल्लो समय फिल्मका विवाद अदालत प्रवेश गर्ने प्रवृत्ति देखिएको छ ।
अदालत प्रवेशको विषयले फिल्मीवृत्तलाई तरङ्गित त बनाएको छ, तर यो तरङ्गले प्रतिकूल अवस्था सृजना गरेको छ ।
फिल्मको विवाद अदालत प्रवेश गर्दा नयाँ अवस्था सिर्जना भएको छ । फिल्म क्षेत्रलाई गरमागरम बनाउन यिनै विवाद खुराक बनेका छन् ।
अदालतको अङ्कुश
गत माघमा जिल्ला अदालत काठमाडौंले प्रदीप खड्का केन्द्रीय भूमिकामा रहेको फिल्म ‘एक्टर : टेक वान’ प्रदर्शनमा रोक लगाएको थियो ।
अर्को फिल्म ‘एक्टर’ निर्माण पक्षले नाम र कथावस्तु चोरी भएको भन्दै मुद्दा दायर गरेका थिए । यस मुद्दामा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै फिल्म प्रदर्शनमा रोक लगाएको थियो ।
‘एक्टर’ र ‘एक्टर : टेक वान’ का निर्माण पक्षबीच सहमति भएपछि फिल्म प्रदर्शनमा आएको थियो ।
अहिले अर्को फिल्मको विवाद पनि अदालतमा प्रवेश गरेको छ । फागुन १४ प्रदर्शन मिति तोकिएको फिल्म ‘लाज शरणम्’ अहिले कानूनी सङ्कटमा छ । प्रदर्शनको सङ्घारमा फिल्म प्रचार गर्न रोक लगाइएको छ ।
यो पनि –
चलचित्र विकास बोर्डको कमजोरीले अदालत छिरेको एक्टर…
उच्च अदालत पाटनको आदेशका कारण तोकिएको मितिमा यस फिल्मको ट्रेलर सार्वजनिक हुन मात्र पाएन, सार्वजनिक भएका प्रचार सामग्री समेत हटाइएको छ । यस फिल्मको टिजर र प्रमोसनल गीत ‘युट्युब’बाट हटाइएको हो ।
यो फिल्मको विवाद अदालत प्रवेश गर्नुको कारण हो – फिल्ममा सीताराम कट्टेल ‘धुर्मुस’ले निर्वाह गरेको भूमिका ।

सीतारामले निर्वाह गरेको चरित्र जेलमा रहेका नेपाली कांग्रेसका पूर्वमन्त्री अफताव आलमसँग मिल्दोजुल्दो देखिन्छ । यद्यपि निर्माण पक्षले यो संयोग रहेको दाबी गर्दै आएको छ ।
अफतावले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जिउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको दाबी गर्दै फिल्म रोक्न माग गरेका थिए ।
गत मङ्गलबार न्यायाधीश लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले फिल्मको प्रचार रोक्न आदेश दिएको हो ।
यो पनि –
अदालतले ‘लाज शरणम्’ लाई रोक लगाएपछि चर्को आलोचना
यस फिल्मको केन्द्रीय भूमिकामा सीताराम छन् । उनले निर्वाह गरेको चरित्रलाई लिएर प्रचारप्रसार बन्द गर्न अदालतले आदेश दिएको हो ।
चलचित्रको प्रदर्शन रोक्का गर्ने अधिकार सेन्सर बोर्डलाई हुनेसमेत समाजले स्मरण गराएको छ । समाजले ‘लाज शरणम्’को कानूनी लडाइँमा चलचित्र सम्बन्धी संस्थालाई गोलबद्ध हुन आग्रहसमेत गरेको छ ।
यद्यपि, अदालत आदेशले मात्रै फिल्म प्रदर्शनमा आउनबाट भने रोकिने देखिँदैन । सीतारामले निर्वाह गरेको भूमिकाप्रति सेन्सर बोर्डले आपत्ति नजनाए यो फिल्म प्रदर्शनमा आउँछ ।
अदालतको आदेशमा लेखिएको छ, ‘केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिइ रोक्न सक्ने देखिँदा यो अगावै निवेदकको मुखाकृति र आवरणसँग मिल्नेगरी पात्रले अभिनय गरेको लाज शरणम नामक चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चार माध्यमहरूमा प्रचारप्रसार र सो सम्बन्धी पोस्टरहरू प्रकाशन, प्रशारण नगर्नू नगराउनू ।’
‘लाज शरणम्’बारे को के भन्छन् ?
नेपाल चलचित्र निर्देशक समाजले भने अदालतको आदेशमै असन्तुष्टि व्यक्त गरेको छ । समाजले विज्ञप्ति जारी गरी अदालतको आदेशलाई ‘अफतावको मनसाय अनुसार’को भनेको छ ।
चलचित्रको प्रदर्शन रोक्का गर्ने अधिकार सेन्सर बोर्डलाई हुनेसमेत समाजले स्मरण गराएको छ । समाजले ‘लाज शरणम्’को कानूनी लडाइँमा चलचित्र सम्बन्धी संस्थालाई गोलबद्ध हुन आग्रहसमेत गरेको छ ।

यस विषयमा सामाजिक सञ्जालमा समेत टिकाटिप्पणी सुरु भएको छ । बहुसंख्यक कलाकर्मी ‘लाज शरणम्’को पक्षमा उभिएका छन् ।
अदालतको आदेशलाई असन्तुष्टि राख्दै केदार घिमिरे ‘माग्ने बूढा’ सामाजिक सञ्जालमा लेख्छन्, ‘क्यारिकेचर गर्ने पेसा पनि लोपोन्मुख होलाजस्तो छ । नमिले फ्लप, मिले लफडा !’
कलाकार दीपकराज गिरी पनि फिल्मको पात्रको हुलिया कसैको मुखाकृति र आवरणसँग मिल्दैमा प्रचारप्रसार रोक्न आदेश आउनु उचित नभएको तर्क राख्छन् ।उनी भन्छन्, ‘फिल्मको सुरुवातमै पात्र वा कथा काल्पानिक हुन्, मिल्न गए संयोग हुनेछ भनेर लेख्नुको कारण के हो त ? यही अहिलेको अवस्था सिर्जना हुन्छ भनेर त हो नि !’
‘बायोपिक’ निर्माण गर्दा बाहेकको अवस्थामा हुलिया मिलेकै भरमा सम्बन्धित व्यक्तिसँग अनुमति लिनुनपर्ने उनको बुझाइ छ। भन्छन्, ‘कुनै व्यक्तिबाट प्रभावित भएर पात्र निर्माण गर्न पाइन्छ । तर, त्यो व्यक्तिलाई हानीनोक्सानी भने पुर्याउनु भएन ।’
सेन्सर बोर्डले यो फिल्मलाई प्रदर्शन अनुमति दिनुपर्ने दीपकको तर्क छ । उनी भन्छन्, ‘राष्ट्रियता, सामाजिक सद्भाव खलबल हुने विषयमा सेन्सर लाग्ने हो । यस्ता विषयमा सेन्सर पास नहुने भन्ने हुँदैन ।’
लेखक तथा फिल्म विश्लेषक सामीप्यराज तिमल्सेना पनि अदालतको आदेशमा असन्तुष्ट छन् ।
उनी थप्छन्, ‘हरेक पात्र कोही न कोहीसँग मिल्न सक्छ । यस्तो आदेशले मसँग हुलिया मिल्यो भन्दै निहुँ खोज्ने बढ्न सक्छन् ।’
फिल्ममा कुनै पनि व्यक्तिको ‘क्यारिकेचर’ गर्ने स्वतन्त्रता रहेको सामीप्य बताउँछन् । थप्छन्, ‘जीवनी बनाउने हो भने मात्रै सम्बन्धित व्यक्तिको अनुमति लिनुपर्छ । नत्र कुनै पनि व्यक्तिबाट प्रभावित भएर पात्र निर्माण गर्न पाइन्छ ।’
कसैसँग हुलिया मिलेकै कारण सेन्सर पास नहुने अवस्था सिर्जना हुन नहुने उनको बुझाइ छ ।
भन्छन्, ‘यो फिल्म हुलिया मिलेकै कारण सेन्सर पास भएन भने कलामाथिको आक्रमणको रूपमा बुझिन्छ । गलत सन्देश प्रवाह हुन्छ ।’
लाज शरणम्को ब्यानर जेपीटी क्रियशनका अर्जुन घिमिरे ‘पाँडे’ भने अदालत प्रवेश भएको मुद्दामा बोल्न नमिल्ने बताउँछन् ।

रोकियो ‘ताण्डवम्’को प्रिमियर
बुधबार ५ बजे तय गरिएको फिल्म ‘ताण्डवम्’को प्रिमियर स्थगन भयो । फिल्म सेन्सर पास नभएपछि अन्तिम समयमा आएर निर्माण पक्षले प्रिमियर रोकेको थियो ।
निर्देशक जुनिम गहतराजका अनुसार ‘हिंसात्मक दृश्य’लाई सेन्सरले आपत्ति जनाएपछि प्रिमियर स्थगन गर्नुपरेको हो ।
शुक्रबारबाट यो फिल्म प्रदर्शनमा भने आएको छ । १० मिनेट समय बराबरका विभिन्न दृश्य काँटछाँट गरेपछि सेन्सर बोर्डले यो फिल्मलाई प्रदर्शन अनुमति दिएको हो ।
जुनिमका अनुसार सेन्सरपछि फिल्मको अवधि २ घण्टा ६ मिनेटबाट घटेर १ घण्टा ५६ मिनेटमा झरेको छ ।
जुनिम भन्छन्, ‘हामीले कथाको मूलभाव नमर्ने गरी दृश्य काँटछाँट गरेका छौँ ।’
स्टारका फिल्म फ्लप !
पछिल्ला तीन महिनामा स्टार नायक नायिका स्टारर फिल्म प्रदर्शनमा पनि आए । तर, व्यापार भने कमजोर नै भयो । नायक विपीन कार्की, सौगात मल्ल, प्रदीप खड्का र नायिका प्रियङ्का कार्कीजस्ता स्टार अनुहारको फिल्म पनि चलेनन् ।
मङ्सिरमा प्रदर्शनमा आएको विपीनको ‘तेल भिसा’ ले ५१ दिन मनायो । न्यून अकुपेन्सीका साथ ५१ दिन मनाएको यस फिल्मको व्यापार भने उत्साहजनक भएन ।
पछिल्ला तीन महिनामा स्टार नायक नायिका स्टारर फिल्म प्रदर्शनमा पनि आए । तर, व्यापार भने कमजोर नै भयो । नायक विपीन कार्की, सौगात मल्ल, प्रदीप खड्का र नायिका प्रियङ्का कार्कीजस्ता स्टार अनुहारको फिल्म पनि चलेनन् ।
सौगात मल्ल केन्द्रीय भूमिकामा रहेको फिल्म ‘बम बहादुर’ गत पुसमा प्रदर्शनमा आयो । सौगातजस्ता स्टार नायकको फिल्म पनि हलमा एक साता टिकेन ।
माघ अन्तिम साता दयाहाङ राई स्टारर ‘कार्साङ’ प्रदर्शनमा आयो । ट्रेलरले राम्रो हाइप बनाएको यो फिल्मको व्यापार पनि निराशाजनक रह्यो ।
दयाहाङ नै केन्द्रीय भूमिकामा रहेको ‘दुखी आत्मा’ न्यून अकुपेन्सी र शोसहित फिल्म प्रदर्शनरत छ । यस फिल्मले पनि दर्शकलाई हलसम्म तान्न सकेको छैन ।
अहिले चल्तीका स्टार प्रदीप खड्काको फिल्म ‘एक्टर : टेक वान’ पनि चल्न सकेन । यही फिल्मबाट प्रदीपलाई ‘सुपरस्टार’को ट्याग दिइएको थियो ।
यस फिल्ममा नायक राजबल्लभ कोइराला, नायिका दिव्या रायमाझी र आना शर्मा समेतको अभिनय छ ।
प्रदीपका कारण यो फिल्मले राम्रै व्यापार गर्ने अनुमान थियो । तर, फिल्मले अपेक्षित व्यापार गर्न सकेन ।
यो पनि –
चलचित्र जाँच कार्यविधि : पहिलो गाँसमै ढुंगा, सरकार भन्छ– छलफलका लागि खुला
प्रतिक्रिया