कलाकृति र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी : मुख्यमन्त्री आचार्य « Khabarhub

कलाकृति र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी : मुख्यमन्त्री आचार्य


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कलाकृति र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी रहेको बताएका छन्। आजदेखि बुटवलमा सुरु भएको प्रदेशस्तरीय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै उनले कलाकृति र सीपलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन सकिने भएकाले यसतर्फ लाग्न कलाकारलाई आग्रह गरे। 

लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको भन्दै मुख्यमन्त्री आचार्यले कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए। लुम्बिनीको माटोबाट बुद्धको मूर्ति निर्माण गरी विश्व बजारसम्म पुर्‍याउन सकिने उनको धारणा थियो ।  

मुख्यमन्त्री आचार्यले प्रदर्शनीमार्फत ललितकला विधाका कलाकृतिहरूको संरक्षण र प्रवर्द्धन हुने विश्वास व्यक्त गरे।

‘कला कुनै पनि राष्ट्रको पहिचान, संस्कार तथा सभ्यताको अमूल्य सम्पत्ति हो । यस्ता प्रदर्शनीले नेपाली ललितकला क्षेत्रको प्रवर्द्धन गर्दै नवप्रतिभाहरूलाई उत्प्रेरित गर्ने छ’, उनले भने,’विविध सांस्कृतिक सम्पदाको अभिव्यक्तिसँगै समाजका विभिन्न पक्ष उजागर गर्ने माध्यमका रूपमा यस्ता गतिविधि फलदायी साबित हुनेछन् ।’

मुख्यमन्त्री आचार्यले सरकारले भाषा, साहित्य, कला, संस्कृति र इतिहासको संरक्षण र विकासका लागि प्रज्ञा–प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइसकेको जानकारी गराए। उनले विधेयक तर्जुमा प्रक्रिया जारी रहेको र सबै पक्षलाई समेटेर ऐन तयार पारिने बताए। 

ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले तीनै तहका सरकारले कलाकार तथा सिर्जनाकर्ताहरूको पहिचान र प्रवर्द्धनमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको बताए। 

लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा ऐतिहासिक कलाकृतिको संरक्षणलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताए। बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलमा स्थानीय र ऐतिहासिक पहिचान झल्कने चित्रहरू कोरिने बताए।

कार्यक्रममा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीका अध्यक्ष दिलीप रसाइली, रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटालगायतले सम्बोधन गरेका थिए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुरु भएको  प्रदर्शनी फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा चित्र, मूर्ति, लोककलामार्फत लुम्बिनीलाई चिनाउन खोजिएको आयोजकले जनाएको छ । 

प्रदेशका १२ जिल्लाका एक सय २३ कलाकारका एक सय ८० कलाकृति प्रदर्शनीमा राखिएका छन् । 

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : ०९ बजे

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल

चितवन– सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई

लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामा : परराष्ट्रमन्त्री

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिबद्ध छौँ : महामन्त्री आचार्य

विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस

धुलाबारी खानेपानी आयोजना १३ महिनाअघि नै सम्पन्न

झापा–  झापाको मेचीनगर नगरपालिका–९ मा निर्माण भएको धुलाबारी खानेपानी आयोजना

‘एक्लै हो म’ मा राजेशनाथसँग बिना राउतको रोमान्स

काठमाडौं– अभिनेता तथा गायक राजेशनाथको स्वरमा रहेको गीत ‘एक्लै हो