काठमाडौं- गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरेका ४५ जना शाखा अधिकृतलाई सोमबारदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए ।
‘लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिमपश्चात सोमबारदेखि विमानस्थल अध्यागमनमा खटाएको छ’, उनले भने, ‘अध्यागमन कार्यालयमा प्रमुखका रुपमा आएका सहसचिव घिमिरे पनि हाजिर भइसक्नुभएको छ ।’
विमानस्थलस्थित अध्यागमनको प्रमुखका रुपमा सुरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रुपमा काम गरिसकेका सहसचिव हुन ।
केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो ।
गृह मन्त्रालयले अध्यागमनमा ४५ जना शाखा अधिकृत खटिएपछि त्यही संख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ ।
‘विमानस्थलबाट आएका अधिकृतहरूको मन्त्रालयमा दरबन्दी मिलान हुन्छ’, गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, ‘दरबन्दी भन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालयमार्फत् बाहिर पठाउने काम हुन्छ।’
उनले दरबन्दी अनुसार मात्रै मन्त्रालयले अधिकृतहरु राख्ने बताएका छन् ।
त्यस्तै सरकारले पूर्वमुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसासम्बन्धी समस्या समाधान उच्चस्तरीय अध्ययन एवम् छानबिन समिति यसअघि नै गठन गरिसकेको छ ।
उक्त समितिलाई विदेश जाने-आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानविन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानूनी एवम् संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रस्तुत गर्ने लगायत कार्यादेश दिइएको छ ।
प्रतिक्रिया