काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ प्रस्ताव गरेकी छिन्। मंगलबार बालुवाटारमा भएको दलहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो प्रस्ताव गरेकी हुन्।
दलहरूले राखेको चुनावीको चासोपछि प्रधानमन्त्री कार्कीले भनिन्, ‘राष्ट्रपतिबाट संवादको ढोका खोल्ने काम भएको छ‚ अब जेन-जी र दलहरू सँगै बसौँ।’
प्रधानमन्त्री कार्कीले सरकार तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन तयार रहेको बताइन्। ‘चुनाव गराउन सरकार कटिबद्ध छ’‚ उनले भनिन्, ‘ यसैका लागि अहोरात्र खटिएर मन्त्रीहरू, सुरक्षानिकायलगायत हामी काम गरिरहेका छौँ।’
यस्तै प्रधानमन्त्री कार्कीसँग दलहरूले संवादमा ढिलाइ किन भन्ने प्रश्न गरेका थिए भने जवाफमा प्रधानमन्त्रीले जेन-जी घाइतेहरूको उपचार र शहीदका शव व्यवस्थापन तथा परिवारका लागि राहत जुटाउँदा समय लागेको बताइन्।
‘यसबीचमा घाइतेहरूको उपचार, शहीदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो,’ उनले भनिन्, ‘त्यसमा समय लाग्यो। सुरुवाती अवस्थामा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्न नै चाहनुभएको थिएन।’
उनले चुनाव सफल बनाउन र दलहरूको चासो सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पारिन्। ‘ जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट भूमिका खेलौँ,’ उनले भनिन्, ‘ सरकार यहाँहरूका चिन्ता र चासो सम्बोधन गर्न तयार छ।’
प्रतिक्रिया