प्रचण्डको स्पष्टीकरण- २०८४ सम्म म प्रधानमन्त्री बन्ने रेसमा छैन « Khabarhub

प्रचण्डको स्पष्टीकरण- २०८४ सम्म म प्रधानमन्त्री बन्ने रेसमा छैन


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

पर्सा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् ।

नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगन्ज आएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा राखे ।

उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए । सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम सरकारमा रहँदा गरिएको स्पष्ट पारे ।

आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।’

अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र बेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणी गरे ।

यसअघि आयोजित नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगन्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको बताए ।

संविधान निर्माणको क्रममा नै दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रस्ट पारिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो समयावधि पूरा हुन लागेको भन्दै संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको धारणा राखे । 

त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने जानकारी दिए ।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले आफ्ना समस्या र सुझाव राखेका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रीय पदाधिकारी, मधेस प्रदेशका केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, विभिन्न तहका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

त्यसअघि आज बिहान अध्यक्ष प्रचण्डले वीरगञ्जका विभिन्न स्थानमा मर्निङ वाक गर्दै स्थानीय जनतासँग भेटघाट गरेका थिए । उनीसहितको टोलीले गण्डक बहुअरीबाट मर्निङ वाक सुरु गरी घण्टाघर, मकालु चोक, आदर्शनगर चोक, घडिअर्वा पोखरी, माईस्थान चोक हुँदै विभिन्न स्थानको अवलोकन र स्थानीयसँग संवाद गरेका थिए ।

सो अवसरमा वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै वीरगञ्जका समस्या र आवश्यकताबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  २ : ३५ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा