सहरी ग्वालाको दुखेसो- 'गोठालो भनेर घृणा गर्छन्' | Khabarhub Khabarhub

सहरी ग्वालाको दुखेसो- ‘गोठालो भनेर घृणा गर्छन्’

आफ्नै माटोमा उद्यम गर्न सल्लाह


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

शहरका अग्ला अग्ला घर । हरेक पेशा, व्यवसायका मानिसको खेलोफड्को चार आना जग्गा, चार पाङ्ग्रे र विदेश हाँकिने विषयमा केन्द्रित भइरहँदा केही अपवाद पात्र छन् , जो यही भीडभित्र गाई गोठभित्र गोबर फाल्न, खोलेफाँडो तयार गर्न व्यस्त छन् । न, उनीहरूलाई केही नपाएको गुनासो छ, न राज्यप्रति आक्रोश छ, न कामप्रति असन्तुष्टि नै । उनीहरूको तन, मन धन भनेकै गोठमा रहेका गाई हुन् । बरु गाईको स्याहारमा तलमाथि भयो भने दूधको नापतौल नपुगेर ग्राहक फर्केलान् कि भन्ने चिन्ताले दिनरात सताइरहन्छ ।

कृषि प्राविधिक पढेका खगेन्द्र कटुवाल आफ्नै घर मोरङमा बसेर काम गर्दै थिए । सानो कमाई र परिवारको खर्च बढेपछि अलि गतिलो कमाईको खोजीमा थिए । उनको हुटहुटी थाहा पाएपछि दलाल पछि लागे । कुवेतको प्रतिष्ठित कम्पनीमा काम पाइने लोभ देखाइयो । उनी तत्काल काठमाडौं आए । तर, दलालले बिरालोले मुसा खेलाएझैं वल्लो घाट न पल्लो घाट बनाएर छोडे । घर फर्कन पनि स्वाभिमानले दिएन । 

अनि फैसला गरे– ‘आफ्नै काम गर्छु , स्वाभिमानको काम गर्छु ।’ यस लगत्तै पत्नी गंगालाई घरबाट बोलाए । घरसल्लाह गरे । ऋणपान गरेर गाईको जोहो गरे । जग्गा भाडामा लिए । १८ वर्षअघि काठमाडौं आएका खगेन्द्र अहोरात्र गाईको सेवामा तल्लीन छन् । आफ्नो कामप्रति गौरव गर्ने उनी यही आम्दानीबाट घर व्यवहार, सन्तानको शिक्षा दीक्षा धानिएकोमा सन्तुष्ट छन् । 

 काठमाडौं अनामनगरको देवीनगरस्थित सडक किनारमा जस्ताले छाएको झुपडी छ । सो झुपडीमा पुग्दा गाउँघरको झझल्को मेटिन्छ । त्यो झुपडी पुग्ने हर कोहीलाई गर्ने स्वागत सत्कार पनि गाउँघरकै जस्तो छ । भलै झुपडी छ तर, त्यै झुपडीभित्र बस्ने कटुवाल परिवारको मन फराकिलो छ । 

खगेन्द्र जेटीए भएकै कारण पनि पशुसम्बन्धी विषयमा जानकार हुने नै भए । अर्को सजिलो के भयो भने उनकी दिदीले पनि काठमाडौँमै बसेर गाई पालन गरिरहेकी थिइन्, जुन ठाउँमा आज खगेन्द्र गाई पालन गरिरहेका छन् । दिदी र भाइको सल्लाहबमोजिम उनले सो गाई फार्म आफूले सम्हाल्ने योजना बनाए ।

 उनी भन्छन् ‘अब यो व्यवसायभन्दा अरु केही गर्ने योजना छैन ।’ 

श्रीमती गीता उनको साथमा छिन् । उनीहरूका दुई छोराछोरी छन् । छोरा स्नातक तह चौथो वर्षमा अध्ययन गरिरहेका छन् । छोरी कक्षा ८ मा पढ्छिन् । 

४५ वर्षमा हिँड्दै गरेका कटुवाल भन्छन् ‘कुनै पनि मानिसलाई जुन कुराले सन्तुष्टि मिल्छ त्यही काम गर्नुपर्छ । म भेटेरिनरी प्राविधिक थिएँ । मसंग जुन विषयको ज्ञान थियो, मैले त्यही गरिरहेको छु ।’

 उनले गाई पालन गरिराखेको जस्ताले बेरेको झुपडी भाडाको हो । भित्तामा इँटा लगाइएको छ भने छानो जस्ताको छ । जस्ताले बेरेको त्यो गोठमा एकातिर गाई बाँधिएको छ भने अर्कातिर कटवाल परिवार बस्छन् । 

‘मासिक २० हजार भाडा तिर्नुपर्छ । तर पनि आनन्द छ । मलाई यो भन्दा ठूलो आशा छैन’ उनले भने ।

गोठमा १० वटा गाई छन् । तीमध्ये ४ वटाले दूध दिन्छन् । यी गाईबाट महिनामा १ हजार लिटर दूध उत्पादन हुन्छ । यही आम्दानीबाट गाई र आफ्नो परिवारको घर सामान्य तरिकाले धानेको खगेन्द्रले बताए । 

‘घिउ, मही बेच्दैनौँ दूध नै सबै बिक्री भइहाल्छ’, ‘दूध बेच्न डेरी धाइराख्न नपर्ने उनी बताउँछन् । बिहान यहीँ वरिपरिको परिवारले दूध लैजाने र महिना मर्नेवित्तिकै पैसा दिनुहुन्छ’ उनले भने ।   

अझै विदेश जाने सोच आउँदैन र ?भन्ने प्रश्नमा उनी भन्छन् ‘जानुपर्ने बेलामा त विदेश त्यागेर बसेको हुँ । म त भन्छु छोरोले पनि विदेश नजाओस् ।’

 एक्लै बस्दा पनि आफ्नै ज्यान पाल्न त धौ धौ पर्ने सहरमा उनले आफ्नो परिवारसँगै बाँकी १० वटाको पनि ज्यान पालेका छन् । झट्ट सुन्दा काठमाडौँको त्यो पनि घना बस्ती भएको अनामनगरमा गाई पालन कसरी सम्भव भन्ने लाग्छ । तर, कटुवालले भने सहजै धानेका छन् । 

उनको दैनिकी बस्तुभाउकै हेरचाह र गोबर सोहोर्दै बित्छ । यसैमा रमाउने बानी भइसकेको उनी बताउँछन् । गाई वस्तुलाई खुवाउने घाँस, पराल, कुँडोको व्यवस्थापन गरिरहेका छन् । घाँस पराल धेरै खपत नहुने रहेछ । एकातिर एक छाकका लागि सडकमा मागेर बस्ने र अर्कातिर मीठा र महँगा बस्तु ढलमा फाल्ने दृश्यबाट भने खगेन्द्र द्रवित हुन्छन् । 

 खेर जाने बस्तुको सदुपयोग गरेर कसैको प्राण धानिन्छ भने जोकसैले त्यो काम गर्नुपर्ने मत उनको छ । उनी सम्भव भएसम्म खेर जाने बस्तु पशु प्राणीको हितमा उपयोग गर्न आव्हान गर्छन् । अहिले छिमेकीहरूले पनि आ–आफ्नो भान्छाबाट निस्किने खेर गएको खानेकुरा गाईका लागि दिने गरेको खगेन्द्र बताउँछन् । यसबाहेक सब्जीमण्डीबाट कुहिएको काम नलाग्ने तरकारी ल्याएर गाई वस्तुलाई खुवाउने गरिएको छ ।

काठमाडौंका सरकारी र सार्वजनिक  स्थानहरूमा पलाएको अनावश्यक घाँस काट्न पनि आफूहरूलाई बोलावट आउने गरेको जानकारी खगेन्द्रले दिए । गोठमा घाँस, पराल जोहो गरेर राखिएको छ ।  खुवाउने केही नहुँदा, मध्य बर्खाको समयमा भण्डारण गरेकै परालबाट गाईको भोक मेटाइन्छ । दैनिक प्रयोगमा आउने खेर गएका चिज बस्तुबाटै पनि गाई पाल्न सकिने उनको भनाई छ ।     

 पसिनाको कमाइमा आनन्द

उनले विदेशमा पसिना बगाएको अनुभव त गरेका छैनन् तर, लाखौँ नेपालीको दुख, पीडा भने देखेका छन्, सुनेका छन् । 

भन्छन्, ‘उबेलामा सारो रहर थियो विदेशी लाहुरे बन्ने । आज आएर लाग्छ त्यो दास बन्नु पो रहेछ । इमानदार, अनुशासित, लगनशील र मेहनतीले नेपालमै पनि राम्रो आम्दानी गर्न सक्छ ।’ 

कसैको कुभलो चिताएर, कसैलाई लुटेर खानुभन्दा मेहनतको ढिँडो पनि चौरासी व्यञ्जनभन्दा कम हुँदैन ।

 रोजगारीका लागि देश छोडेर बाहिरिनेलाई लक्षित गर्दै खगेन्द्र भन्छन्–‘धन कमाउन नसकिएला । तर पेट पालोका लागि सानोभन्दा सानो व्यवसाय यथेष्ट हुन्छ । व्यवस्थालाई मात्र दोष दिन पल्केका छौँ, कतिपय कुरामा आफूलाई पनि मुल्यांकन गर्नुपर्छ । खाडीमा पसिना चुहाउनुभन्दा नेपालको शीतल हावापानीमा बिस्तारै आफ्नो धन्दा गरे सहजै परिवार चल्छ ।’

आफ्नो स्वर्गजस्तो मुलुक छोडेर पराईको भूमिमा जान गलत रहेछ भन्ने उनको चेत खुलेदेखि सबैलाई विदेश नजान नै सुझाउँछन् । उनको नजरमा देश पछाडि पर्नुको कारण नै युवा पुस्ताको विदेशिने रहर नै हो । पराया देशमा जस्तोसुकै काम गर्न तयार हुने नेपाली युवा आफ्नो देशमा केही गर्न पनि लजाउँछन् । पछिल्लो पुस्तालाई अभिभावकले नै गलत संस्कार दिने गरेको उनको ठम्याई छ । 

 गाई पालकलाई हेपेकोमा आक्रोश

‘गाईको दूध, घिउ, मोही सबैलाई मन पर्छ तर गाईको हेरचाह गर्ने मान्छे देख्दा टाढैबाट नाक खुम्च्याउँछन्’ उनले भने । यो पेसा अपनाएकोमा पछुतो नलागे पनि मान्छेहरूले हेपेर बेल्दा चित्त दुख्ने गरेको खगेन्द्रले सुनाए ।

‘गाईसँगै बिहानीको सुरुवात हुन्छ, उनीहरूसँगै दिन अस्ताउँछ । म यसैमा खुसी छु । कसैको चाकडी गर्नुपरेको छैन । कसैसँग हात फैलाउन परेको छैन । आफ्नो गरी खाएको छु’ उनी थप्छन्– ‘यही पेशाबाट छोराछोरीलाई राम्रो शिक्षा, दीक्षा दिन पाएको छु । छोराछोरी जे बन्न चाहान्छन्, जस्तो पढ्न चाहान्छन् त्यो पूरा गरेरै छोड्छु । मेरो पेशालाई घृणा गर्ने र मेरा बच्चा एउटै स्कुल, कलेजमा पढ्छन् । कसैको लागि नराम्रो बन्न नपरोस् । बाँकी कसैले हेला गरेर, हेपेर मलाई केही फरक पर्दैन’ ।

 खगेन्द्र गाईसंगै कुखुरा पनि पालेका छन् । यसबाट पनि सामान्य आम्दानी हुने गरेको छ । 

अनामनगरमै गंगा कटवालले पनि गाई पालन सुरु गरेको १३ वर्ष भयो । मोरङबाटै काठमाडौं आएर श्रीमान् श्रीमतीले नै गाई पालन गरिराखेको उनले बताइन् । खासगरी लोकसेवा आयोगको तयारीकै सिलसिलामा काठमाडौं पुगेका दम्पतीले सरकारी जागिर नखाएर आफ्नै व्यवसायमा लागेको पृष्ठभूमि उनले सुनाइन् । 

भनिन् ‘कयौँ पटक लोकसेवा आयोगमा भिडेँ नाम निस्केन । श्रीमानलाई त झन् तयारी गर्नु , पढ्नु भनेर इन्डियासम्म पठाएँ । दुवै जना असफल भयौँ । भाग्यमा गाई पाल्नुरैछ र !’

अहिले सामान्य तरिकाले घर चलिरहेको गंगाले बताइन् । सानो जग्गा भाडामा लिएर सो व्यवसाय सञ्चालन गरिरहेको र मासिक ३५ हजार भाडा तिर्ने गरेको बताइन् । 

‘पहिले दुई परिवार मिलेर बसेका थियौँ, भाडा पनि मिलेर तिर्ने हुँदा सहज हुन्थ्यो । अहिले अर्को परिवार गाउँ गइसकेपछि आफैँलाई भार परेको छ’ उनले भनिन् ।

गंगाका दुई छोरा छन् । गाई पालेरै छोराहरू पढाएकी छन् । तर, छोराहरूको पढाई सकुन्जेलसम्म मात्रै काठमाडौं बस्ने त्यसपछि गाउँ नै फर्किने योजना रहेको उनले बताइन् । खगेन्द्रजस्तै गंगाले पनि गाईको आहाराको लागि विशेष गरी खेर गएको खानेकुरा, काम नलाग्ने तरकारीबाटै व्यवस्थापन मिलाइरहेकी छन् । 

गंगाका अनुसार उनका श्रीमान दैनिक बिहानै टुकुचा जान्छन् । त्यहाँबाट खेर गएका तरकारी ल्याउनुहुन्छ । भान्छाबाट निस्कने, खेर जाने खाद्यसामग्री गाईको खुराक बन्छ । यसबाहेक घाँस पराल सर्लाहीबाट ठेक्कामा ल्याउने गरिएको छ । 

‘पछिल्लो समयको बालबच्चाहरूले गाई कस्तो हुन्छ भनेर चिन्दैनन् । विभिन्न मन्टेश्वरीहरुबाट बालबालिकालाई गाई देखाउन भनेर ल्याउँछन् । बालबालिकाहरुको लागि भ्रमण गर्ने, केही सिक्ने ठाउँ पनि आफूले बनाएको रहेछु जस्तो लाग्छ’ उनले भनिन् ।

यस्तै फिल्म सुटिङको क्रममा पनि सो ठाउँमा आउने गरेको बताइन् । कोरोना लकडाउनको समयमा धेरै टाढा जाने अवस्था नहुँदा छायाङ्कनको लागि यसै ठाउँ रोज्ने गरेको उनको भनाई छ । 

 दूधले धानेको घर संसार

जुन कुनै काम पनि मेहनत नगरी खान पुग्दैन । दुख गर्नुपर्छ । गंगाले पनि सानोबाट सुरु गरेर आज यो स्थानसम्म आई पुगेको बताइन् ।

कतिपयले खिसीको शैलीमा जाबो गाई पालेर के गर्छौ ? भने तर, आफू भने यही काममा रमाइरहेको उनले बताइन् । १५ वटा गाई पालेकी गंगाले व्यवस्थित तरिकाले हेरचाह गरिरहेकी छिन् । वार्षिक ५–६ वटा गाई लैनो हुन्छन् । दूध बेचेरै सन्तानको पढाई र घर खर्च चलिरहेको छ । दूध किन्ने सबै आफ्नै घरमा आउने गरेको उनले बताइन् ।

‘सबै घरमै आएर दूध लिएर जान्छन् । बिहानको दूध बच्चा र बेलुकाको बुढापाकालाई भनेर लाने गरिएको छ । डेरीसम्म धाउनुपर्दैन । आफ्नो सेवाले छिमेकीहरूलाई फाइदा भएको छ ’ गंगाले भनिन् । 

छोराले पनि विदेश जान नपरोस् भन्ने चाहन्छन् कटुवाल दम्पती । अर्कोको ठाउँमा दुख गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउनु राम्रो हुने उनको सोचाइ छ । आफूले सरकारी जागीर खान नसके पनि छोराले नेपालमै जागिर खाओस् भन्नेमा छिन् गंगा । रातोदिनको श्रमबाट गंगाले पाएको शिक्षा हो– ‘ठूलोमा आँखा लाएर दुख मात्रै पाइन्छ । सानोबाटै आरम्भ गर्ने हो । 

यी शहरका ग्वाला खगेन्द्र र गंगालाई सरकारी सहयोग के हो भन्ने थाहा छैन । गाईवस्तु कति बेला के हुन्छ पत्तो हुँदैन । यसबाट उनीहरूले बर्सेनि लाखौँ गुमाउनु परेको छ । एकातिर अर्ग्यानिक खानपानको विषयमा बहस चलिरहँदा आफूहरूले गरेको कामप्रति कसैको चासो नगएकोमा भने उनीहरूलाई अचम्म लागेको छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ५ : ३५ बजे

इटहरी गोल्डकपः उपाधि मच्छिन्द्र क्लबलाई

सुनसरी – पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने

क्यानभासमा स्वयम्भू !

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

कैलाली – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल

पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका प्रदर्शनकारी र