कागती बिक्री नभएपछि रस र चुक बनाइँदै « Khabarhub

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन् ।

जाडो मौसममा कागती दानाको माग कम हुँदा बजारमा खपत हुन नसकेकाले बिग्रिन नदिनका लागि चुक बनाएको वालिङ–१४ स्थित न्यौपाने नर्सरी कृषि तथा पशुपालन फार्मका सञ्चालक प्रकाश न्यौपानेले बताए ।

व्यावसायिक रूपमा कागतीखेती गर्नुभएका न्यौपानेले झण्डै छ क्विन्टल कागतीको दाना बिक्री गर्नुभयो । जाडो लागेसँगै बिक्री नभएको चार क्विन्टल कागतीबाट रस तथा चुक बनाएका हुन् ।

‘कागतीको दाना बोटबाट दैनिक झर्न थाले, यता बजारमा खपत भएन’, उनले भने, ‘दाना कुहाएर फाल्नुभन्दा विकल्पका रूपमा लामो समयसम्म रहने भएकाले चुक र केही समयसम्म रहने भएकाले रसको रूपमा परिणत गरी बिक्री गर्न थालेको छु ।’

कागतीको चुकको बजार माग राम्रो रहेकाले पनि वैकल्पिक विधि अपनाइएको हो । चुक प्रतिलिटर एक हजार ६०० रुपैयाँका दरले बिक्री हुने गरेको छ ।

स्थानीय अगुवा किसान न्यौपानले जस्तै यस ठाउँमा रहेका अन्य किसानले पनि उत्पादन गरेका कृषिजन्य वस्तुले बजार नपाएपछि वैकल्पिक विधि अपनाएका छन् ।

वालिङ–१४ र भिरकोट नगरपालिका–९ का व्यावसायिक किसानले उत्पादन गरेको सागसब्जी, फलफूललगायत सामग्रीको आगामी दिनमा सहकारीमार्फत सामूहिक रूपमा बजारीकरण गर्ने तयारीमा स्थानीय रहेका छन् । मौसमी तथा बेमौसमी जातका सागसब्जी, सुन्तला, कागती, च्याउ, मह, अकबरे खुर्सानी, अदुवाको व्यावसायिक उत्पादन गर्दै आएका यहाँका किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले सहजै बजार नपाएपछि सहकारीमार्फत बजारीकरण गर्ने तयारीमा छन् । भौगोलिक र यातायातका दृष्टिले विकटमा रहेकाले पनि बजारीकरणमा समस्या भएको हो ।

वालिङ– १४ अमलडाँडाका व्यावसायिक कागतीखेती गर्ने किसान यामप्रसाद पौडेलले साउनदेखि यता झन्डै आठ टन कागतीको दाना बिक्री गरेको बताए । जाडो लागेसँगै कागती बिक्री हुन छाडेपछि एक टन जतिको पेलेर रस बनाएका छन् । उनीसँग अहिले पेलेको रस झन्डै पाँच सय लिटर छ । (रासस)

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १० : ४० बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने