आरतीले ‘अपमान भयो’ भनेपछि जब माधव नेपाल मञ्चबाट आक्रोशित हुँदै उठे | Khabarhub Khabarhub

आरतीले ‘अपमान भयो’ भनेपछि जब माधव नेपाल मञ्चबाट आक्रोशित हुँदै उठे

सम्मानित नेता खनालले लिखित रुपमै राखे असहमति



काठमाडौं-  नेकपा एमाले फुटाएर २०७८ साल भदौ ९ गते निर्वाचन आयोगबाट दलको प्रमाण पत्र लिएको नेकपा (एकीकृत समाजवादी) भित्र सल्किएको भुसको आगो फैलिएर विपद् निम्त्याउने अवस्थामा पुगेको छ ।

बाहिरबाट झट्ट हेर्दा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको आपसी जुँगाको लडाइँ जस्तो देखिए पनि समाजवादीभित्रको असन्तुष्टि चुलिएर विभाजनका रेखाहरू नै कोरिएका छन् ।

गत माघ १५ गते अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन- ४ मार्फत् अनेरास्वियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकको जिम्मेवारी हठात् खोसिएसँगै बढेको तिक्तता शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा छताछुल्ल भएको छ ।

लामा र विकलाई भ्रातृसंगठनको जिम्मेवारीबाट अपानिबाटै हटाएपछि पार्टीको भूगोलमा पठाइएको थियो । लामालाई गृहजिल्ला सर्लाहीको सहइन्चार्ज र विकलाई म्याग्दीको इच्चार्ज तोकिएको थियो । तर, अन्य भ्रातृसंगठनका कसैको पनि जिम्मेवारी त्यसबेला खोसिएन ।

अध्यक्षबाट हटाइएका यी दुवैजनाले भूगोलको जिम्मेवारीमा जाँदा सम्मानजनक बिदाइ चाहेका थिए । कम्तीमा संगठनको बैठक राखेर उनीहरू नेतृत्व हस्तान्तरण गर्न चाहन्थे तर, उनीहरूलाई अध्यक्ष नेपालले पार्टीको दशौँ महाधिवेशनमा असहयोग गरेको आरोपमा संगठनबाट अपमानजनक बिदाइ गरेको गुनासो छ । पार्टी महाधिवेशनमा नेतृत्व हस्तान्तरण अर्थात् महासचिव घनश्याम भुसालको पक्षमा लागेको भन्दै अध्यक्ष नेपालले रिसइबी साँधेको दुवैजनाले गुनासो गरेका छन् ।

यी दुवै युवाले संगठनबाट सम्मानजनक बिदाइ हुन खोजे पनि अध्यक्ष नेपालले महाधिवेशनमा आफूविरुद्ध लागेको भन्दै माघ १५ गतेको अन्तरपार्टी निर्देशिकाबाटै हटाइदिएपछि आक्रोश बढेको हो ।

यहीकारण अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच द्वन्द्व बढेको छ । अध्यक्ष नेपालले मनपरी ढंगले पार्टीनिकट अनेरास्ववियू र युवा संघमा हस्तक्षेप गरेको आरोप सम्मानित नेता खनालले शुक्रबार ललितपुरको स्टाफ कलेजमा सुरु भएको बैठकको प्रारम्भिक सत्रमै लगाए । खनालले पार्टीको केन्द्रीय समिति बैठकमा गलत निर्णय सच्याउन भन्दै अध्यक्ष नेपालविरूद्ध लिखित रुपमै फरक मत राखेका थिए ।

दोहोरो जिम्मेवारीको बहानामा अनेरास्ववियूकी अध्यक्ष लामा र युवा संघका अध्यक्ष विकलाई पदमुक्त गरेपछि दुवै संगठनमा समानान्तर अभ्यासको कोसिस भएको थियो । तर सम्मानित नेता खनालले त्यसो गर्नुभन्दा पार्टी बैठकमै यस कुरालाई चर्कोसँग उठाउने भनेर थुम्थुम्याए । उनले दिएको बचनअनुसार शुक्रबारको बैठकमा नेपालको विरोध गर्दै आफूलाई ‘सामान्य सदस्य’ मात्रै भनेका थिए । पार्टी नेतृत्वले निरंकुश र नोकरशाही शैलीमा मनपरीरुपमा भ्रातृसंगठनहरूमा हस्तक्षेप गरेको टिप्पणी पनि खनालले शुक्रबार गरेका थिए ।

‘समाजवादी चेतना र प्रतिबद्धताले समेत जागरुक बन्दै गरेका युवाहरूलाई निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले हाँक्न खोजेर सकिँदैन । पार्टी नेतृत्वले जथाभावी डण्डा चलाएर पार्टी चल्न सक्दैन, चलाउन सकिदैन भन्ने कुरा आत्मसाथ गर्न सक्नुपर्छ’, खनालले शुक्रबार लिखित दस्वतेजमै भनेका थिए, ‘अन्यथा, दुर्भाग्यपूर्ण अवस्था आइलाग्ने कुरा अवश्यभावी हुन्छ ।’

विवादको कथा

शुक्रबार सम्मानित नेता खनालले लिखित दस्तावेजमै अध्यक्ष नेपालको निर्णय र भूमिकाबारे गम्भीर प्रश्न उठाइसकेका थिए । खनालले लिखित रुपमै अनेरास्वियू र युवासंघको कुरा उठाइदिएपछि आरती र कृष्णलाई बल मिल्यो । उनीहरू आफूहरूलाई अपमानजनक रुपमा गरिएको बिदाइको कुरा पार्टी कमिटीमै उठाउने तयारीमा थिए । समानान्तर कमिटी बनाउने कुरामा सम्मानित नेता खनालको आग्रहका कारण पछि हटेका उनीहरूले शनिबार आफ्नो पालो आएपछि कुरा राखे ।

स्टाफ कलेजको हलमा भइरहेको बैठकको मञ्चको सबैभन्दा अगाडि लहरै अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसालसहित बसिरहेका थिए । दर्शकदीर्घातिरको आशनको दोस्रो लहरमा थिइन् अनेरास्वियूको अध्यक्षबाट हटाइएकी आरती ।

२०७७ फागुनमा खारेजीमा परेको तत्कालीन नेकपा बन्नुभन्दा पहिलेबाटै आरती नेपालकै पक्षमा उभिँदै आएकी थिइन् । एमालेभित्रको हरेक मोर्चामा उनले नेपाललाई नै साथ दिएकी हुन् । एमालेबाट छुट्टिनुपहिले नै आरतीसहितले समानान्तर अभ्यास गरेर विद्रोहको जग बनाएका थिए । युवा र विद्यार्थीको त्यही जगमै टेकेर अध्यक्ष नेपालले एमालेबाट छुट्टिने आँट गरेका थिए ।

तर, लामो समय नेपालालई साथ दिएका आरती र कृष्णले गत असारमा भएको दशौँ महाधिवेशनमा पुस्तान्तरणको कुरा उठाए । दुवैले अब अध्यक्ष नेपाल र सम्मानित नेता खनालले बिदा भएर महासचिव भुसालसहितका नेतालाई पालो दिनुपर्ने कुरा घोषित रुपमै महाधिवेशनमा व्यक्त गरे । भलै, समाजवादीमा भुसाल महासचिवकै रुपमा रहे । माधव नेपाल अध्यक्ष र खनाल सम्मानित नेतामा कायम रहे ।

एमाले रहँदा लामो सयम साथ दिएका आरती र कृष्णले आफूलाई चुनौती दिँदै महासचिव भुसाललाई बोकेको भन्दै नेपाल रुष्ट मात्रै थिएनन्, आक्रोशित पनि थिए । नेपालले बारम्बार भन्ने गरेका थिए, ‘यो पार्टी मैले बनाएको हो । मलाई जसले चुनौती दिन्छ, त्यो चुरचुर भएर जान्छ’, उनले यही कुरा आरती र कृष्णको हकमा पनि दोहोर्‍याए । हिजोअस्ति पार्टीमा आएका भुसाललाई बोकेर आफूलाई विस्थापित गर्न खोजेको भन्दै नेपालले आफूनिकटहरूसँग आक्रोश पोख्ने गर्थे ।

शुक्रबार सम्मानित नेता खनालले अध्यक्ष नेपालबारे दस्तावेजमै प्रश्न उठाइदिएपछि बैठक गरमागरम हुने अनुमान थियो । शनिबार पनि जारी रहेको बैठकमा पूर्वअनुमानअनुसारकै दृश्य देखियो ।

जब आरतीसँग भिड्न उठे नेपाल

स्टाफ कलेजको हलको दोस्रो लहरमा रहेकी आरतीले आफू र कृष्णमाथि गरिएको अपमानजनक व्यवहारबारे अध्यक्ष नेपाललाई प्रश्न गरिन् ।

लामाले आफूलाई अनेरास्ववियूबाट गलहत्त्याएर अपमानपूर्वक निकालिएको भन्दै अध्यक्ष नेपालसँग जवाफ मागिन् । आफ्नो पालो आएपछि उनले कुरा राख्नेबित्तिकै हलमा तनाव देखियो । आरतीले २५ वर्षभन्दा बढी आफ्नो जवानीको समय संगठनमा खर्चिएर यहाँसम्म आइपुग्दा नेतृत्वले विधिपूर्वक जिम्मेवारीबाट बाहिरिन नदिएर अपमानजकरुपमा गलहत्त्याएर निकालेको भन्दै आक्रोश व्यक्त गरिन् ।

आरतीले माघ १५ को अपानिमार्फत् आफूलाई संगठनबाट हटाइएको विषयमा कुरा उठाउँदा हलमा सहभागीले समर्थन र विरोध दुवै गरे । हलको दोस्रो लहरबाट उठेर उनले माधव नेपाललाई श्रद्धेय अध्यक्ष भन्दै सम्बोधन गरिन् । त्यसक्रममा महासचिव घनश्याम भुसालको पनि नाम लिएर जवाफ मागिन् ।

‘हामी कम्युनिस्ट आन्दोलनमा लागेको सबैको सम्मानका खातिर होला । तर, त्यही कुरा आज कहाँ लागु भयो ? यति लामो संघर्षबाट हामी यहाँसम्म आइपुग्यौँ । तर अहिले मेरो राजनीति सिध्याउँछु भन्दै हिँड्ने कुरा कहाँसम्मको न्यायसंगत हो ? नेताहरूलाई म आग्रह गर्न चाहन्छु, मलाई जवाफ दिनुहोला ।’

उनले अपानिमार्फत् आफूहरूमाथि गरिएको अपमानजनक व्यवहार यो केन्द्रीय समिति बैठकमार्फत् सच्याउनुपर्ने कुरा उठाइन् । उनले यही बैठकका लागि केन्द्रीय कार्यालयमा पठाएको असहमति पत्रको पनि खोजी गर्दै अध्यक्ष नेपालसँग प्रश्न गरिन् ।

उनी त्यतिमै रोकिइनन् । पार्टी नेतृत्वको कार्यशैलीका कारण निराशा बढ्दै गएको पनि बताइन् । ‘हामी किन निराश हुँदै गएका छौँ ? बितेका तीन वर्ष नेतृत्वले हामीमाथि निराशा थोपरेको हो कि होइन ? यति हुँदा हुँदै पनि हिजो विद्रोह गरेका हामीले कहिल्यै आन्दोलनलाई विश्वासघात नगरी निरन्तर मैदानमा लागिरह्यौँ । कम्युनिस्ट आन्दोलन बचाउन निरन्तर लागेकै परिणाम आज हामीले अपमान भोग्नुपर्ने, गलहत्याइनुपर्ने ?’

सम्मानित नेता खनालले शुक्रबार विषय उठान गरिदिएपछि नेतृत्वसँग असन्तुष्टलाई बोल्ने बाटो खुलेको थियो । आरतीले अनेरास्ववियू अध्यक्षका रुपमा आफू असक्षम र असफल सावित भएको भए त्यही कमिटीको महासचिवलाई नेतृत्वले कसरी सक्षम र सवल ठान्यो भनेर प्रश्न गरिन् । उनले अपानिप्रति आपत्ति जनाउँदै अध्यक्ष नेपालसँग पनि आपत्ति प्रकट गरिन् । आफूहरू पार्टीका सिपाही भएको बताउँदै उनले सिपाहीको मनोबल गिराएर पार्टी अघि नबढ्ने पनि बताइन् । यसका कारण आन्दोलनबाट पार्टी बन्छ कि बन्दैन भनेर पनि सोधिन् ।

उनले अपानिमार्फत् आफूहरूलाई गरिएको अपमानजनक व्यवहार सहन नसकिने बताइन् । ‘हिजो एमालेमा तपाईंले भनेअनुसार नै अपमानविरुद्ध लडेर हामी यहाँसम्म आएका हौँ । तपाईंले एमलेमा अपमान भयो भन्दा हामीले पछाडि उभिएर साथ दिएका थियौँ । त्यहीकारण तपाईंले न्याय दिने भरोसासहित यहाँसम्म साथ दियौँ । आज आरती लामामाथि भएको अपमान र अन्यायबारे तपाईंले कसरी न्याय गर्नु हुन्छ ? आरतीमाथि भएको अन्याय कसरी हेरेर बस्नु हुन्छ अध्यक्षज्यू ?’

आरतीले यति भनेपछि बैठकमा खैलाबैलाको अवस्था भयो । अध्यक्ष नेपाल पनि मञ्चबाट सुर्रिएर उठे । उनी सुर्रिएर उठेपछि सँगै रहेका सम्मानित नेता खनाल र महासचिव भुसालले अवस्था सम्हालेका थिए । दुई नेताले नरोकेको भए अध्यक्ष नेपाल आरती भएकै ठाउँमा आउन तम्सिसकेका एकजना केन्द्रीय सदस्यले बताए ।

कृष्णले पनि घेरे

आरतीसँगै युवासंघबाट अपानिमार्फत बिदा गरिएका कृष्ण विकेले पनि पार्टीमा विधि हराएको भन्दै प्रश्न उठाए । आफूहरूले ‘ग्रेसफुल एक्जिट’ हुनुपर्छ भने पनि अपमानजनक रुपमा अपानिमार्फत् गल्हत्याइएको भन्दै उनले पनि नेतृत्वसँग गुनासो पोखे ।

अपमानजनक बिदाइपछि युवा संघ र अनेरास्ववियूमा समानान्तर कमिटीको चर्चा थियो । तर हिजो माधव नेपालका भाञ्जा नितेश पौडेलले महाधिवेशनको मुखमा समानन्तर कमिटी बनाएको जस्तै गैरराजनीतिक चरित्र आफूहरूले देखाउन नचाहेको कुरा विकेले बताएका थिए ।

त्यसबेला नितेशलाई माधव नेपालले नरोके पनि यस पटक खनालले कृष्णलाई समानान्तर अभ्यास नराम्रो भन्दै रोकेका थिए ।

उता कृष्णले पनि कम्युनिष्ट पार्टीभित्र न्याय, समानता, विभदेरहित समाज र वर्गीय समाजको कुरा उठाउँदै आएको बताउँदै हिजो एमालेबाट पनि यिनै कुरामा विद्रोह गरेको स्मरण गराए ।

‘हिजो एमालेमा केपी शर्मा ओली यिनै कुराका लागि तयार  हुन सकेनन् । त्यहीकारण विद्रो गरेर यहाँसम्म आयौँ’, विकेले भने, ‘एमालेबाट जे भएन भनेर विद्रोह गरियो अहिले नेतृत्वले ओलीकै प्रवृत्ति देखाए । युवासंघ र अखिलको नेतृत्वलाई मात्रै हटाइयो । नेतृत्वमा इगो देखियो । दुई संगठनका अध्यक्षलाई अपमानजनक रुपमा हटाउँदा अरु यथावत राखियो ।’

उनले बैठकमा अपानिमार्फत भएको गल्ती सच्याउनु र सिंहवालोकन गर्न अध्यक्ष नेपाललाई भने । ‘कहिलेकाहीँ गुटगत र व्यक्तिगत विवाद हुन्छ । पार्टी बैठक पनि औपचारिकताका लागि मात्रै हुने गरेको छौ । पार्टी दिनदिनै त ओरालो लागिरहेको छ । ०७९ को चुनाव हार्यौँ, उपनिर्वाचन पनि हेरिसक्यौँ । जिल्लाहरूले पूरै कमिटी एमालेमा जाने र माओवमादीमा प्रवेश गर्ने गरिरहेका छन्’, उनले भने, ‘हामी जुन वर्गको विषय उठाउछौँ, विभेदरिहत समाजको कुरा उठाउँछौँ तर नेतृत्व नै विभेदकारी भएको छ । यो नसुधारे पार्टी बन्दैन, औपचारिकता लागि बैठक राखेर केही हुँदैन । रिजल्ट केही पनि आएको छैन ।’

बिकेले अहिलेको बैठकमा पनि ४० प्रतशित केन्द्रीय सदस्य पनि सहभागी नरहेको कुरा बताए । बैठक पनि केबल औपचारिकताका लागि मात्रै भएको बताउँदै विकेले नेतृत्वले नातागोतालाई काखी च्यापेको पनि उल्लेख गरे । ‘विधिले भाञ्जालाई चिन्यो तर अरुलाई चिनेन । नाता जोडिएका ठाउँमा नेतृत्व विधिको कुरा गर्छ’, उनले भने, ‘यसरी हामी कहाँ पुग्छौँ ? केपी ओलीले अपमान गर्दा हामीले विद्रोह गर्‍यौँ, तर अहिले हाम्रै पार्टी नेतृत्वबाट अपमानपूर्वक हामीलाई गलहत्याउने काम भएको छ ।’

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : ४८ बजे

इटहरी गोल्डकपः उपाधि मच्छिन्द्र क्लबलाई

सुनसरी – पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने

क्यानभासमा स्वयम्भू !

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

कैलाली – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल

पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका प्रदर्शनकारी र