प्रकृति प्रकरणमा बोल्यो भारत- नेपाली विद्यार्थीको सुरक्षामा सबै कदम चाल्छौँ, दोषीलाई कारबाही हुन्छ « Khabarhub

प्रकृति प्रकरणमा बोल्यो भारत- नेपाली विद्यार्थीको सुरक्षामा सबै कदम चाल्छौँ, दोषीलाई कारबाही हुन्छ


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको गत आइतबार ओडिसाको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा भएको शंकास्पद मृत्यु प्रकरण भारतले पहिलो पटक औपचारिक धारणा सार्वजनिक गरेको छ ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार विदेशी विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको हो । शुक्रबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विदेशी विद्यार्थीहरूको सुरक्षालाई भारत सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

जयसवालले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई दुई देशको सम्बन्धको कडीको संज्ञा पनि दिएका छन् । जयसवालले नेपाली विद्यार्थीको सुरक्षा र जनकल्याणमा आवश्यक सबै कदम चाल्ने बचन पनि दिए । ओडिशाको केआईआईटी कलेजमा भएको प्रकृतिको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि गरिएको ज्यादती प्रकरणबारे पनि उनी बोलेका छन् । नेपाली विद्यार्थी प्रकृति लम्सालप्रति समवेदना प्रकट गर्दै उनले दोषीलाई कानुनी कारबाहीको बचन पनि दिए ।

‘भारत सरकारले हाम्रो देशमा रहेका सबै विदेशी विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई उच्च प्राथमिकता दिएको छ। जहाँसम्म केआईआईटी घटनामा त्यहाँस्थित सरकार, प्रहरी र नेपाली अधिकारीसँग निरन्तर सम्पर्कमा छौँ’, उनले भने, ‘घटनाका देखिएका मुख्य अभियुक्तसहितका आरोपीहरूलाई पक्राउ गरिएको छ। नेपाली विद्यार्थीको सुरक्षा र जनकल्याणका निम्ति भारत सरकारले आवश्यक सबै कदम चाल्नेछ ।’

उक्त घटनापछि ओडिसा सरकारले मुख्यसचिव नेतृत्वको उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको पनि उनले बताए ।

उक्त उच्चस्तरीय समितिको प्रतिवेदन आएपछि दोषीलाई कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता उनले भारत सरकारकोतर्फबाट गरेका छन् ।

घर गएका नेपाली विद्यार्थीलाई कलेजमा फर्काउन ओडिसा सरकारले नै पहल थालिसकेको जानकारी पनि उनले दिए । ‘केही नेपाली विद्यार्थीहरू नेपाल फर्किसकेको अवस्था छ । उनीहरूलाई कलेजमा फर्काउन ओडिसा सरकारले नै पहल थालेको छ’, उनले भने, ‘उनीहरूको सुरक्षासहित अध्ययन अघि बढाउने कुराको पूर्ण प्रत्याभूति ओडिसा सरकारले सुनिश्चित गर्ने बचन दिएको छ ।’

नेपाली विद्यार्थीको सुरक्षाका लागि त्यहाँको स्थानीय र राज्य प्रहरी पनि २४ घण्डा र सातै दिन तैनाथ रहेर सेवा दिइरहेको जानकारी दिए ।

गत आइतबार ओडिसाको भुवनेश्वरस्थित केआईआईटी कलेजमा अध्ययनरत प्रकृतिको शंकास्पद् मृत्यु भएको थियो। उनले आत्महत्या गरेको बताइएको छ। तर त्यही कलेजमा अध्ययनरत एभ्दिक श्रीवास्तवले मानसिक यातना दिँदा घटना भएको उनका साथीहरूले बताएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : ०७ बजे

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले

अन्तरिम अवस्थामा राहदानी सेवा अवरुद्ध हुनसक्ने : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर