सोहिजनका बोट फुलेर सेताम्य : किसानको मुहारमा खुसी « Khabarhub

सोहिजनका बोट फुलेर सेताम्य : किसानको मुहारमा खुसी


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सोहिजनका बोट (रुख)मा सेताम्य फूलेपछि यहाँका किसान खुसी भएका छन् । बोलिचालीमा मुन्गा भनिने यो तरकारीको मधेसको मिथिला क्षेत्रमा विशेष महत्त्व छ । 

‘यसपालि सोहिजन राम्रो फुलेको छ, फूलअनुसार फल लागे मनग्य आम्दानी लिन सकिन्छ’, बर्दिबास–२ ओमशान्ति चोकका भोला महतो भन्छन्, ‘ वैशाखमा त बजार पुर्‍याउन नपाउँदै बिक्री हुन्छ ।’ मिथिलाक्षेत्रमा वैशाख सङ्क्रान्तिमा मनाइने जुडशीतल पर्वमा यसबाट विशेष परिकार बनाउने चलन छ । 

माघमा फुल्ने र चैत अन्तिमतिर फल्ने सोहिजन बजारमा रुचाइने तरकारीमा पर्छ । हाँगा काटेर पाखो जग्गा र खेतका आलीमा गाडेर मात्रै पनि सोहिजनको खेती गर्न सकिन्छ ।

‘न गोडमेल चाहिने, न अरु बालीलाई जस्तो स्याहार चाहिने, सामान्य रेखदेखमात्रमै यो हुर्काउन सकिन्छ’, भङ्गाहा–४ रामनगरका जुगल सदा मुसहर भन्छन्, ‘घर पछाडि दुई/तीन वटा बोट छन्, बर्सेनि यसको बिक्रीबाट ८/१० आम्दानी हुन्छ ।’

पछिल्लो समय यसको माग बढ्न थालेपछि किसानहरू पनि व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् । मौसमी तरकारी मानिने सोहिजन अब बार्हैमास फल्ने पनि बाक्लै बढ्दै गएको यहाँका किसानको भनाइ छ । 

‘पहिले त पाँच/छ वटा बोट थिए, पछिल्ला पाँच वर्षयता बर्सेनि अलिअलि बढाउँदै अहिले २५ वटा पुर्‍याएको छु’, भङ्गाहा–५ भूचक्रपुरका किसान भगलु महतो भने, ‘अन्य कुनै बालीभन्दा यसबाट बढी नगद लिँदै आएको छु ।’

सोहिजनको तरकारी गुणकारी भएकाले मैथिल भान्सामा यसको उच्चस्थान रहेको स्वास्थ्य विज्ञ बताउँछन् । ‘यो गुणैगुणले भरिपूर्ण छ, यसको सेवनका धेरै फाइदा छन्’, वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा भन्छन्, ‘मूत्रविकारको समस्यामा यो उपयोगी मानिन्छ ।’ 

लोहतत्व (आइरन), फोलिक एसिड र भिटामिन बी–१२ प्रचूर मात्रामा हुने सोहिजन शरीरमा प्रतिरोधात्मक क्षमता बढाउन, नशा बाउडिने रोग निदान गर्न, मधुमेह नियन्त्रण गर्न, छालासम्बन्धी समस्या हटाउन र गर्भमा रहेको बच्चाको शारीरिक विकासका लागि राम्रो मानिन्छ । 

तरकारीमा फूल, कलिलो मुन्टा र लामो डोलो कोसा हुने फल प्रयोग गरिँदै आइएकोमा पछिल्ला वर्षमा यसको छिप्पिएको पातको पनि महत्त्व बढ्न थालेको छ । घरघरकै जस्तो समस्या बनेको मधुमेह रोग नियन्त्रणका लागि सोहिजनका पातको धुलो खाने प्रचलन बढ्दै जाँदा यसको महत्त्व झनै बढेको हो । 

अहिले ठूलाठूला आयुर्वेदिक औषधि कम्पनीले सोहिजनको पातको ‘मोरिङ्गा पाउडर’ बनाएर राम्रो मूल्यमा बेचिरहेका छन् । यी कम्पनीले काम बढाउँदै लाँदा बस्तीबस्तीमा अब सोहिजनको पात खोज्ने व्यापारी घरघरै आउने गरेका गौशाला–१२ पडरियाका योगेन्द्र दास बताउछन् ।

सरकारले मधेसमा यसको व्यावसायिक खेती गर्नेलाई बीउ र अन्य आवश्यक सुविधा दिनसके किसानका लागि यो आम्दानीको राम्रो स्रोत बन्न सक्ने बर्दिबास–८ का वडाअध्यक्ष शमशेरसिंह लामाको भनाइ छ । यसभेगका किसानले अब तीनै तहका सरकारसँग सोहिजन खेतीलाई उकास्न सहयोग गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  २ : ५० बजे

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयात : ९ महिनामा ६० अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

मिथिलामा जानकी नवमीको उल्लास

महोत्तरी– विभिन्न चाडपर्व र सांस्कृतिक उत्सवको वैभव मानिने मधेसको महोत्तरीसहितका

करिब तीन हजार सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेको २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’