रिङ्कु सदा मृत्यु प्रकरण : जबरजस्ती करणीसहित चार मुद्दामा अनुसन्धान हुँदै « Khabarhub

रिङ्कु सदा मृत्यु प्रकरण : जबरजस्ती करणीसहित चार मुद्दामा अनुसन्धान हुँदै


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा जबरजस्ती करणीसहित चार वटा मुद्दामा अनुसन्धान सुरु भएको छ ।

सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनामा पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा चार वटा मुद्दामा आठ जनाविरुद्धपूरक जाहेरी दर्ता गरेका थिए । 

कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा पूरक जाहेरी दर्तापछि सोहीअनुसार अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।

उनले भने, ‘यस घटनाका विषयमा हामीले सुरुबाटै गहिरो अनुसन्धान गरिरहेका छौँ । पूरक जाहेरी आएपछि अब हामीलाई घटनाको सुक्ष्म अनुसन्धानको लागि झन् सहज भएको छ ।’

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो ।

 गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले गत मंगलबार प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेकामा समितिले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो । 

छानबिन समितिका संयोजक कोइरालाले घटना दबाउन ‘बार्गेनिङ’ गर्ने र पञ्चायती बस्ने हाल फरार रहेका बताए  ।  उनले भने, ‘घटना मिलाउन भूमिका खेलेका भनिएका अधिकांश व्यक्ति फरार छन् । भिडियो/फोटाबाट पहिचान गरेर खोजी गरिरहेका छौँ ।’ 

रिङ्कुका बुबा बिजुलिया सदाय छोरीको मृत्युपछि परिवारजन शोकमा डुबेको र विभिन्न पक्षबाट डर–त्रास दिन काम भइरहेको गुनासो गरे । 

यसैबीच घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न सिरहास्थित विभिन्न सामाजिक सङ्घ–संस्थाले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाएका थिए । 

ज्ञापनपत्रमा पीडित परिवारलाई अझै निरन्तर धाक, धम्की, डर त्रास देखाउने काम भइरहेकाले तत्काल भयरहित वातावरणमा बस्ने वातावरण बनाउन आग्रह गरिएको छ । 

मृतकका परिवारलाई भेट्न यहाँ पुगेका मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले दोषीलाई कानुनको कठ्घरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ३ : १० बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन