तेहरान/तेल अभिभ– इजरायलले इरानको इस्फाहान प्रान्तमा अवस्थित एक मुख्य आणविक केन्द्रमा हवाई आक्रमण गरेको छ । उक्त आक्रमणका बावजुद स्थानीय अधिकारीहरूले विकिरण (रेडियसन) नफुटेको जनाएका छन्।
इजरायल–इरानबीचको तनाव दोस्रो हप्तामा प्रवेश गर्दै गर्दा यो इस्फाहानमा गरिएको दोस्रो हमला हो । इजरायली आक्रमणबाट इरानमा कम्तीमा ४३० जनाको मृत्यु भइसकेको छ भने ३ हजार ५०० भन्दा बढी घाइते छन्। उता इजरायलमा २४ जनाको ज्यान गएको छ।
शनिबार बिहान इस्फाहान शहरको एक पहाडी क्षेत्र नजिक धुवाँ उठेको देखिएको थियो। इजरायली वायु सेनाले उक्त आणविक केन्द्रमाथि रातभर आक्रमण गरेको थियो । यसक्रममा वायु सुरक्षा प्रणाली सक्रिय गरिएको थियो ।
इजरायली सेनाका प्रवक्ता अविचाय अड्राएले भने, ‘यो इस्फाहानको त्यो केन्द्र हो, जहाँ युरेनियम रूपान्तरण गरिन्छ — जुन प्रक्रिया आणविक हतियार निर्माणको बाटोमा सम्वर्द्धनपछि हुने अर्को चरण हो। वायु सेनाले मुख्य संरचनामा आक्रमण गरेको छ। हामी अझै पनि इरानी आणविक परियोजनामाथि आक्रमण गरिरहन्छौं।’
इरानका उपस्वास्थ्य मन्त्री अली जाफरियनले आणविक केन्द्रमाथि आक्रमण भइरहेमा सम्भावित रेडियसन प्रभावितहरूको उपचारको तयारी थालिएको बताए । यद्यपि अहिलेसम्म इजरायलले त्यस्तो हतियार प्रयोग गरेको पुष्टि भएको छैन।
यसैबीच, इरानी सञ्चारमाध्यमका अनुसार इजरायली सेनाले दक्षिण इरानको शिराज शहरमा रहेको एक सैनिक प्रतिष्ठानमाथि पनि आक्रमण गरेको छ।
उता इरानी मिसाइल आक्रमणका कारण तेल अभिभमा पनि ठूलो विस्फोटको आवाज सुनिएको छ । जहाँ केही भवनमा आगलागी भएको देखिएको छ। इजरायली आपतकालीन सेवाहरूले एक बहुतले आवासीय भवनको छानामा आगो लागेको दृश्य सार्वजनिक गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त आगलागी इरानी मिसाइलको टुक्राले भवनमा ठोक्किएर भएको हो।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले शनिबार एक विज्ञप्तिमा इजरायलले कुद्स फोर्सअन्तर्गत प्यालेस्टाइनी कोरका प्रमुख सईद इजादीलाई इरानको कोम सहरस्थित एउटा अपार्टमेन्टमा आक्रमण गरी मारिएको दाबी गरेका छन्।

उनले इजादीलाई हमासलाई हतियार र आर्थिक सहयोग पुर्याउने प्रमुख व्यक्ति भन्दै ‘इजरायली गुप्तचर र वायु सेनाको ठूलो सफलता’ भनेका छन्। इजादीको नाम अमेरिका र बेलायतको प्रतिबन्ध सूचीमा पनि परेको थियो।
यसैबीच, इरानी सरकारका प्रवक्तामध्ये एक फातेमा मोहाजेरानीले अल जजिरालाई दिएको अन्तर्वार्तामा भने, ‘इरान अझै कूटनीतिक संवादको पक्षमा छ। जेनेभामा हाम्रा कूटनीतिज्ञहरू अरूको कुरा सुन्न उपस्थित छन्। तर वार्ता सुरू हुनुअघि अन्तर्राष्ट्रिय समुदायले इजरायली आक्रमणलाई आधिकारिक रूपमा स्वीकार गर्नुपर्छ।’
तेहरानबाट अल जजिराका संवाददाता तोहीद असादीले जनाए अनुसार ‘इजरायलले केवल सैन्य वा आणविक संरचनामाथि होइन, सर्वसाधारण नागरिकमाथि समेत दैनिक रुपमा आक्रमण गरिरहेको’ छ । त्यहीकारण राजधानीमा बसोबास गर्ने धेरैले शहर छोड्न थालेको जनाएका छन्।
इजरायलले आक्रमणको उद्देश्य इरानलाई आणविक बम निर्माणबाट रोक्नु भएको दाबी गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) र अमेरिकी गुप्तचर निकायहरूले इरान आणविक हतियार बनाउने अवस्थामा नरहेको बताउँदै आएका छन्।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने शुक्रबार आईएईए प्रमुख टुल्सी गाबार्डको मूल्यांकन गलत भएको दाबी गरेका छन् ।
प्रतिक्रिया