काठमाडौं– तपाईँले कहिल्यै कसैसँग ऋण लिनुभएको छ ? वा कसैलाई ऋण दिनुभएको छ कि ? आजको समयमा तपाईँलाई कसैले ऋण पत्याउँछ भने त्यो साक्षात् भगवान् सरह हो ।
लेनदेनविना मानिसको गुजारा चल्दैन । ऋणलाई नेपाली समाजमा सहयोग वा सौहार्दताका रूपमा पनि हेरिन्छ । तर, कहिलेकाहीँ यही लेनदेनको विषय ठूलो अपराधमा परिणत हुने गरेको छ ।
यस अपराधको फन्दामा कहिले ऋण दिनेहरू परेका छन् भने कहिले ऋण लिने पनि परेका छन् । विवाद ऋण फिर्ता गर्न आनाकानीबाटै सुरु हुन्छ ।
उदाहरणका लागि केही प्रतिनिधि घटना हेरौँ
गत फागुनमा बर्दियाको ठाकुरबाबा नगरपालिकामा भिनाजुले आफ्नै सालीको हत्या गरे । एक मात्र छोरी अमेरिका गएपछि ५१ वर्षीया एकल महिला राधा बोहरा अभिभावकत्व वा सहारा हुन्छ भनेर दिदी भिनाजुको घरनजिकै एउटा सानो कटेरो भाडामा लिएर बसेकी थिइन् ।
केही वर्ष अगाडि राधाले भिनाजु शान्तबहादुर खत्रीलाई ९० हजार रुपैयाँ ऋण दिएकी थिइन् । तर पैसा पटक–पटक फिर्ता गर्न भने पनि भिनाजुले तिर्ने छाँट देखाएनन् । आफूसँग पैसा नभएको भन्दै उनले टारिरहे । लेनदेनकै कारण उनीहरूको सम्बन्ध बिग्रियो ।
बुढेसकालमा खर्च गर्न हुन्छ र औषधीउपचार गर्नुपर्छ भनेर राधाले रक्सी पारेर बेचेको पैसा जम्मा गरेकी थिइन् । दुःख गरेर आर्जन गरेको पैसा माया मार्न पनि सकिनन् । त्यसैले भिनाजुसँग आफ्नो पैसा माग्न छोडिनन् ।
केही समयपछि भिनाजुले पैसा बराबरको जग्गा दिने कुरा गरे । केही पनि नपाउनुभन्दा जग्गा लिनु उचित थियो । त्यसैले राधाले भिनाजुको प्रस्ताव स्वीकार गरिन् ।
तर, पैसाको सट्टामा दिन लागेको जग्गा विद्युतको हाइटेन्सन लाइनमुनि थियो । त्यस्तो जग्गामा खेतिपाती गर्न जोखिम हुन्छ । बिक्री पनि हुँदैन । राधाले उक्त जग्गा नलिने बताइन् र पुनः नगद नै फिर्ता गर्न आग्रह गरिन् ।
आफूले दिन लागेको जग्गा नलिएपछि साली–भिनाजुबीच फेरि विवाद बढ्यो । त्यसपछि शान्तबहादुरले ऋणको बोझबाट उम्किनका लागि सालीको हत्या गर्ने योजना बनाए ।
उमेरले ६९ वर्षका शान्तलाई एक्लै सालीको हत्या गर्न सजिलो थिएन । श्रीमतीको सहारा लिउँ बहिनी मार्ने योजनामा साथ दिने कुरै थिएन । अन्ततः उनले २४ वर्षीया बुहारीको साथ लिए र राधाको हत्या गरे ।
गाउँलेहरूका अनुसार उनी नामले मात्र शान्तबहादुर थिए, तर निकै रिसालु स्वभावका अशान्त मानिस थिए । हाल शान्तबहादुर र बुहारी उमाकुमारी थुनामा छन् ।
फागुनकै अर्को घटना
बैतडीमा खाना खाँदै गरेका एक युवकलाई नाताले दाइ पर्नेले गोली हानी हत्या गरे । दोगडाकेदार गाउँपालिकाका २३ वर्षीय सुरेन्द्र विष्टलाई ४५ वर्षीय कर्णबहादुर विष्टले गोली हानेका हुन् ।
सुरेन्द्र सधैँ सोही होटलमा खाना खान्थे । उनी जीप चालक हुन् । बेलुका ८ बजेतिर उनी स्थानीय एउटा होटेलमा जिप पार्किङ गरेर अन्य चार जना साथीहरूसँगै बसेर खाना खाइरहेका थिए । सोही समयमा कर्णबहादुरले सुरेन्द्रलाई पछाडिबाट ढाडमा गोली हानेका थिए ।
प्रहरीको भनाइ अनुसार सुरेन्द्रले कर्णबहादुरबाट ४० हजार रुपैयाँ ऋण लिएर तिर्न आनाकानी गरिरहेका थिए । पैसाको विषयलाई लिएर दाजुभाइबीच झगडा परिरहेको थियो । एक पटक झगडामा सुरेन्द्रले दाइ कर्णबहादुरलाई दुई झापड समेत हानेका थिए ।
जुन दाजुले ऋण दिएका थिए, उसैलाई झापड पर्यो । यसो सम्झिने हो भने पीडित दाजु थिए । ऋण पनि दिनु छ । पैसा माग्दा पिटाइ पनि खानु छ । त्यो मनोविज्ञान आफैँमा निकै उदेकलाग्दो हुन्छ । तर, यो समस्याको समाधान हत्या होइन ।
भाइको पिटाइ सहन नसकेपछि दाजुले तँलाई छोड्दिनँ भन्दै धम्की दिएका थिए । अन्ततः कर्णबहादुरले भरुवा बन्दुकले सुरेन्द्रको हत्या गरे ।
हत्यापछि फरार रहेका कर्णबहादुरलाई प्रहरीले जंगलमा समातेको थियो । उनी जंगलैजंगल सीमापारि भारत जाने तयारीमा थिए । हाल उनी थुनामा छन् ।
त्यस्तै केही वर्ष अगाडि रौतहटमा एक पुजारीको गोली हानी हत्या भयो । आर्थिक लेनदेनकै कारण श्रीराम साहलाई मन्दिर परिसरमै गोली हानिएको थियो । काठमाडौंमा कवाडीको काम गर्दै आएका श्रीराम साहलाई मन्दिर परिसरमै गोली हानियो । यसको मुख्य कारण पनि लेनदेन नै थियो ।
उक्त घटनामा प्रहरीले नरेश भन्ने रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरेको थियो । पुजारी साहको रकम रामनरेशका बाबुले ब्याजमा लगेका थिए । उक्त रकम तिर्ने विषयमा विवाद भइरहँदा उनीहरुले पुजारीको हत्या गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको थियो ।
काठमाडौंमा कवाडीको काम गर्दै आएका श्रीरामकी छोरीको नवजात अवस्थामै मृत्यु भयो । छोरीको मृत्यु भएको केही वर्षपछि श्रीमतीको पनि मृत्यु भयो । एक्लो बनेका श्रीराम विक्षिप्त भएर गाउँ फर्किएका थिए । उनी जीवनको उत्तराद्र्धमा आफ्नै पैसा खर्च गरेर मन्दिर बनाई त्यहीँ बस्न थालेका थिए ।
शान्त स्वभावका पुजारी साहले मन्दिर निर्माण भएपछि घरमा त्यति जाँदैनथे । मन्दिरमा आएको भेटीले आफ्नो गुजारा गर्दै आएका थिए ।

लेनदेनको अपराध उच्च
सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेखित तथ्याङ्क हेर्दा पछिल्लो समय लेनदेनका मुद्दाहरु ह्वात्तै बढेको देखिएको छ ।
एक आर्थिक वर्षमा देशभरका अदालतमा ३४ हजार ७३० वटा लेनदेनका मुद्दा परेका छ । जसमा २१ हजार २०१ मुद्दा टुङ्गिसकेका छन् भने १३ हजार ५२९ वटा लेनदेनसम्बन्धी अपराध अदालती प्रक्रियामै छन् ।
सर्वोच्च अदालतमा मात्रै एक वर्षमा ५८० वटा लेनदेनका मुद्दा परेका छन् । त्यस्तै, उच्च अदालतमा २ हजार २३६ र जिल्ला अदालतहरूमा ३१ हजार ९१४ वटा लेनदेनका मुद्दा परेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक लेनदेनमा सबैभन्दा धेरै अपराध : प्रहरी प्रवक्ता
नेपाल प्रहरी केन्द्रीय कार्यालयको तथ्याङक अनुसार अधिकांश हत्या आर्थिक लेनदेनकै कारण हुने गरेका छन् ।
प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा ०८१ को माघसम्म तीन सय जनाको हत्या भएको छ । अघिल्लो वर्ष ६३८ र ७९ सालमा ५२२ जनाको हत्या लेनदेनको विवादका कारण भएको प्रहरीको भनाइ छ ।
लेनदेनको अपराध सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ भने दोस्रोमा लुम्बिनी प्रदेश र तेस्रोमा मधेश प्रदेशमा देखिएको छ । कर्णाली प्रदेशमा भने लेनदेनका कारण ज्यान जाने घटना न्यून देखिएको छ ।
त्यस्तै, ०८१ सालमा लेनदेनसम्बन्धी अपराधमा ७६६ जना अभियुक्त पक्राउ परेका छन् । ०८० मा ८०४ जना र ०७९ सालमा ४४१ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरी केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) दिनेशकुमार आचार्यले सबैभन्दा धेरै अपराध आर्थिक लेनदेनमा भएको बताएका छन् । उनले खबरहबसँग कुरा गर्दै भने, ‘कर्तव्य ज्यान मुद्दामा अहिले सबैभन्दा धेरै अपराध आर्थिक लेनदेनकै कारण भएको देखिन्छ । आर्थिक लेनदेनमा द्वन्द्व बढ्दै जाँदा अपराधमा परिणत भएको छ ।’
उनी अगाडि भन्छन्, ‘नचिनेको मान्छेबाट हत्या हुने भनेको लुटपाट र चोरीमा संलग्न हुनेहरूले गर्ने हो । त्यसमा पनि अपराधीले आफू सुरक्षित हुदाँसम्म उसको उद्देश्य सिर्फ चोर्ने मात्रै हुन्छ । हत्या भने आफू असुरक्षित हुँदाको अवस्थामा हुने गर्छ । तर, चिनेकाबाट नै मानिसहरु अत्यधिक असुरक्षित छन् । पैसा नतिर्ने मनसाय पनि एक प्रकारको चोरी नै हो ।’
ऋण दिँदा धेरै नै होसियारी अपनाउनुपर्ने प्रवक्ता आचार्यको भनाइ छ । ‘एकापसमा सरसापटी नै नगर्नुभन्दा सामाजिक सामञ्जस्य बिग्रन्छ । असल मानवले एक अर्काको सुखदुखमा सापटी दिन्छ । ऋण लिएर कति मान्छेले पढेका छन्, व्यवसाय गरेका छन्, वैदेशिक रोजगारीमा गएका छन्,’ उनले भने, ‘तर केही मान्छे विनाउद्देश्य ऋण लिन्छन् र तिर्न चाहँदैनन् । त्यसले अपराधको रुप लिन पुग्छ ।’
प्रतिक्रिया