सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित « Khabarhub

समाचार टिप्पणी

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित



काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि बनेको शुशिला कार्की नेतृत्वको सरकारले १ सय दिन पूरा गरेको छ । आगामी फागुन २१ गते निर्वाचन गराउने शर्तमा भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्ति कार्की नेतृत्वको सरकारले संसदीय परम्पराअनुसार ‘हनिमुन’ समय पार गरेको हो ।

तर, भ्रष्टाचार, नेपोटिजम, लगायत राजनीतिक विसंगतिविरुद्धको भीमकाय विद्रोहको जगमा बनेको सरकारले आफ्नो हनिमुन समयमा अपेक्षित सकारात्मक सन्देश दिन सकेको छैन ।

तोकिएको मितिमा चुनाव हुने नहुने पनि अलमल छ । आजको दिनसम्म चुनाव हुने–नहुने विवाद कायमै छ । यसका साथै, जेन–जी आन्दोलनको मुख्य माग भ्रष्टाचारको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने एजेन्डलार्ई सरकारले नै तुहाइदिन खोजेको देखिँदैछ । केही मसिना सुधारका पहलबाहेक सरकारको मूल स्पिरिट हेर्ने हो भने परम्परागत विकृत राजनीतिक शक्ति र सत्तालाई भत्काउनै नचाहेको तस्बिर देखिँदैछ ।

मन्त्रिपरिषद् बनाउनै ३ महिना

जेन–जी आन्दोलनपश्चातको राजनीतिक अनिश्चितताबीच कुनै न कुनै ढंगले अन्तरिम वा सर्वपक्षीय सरकार बन्न आवश्यक थियो ।

भदौ २३ र २४ पछिको समयमा तत्कालै दलको नेतृत्व वा सहभागितामा अन्तरिम या सर्वपक्षीय सरकार निर्माणको सम्भावना थिएन । त्यसैले त्यस समयमा पैदा भएको शक्ति सन्तुलनका आधारमा सुशीका कार्की अन्तरिम सरकारको नेतृत्व गर्ने ठाउँमा आइपुग्नुलाई अस्वभाविक मान्न सकिँदैन ।

तर, भीमकाय जेन–जी आन्दोलनको जनादेश र बलमा अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले तीन महिनसम्म पूर्ण मन्त्रिपरिषद् बनाउन सकिनन् । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त कार्कीले २९ गते पहिलोपटक आफूसहित तीन सदस्यीय मन्त्रिपरिषद् बनाइन् । उनले चौथोपटक मंसिर २६ गते मन्त्रिपरिषद् विस्तार गरेर १४ सदस्यीय बनाएकी छन् ।

गम्भीर राजनीतिक परिस्थितिमा देशको कार्यकारी नेतृत्व गर्न पुगेकी प्रधानमन्त्री कार्कीले किन समयमै आवश्यकता अनुसारको बलियो मन्त्रिपरिषद् बनाएर नयाँ सन्देश दिनेगरी कामको सुरुवात गरिनन् वा गर्न चाहिनन्, यो गम्भीर विषय छ ।
कमजोर मन्त्रिपरिषद् निर्माण

प्रधानमन्त्री कार्कीले ३ महिना लगाएर चौथो पटक विस्तार गरेको मन्त्रिपरिषद् पनि त्यति प्रभावकारी छैन । विशेषतः जेन–जी आन्दोलनको बलमा सुशासनको जनादेशसहित बनेको सरकारका मन्त्रीहरूले छोटो समयमै नयाँ सन्देश दिने गरी काम गर्न खोजेको वा चाहेको देखिएको छैन ।

अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि हेरिरहेका रामेश्वर खनालले अर्थ मन्त्रालय सम्हालेलगत्तै खर्च कटौती लगायत केही सुधारका काम थाले । तर, ती कार्यक्रमले अर्थतन्त्र र शुसासनको क्षेत्रमा दीर्घकालीन निर्माण गर्न सक्दैनन् ।

महावीर पुनले शिक्षा मन्त्रीको जिम्मेवारीमा आएदेखि उनको कार्यक्षेत्रमा सकारात्मक प्रभाव पार्ने कुनै नीतिगत वा कार्यक्रमिक निर्णय गरेका छैनन् । शिक्षा क्षेत्रमा सुधारको पहलको माग गर्नेलाई उनले उल्टै चुनाव जितेपछि गरेर देखाउन ओंठे जवाफ फर्काउने गरेका छन् ।

कानुन क्षेत्रका विज्ञ चिनिएका गृहमन्त्री ओमप्रकाश अर्याल नियमित काममा मात्रै बढी व्यस्त छन् । उनले जेन–जी आन्दोलनमा सहिद र घाइते भएका परिवारलाई सम्बोधन गर्ने प्रयत्न गरे ।

अर्यालले मन्त्रालय सम्हालेसँगै केही मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) थप सक्रिय भएर मुद्दा चलाएको देखिएको छ । तर, पनि विगतदेखि अल्झिएका ठूला मुद्दामाथि थप कारबाही र नयाँ मुद्दाले गति लिन सकेको देखिँदैन ।

तीनवटा मन्त्रालय सम्हालेका कुलमान घिसिङको सक्रियता निकै देखिएको छ । उनले लामो समयदेखि रुग्ण विभिन्न क्षेत्रका सयौं आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । निजी क्षेत्रका सरोकारवालाले कमजोरीको समीक्षा नगरी ठेक्का प्रक्रिया तोड्दा आयोजना थप धरासायी हुने भन्दै प्रतिक्रिया दिएका छन् । त्यस्तै, पछिल्लो समयमा भारतबाट बिजुली आपूर्तिको निर्णय पनि विवादास्पद बन्न पुगेको छ ।

तर, सडकका खाल्डा पुर्नेदेखि धेरै आयोजनास्थल पुगरे समयमै काम सम्पन्न गर्न दबाब दिने काम घिसिङले गरेको देखिएको छ । तर, विकास निर्माणको क्षेत्रमा नयाँ मानक निर्माण गर्नेगरी नीतिगत र कार्यक्रमिक क्षेत्रमा सुधारको पहल उनले गरेको देखिँदैन ।

किस्ता किस्तामा नियुक्ति भएकाले अन्य मन्त्रीहरूबाट उल्लेख्य पहल र कदम चालेको पाइँदैन । खासगरी म्यान्डेटअनुसार निर्वाचनको वातावरण तयार गर्न र शुसासनको पहलमा मन्त्रिपरिषद्को बलियो एकता र प्रभावकारी पहल कम भएको देखिन्छ । त्यहीकारण दलहरू अहिले पनि सशंकित देखिएका छन् ।

विवादित व्यक्तिलाई छानबिनको जिम्मा

अन्तरिम सरकारले असोज ५ गते मन्त्रिपरिषद्को बैठकमार्फत् पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जेन–जी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्यो‍ । तर, कार्कीले आयोगको नेतृत्व गर्नुपूर्व नै सामाजिक सञ्जालमार्फत् आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गरिसकेका थिए ।

जसले तत्कालीन अवस्थामा दुईतिहाइको सरकारको नेतृत्व गरेको नेकपा एमालेले जाँचबुझअगावै धारणा सार्वजनिक गरेका व्यक्तिको नेतृत्वमा बनेको आयोगलाई नमान्ने बताउँदै आएको छ ।

आयोगले तीन महिना बितिसक्दा पनि जेन–जी आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग सोधपुछ या बयान लिन सकेको छैन । पूर्वप्रधानमन्त्री ओलीको बयान लिन खोजिए प्रतिवाद गर्ने एमालेका नेताले बताइरहेका छन् ।
भ्रष्टाचारसम्बन्धी आयोगमा आनाकानी

जेन–जी आन्दोलनको मुख्य एउटा एजेन्डा थियो भ्रष्टाचारको छानबिन । प्रधानमन्त्री कार्कीले पनि आफूलाई सुशासनको पक्षधरका रुपमा चिनाउने गरेकी थिइन् । सरकारले भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनु पर्ने उनैले बताउँथिन्। तर, हनिमुन समय गुजार्दासमेत ठोस कदम चाल्न सकेकी छैनन् ।

जसले कार्कीको जेन–जी आन्दोलनको जनादेश र उनकै ससासन प्रतिको प्रतिबद्धतामा आशंका पैदा गरेको छ । कतै कार्कीले जेनजीको बलमा सरकारमा पुगेर जेनजी भावनालाई नै कुण्ठित गर्न त लागिरहेकी छैनन् भन्ने सम्म आशंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

विवादित व्यक्तिको संरक्षण

सुशासनको वकालत गरेर सदाचारीको छवि बनाएकी प्रधानमन्त्री कार्की अन्तरिम सरकारको नेतृत्व गर्दा त्यही कोणबाट विवादित बनेकी छन् । उनी सचिवालयमा एउटै परिवारका सदस्यहरूको नियुक्तिदेखि विवादित निर्णय गर्नेहरूलाई संरक्षण गर्न लागेको देखिएको छ।

जेन–जी आन्दोलनपछि सरकारले कर्मचारीतन्त्रमा सुधारको लागि कुनै नीतिगत, कार्यक्रमिक वा व्यवहारिक पहल गरेको देखिँदैन । तर, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र शाक्य हटाउने ऊर्जामन्त्री घिसिङको प्रतिशोधपूर्ण निर्णयलाई प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को बैठकबाट मञ्जुरी दिइन् ।

त्यतिमात्रै होइन, किशोरीको डिम्ब खरिद–बिक्री जस्तो गम्भीर प्रकरणमा जोडिएकी महान्याधिवक्ता सविता भण्डारीलाई हटाउन चाहिनन्, छानबिनसमेत नगरी संरक्षण गरेर राखिन । त्यस्तै, अर्थमन्त्री खनालले अगाडि सारेको डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिने विवादित विषयलाई पनि प्रधानमन्त्रीले संरक्षण दिइन् ।

चुनावी वातावरण बनाउन असफल

अन्तरिम सरकारले पाएको मुख्य म्यान्डेट आगामी फागुन २१ गते निर्वाचन गर्ने हो । तर, कार्की नेतृत्वको सरकारले अहिलेसम्म मुख्य राजनीतिक दल र आन्दोलनका पक्षधरबीच चुनावका लागि समझदारी गर्न सकेको देखिँदैन ।

०७९ सालको मतपरिणामका आधारमा सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाललेले कार्की नेतृत्वको सरकारले निर्वाचन गराउन नसक्ने धारणा राख्दै आएको छ । ठूला दल एमाले र कांग्रेस दुवै पार्टी संसद पुनःस्थापनको माग राखेर सर्वोच्च अदालत गएका छन् ।

यही आइतबारदेखि सरकारले जेन–जी आन्दोलनको भावनाअनुसार काम गर्न नसकेको भन्दै मिराज ढुंगाना नेतृत्वको समूहले आन्दोलनको घोषणा गरेको छ । सरकारले मुख्य परम्परागत दल र जेनजी दुवैपक्षसँग निर्वाचन निर्वाचनको वातावरण बनाउन नसकेको देखिएको छ। जसले फागुन २१ गते चुनाव नभए देश अर्को संकटतिर धकेलिने जोखिम बढेको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ५ : ५३ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने