रसायनयुक्त आँप खाएर बिरामी त पर्नुभएको छैन ? | Khabarhub Khabarhub

रसायनयुक्त आँप खाएर बिरामी त पर्नुभएको छैन ?

मुलुकमै छैन विषादी परीक्षण विधि


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हरियो तरकारी तथा फलफूल खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ। त्यसमा मौसमअनुसारको तरकारी, फलफूलबाट हामीलाई आवश्यक पोषक तत्त्व प्राप्त हुन्छ। तर बेमौसमी र प्राकृतिक रुपमा नपाकेका फलफूल खाँदा स्वास्थ्यमा विभिन्न किसिमका नकारात्मक असर गर्ने विज्ञ बताउँछन्।

अहिले आँपको सिजन सुरु हुँदैछ। प्राकृतिक रूपमा पाक्नुअघि नै बजारमा पाउन थालेका आँपमा रसायन प्रयोग गरिएको हुन सक्ने भन्दै विज्ञले गुणस्तरप्रति उपभोक्ता सचेत हुनुपर्ने बताएका छन्।

विज्ञका अनुसार आँप पाक्ने सिजन अहिले अलि भएको छैन। अफ सिजनमा छिटो पकाउन विभिन्न रसायनको प्रयोग गरिएको हुन्छ। यसको प्रभाव पाचनप्रणालीमा देखिन्छ। यसबाहेक यस्ता खानेकुरा खाँदा पेटको क्यान्सरसम्म हुने गरेको विज्ञ बताउँछन्।

‘नेपालमा आँपको सिजन भनेको जेठको तेस्रो हप्तापछि मात्रै गुणस्तर र प्राकृतिक रुपमा पाकेको आँप आउने भएकाले त्यसयता उपभोग नगर्नु उचित हुन्छ।’

फलफूल तथा तरकारी मौसमी खानु राम्रो हुने भन्दै पोषणविद् रश्मी बजिमय भन्छिन्, ‘नेपालमा आँपको सिजन भनेको जेठको तेस्रो हप्तापछि मात्रै गुणस्तर र प्राकृतिक रुपमा पाकेको आँप आउने भएकाले त्यसयता उपभोग नगर्नु उचित हुन्छ।’

अहिलेको आँप खाँदा हामीले ध्यान दिएर हे-यौं भने त्यसको कोया नै राम्रोसँग छिप्पिएको हुँदैन। त्यस्तो आँप पकाउन धेरै रसायनको प्रयोग गरिएको हुन्छ। जति गर्मी बढ्दै गयो त्यति नै आँप विकसित हुने र पाक्ने हुन्छ।

आँपका विभिन्न प्रकार हुन्छन्। आफ्नो आकारप्रकार र प्रकृतिअनुसार विभिन्न समयमा पाक्ने गर्छ। माल्दाभन्दा पछि पाक्ने दशहरी आँप अहिले नै बजारमा छ्यापछ्याप्ती देखिने गरेको छ। हावाहुरीले झारेका आँप जबर्जस्ती पकाएर बजारमा ल्याइएको बजिमयले बताइन्।

उनका अनुसार आँप धेरै प्रकारका हुन्छन्। जुन समयमा आँप पाक्नुपर्ने हो, त्यहीबेला पाकेको आँप खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ। ‘अहिले हामीकहाँ आउने बिरामीमा पनि प्रत्यक्ष रुपमा आँपकै कारण असर गरेको नपाइए पनि उनीहरुको विगत हेर्दा बेमौसमी फलफूलकै कारण स्वास्थ्यमा विभिन्न समस्या देखिएको पाइन्छ। जस्तै अंगुरको सिजनमा धेरै बच्चाहरु घाँटीको समस्या लिएर आउने गरेका छन्’ उनले बताइन्।

त्यस्तै अहिले आँपको सिजनमा अपच हुने, मुखमा घाउ आउने, आँपमा भएको चोपले कोक्याउने जस्ता समस्या लिएर बिरामी आउने गरेका पोषणविद् बजिमयको भनाइ छ।

आँपको सिजनमा अपच हुने, मुखमा घाउ आउने, आँपमा भएको चोपले कोक्याउने जस्ता समस्या लिएर बिरामी अस्पतालमा पुग्ने गरेका छन्।

त्यस्तै राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख महेशचन्द्र आचार्यले भने अहिले बजारमा आएको आँप प्राकृतिक रुपमा परिपक्व भएर पाकेको होइन। बेसिजन तथा विभिन्न खालको रसायन त्यसमा पनि विशेष गरी खतरनाक रसायन क्याल्सियम कार्बोहाइट भन्ने ढुङ्गा जस्तो रसायन पाइन्छ।

जुन सस्तो पनि हुने भएकाले त्यसैको प्रयोग गरेर पकाइएको हुन्छ। केरामा पनि यसैको प्रयोग भइरहेको पाइएको उनले बताए।

२५ करोड बढीको आँप आयात
नेपालमा वर्षेनी आँपको आयात बढिरहेको पाइएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा ७ करोड ३९ लाखको आँप आयात भएको थियो भने चालु आर्थिक वर्षको चैत महिनासम्म २५ करोड दुई लाख १३ हजार रुपियाँ बराबरको आँप आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

त्यस्तै, सोही अवधिमा अम्बा तथा आँप सुकेको वा फ्रेस भनेर २० करोड ९१ लाख १२ हजार रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ। मुख्यगरी भारत र त्यसपछि चीन, थाइल्याण्ड, पाकिस्तान र फिलिपिन्सबाट आँप आयात हुने गरेको पाइन्छ।

त्यो बाहेक अवैध रुपमा राजश्व छली गरेर आयात हुने आँप लगायत अन्य फलफूलको तथ्याङ्क सरकारसँग छैन। फलफूल विकास केन्द्रका प्रमुख आचार्यका अनुसार नेपालमा आयातका लागि एक सय ७३ नाका छन् भने निर्यातका लागि जम्मा ६, ७ वटा नाकाको मात्रै प्रयोग हुने गरेको छ।

आयात निर्यातको असन्तुलनले गर्दा सरकारले एकातिर राजश्व गुमाइरहेको छ भने अर्कोतिर जैविक सुरक्षामा पनि जोखिम बढिरहेको उनले बताए। त्यसैले राज्यका जिम्मेवार निकायहरुको उपस्थिति सबै नाकामा गराउन आवश्यक रहेको उनको भनाइ छ।

नेपालमा आयातका लागि एक सय ७३ नाका छन् भने निर्यातका लागि जम्मा ६, ७ वटा नाकाको मात्रै प्रयोगमा छन्। आयात निर्यातको असन्तुलनले गर्दा सरकारले एकातिर राजश्व गुमाइरहेको छ भने अर्कोतिर जैविक सुरक्षामा पनि जोखिम बढिरहेको छ।

विषादीयुक्त फलफूल परीक्षणको सुविधा छैन
बेमौसममा उत्पादन हुने कुराहरु मौसममा उत्पादन हुने फलफूल र तरकारी भन्दा फरक हुन्छ। बेमौसममा उत्पादन हुनका लागि केही न केही थप रासायनिक वस्तुहरुको प्रयोग स्वाभाविक रुपमा हुन्छ। कालिमाटी तरकारी बजारमा विभिन्न तरकारीमा विषादी पाइएको बेला बेलामा आइरहेकै हुन्छ। त्यसमाथि आँपको परीक्षण गर्ने व्यवस्था हामीसँग खासै नभएकाले रोक्न नसकिएको उनी बताउँछन्।

आचार्यका अनुसार अन्तर्राष्ट्रिय सन्धि सम्झौता र नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएको नाताले आयात नै गर्न दिँदैनौ भन्न मिल्दैन। तर प्राविधिक र वैज्ञानिक पुष्ट्याइँको आधार जस्तै हामीसंग सक्षम प्रयोगशाला हुने हो र कुनै प्रयोगशालामा परीक्षण गर्दा अखाद्य रसायन भएको प्रमाणित भयो भने कुनै पनि देशबाट आएको खाद्य वस्तुलाई नेपालले भित्रिन नदिन सक्छ।

त्यसो गर्दैगर्दा हाम्रो बजारमा आइराखेको नेपालकै उत्पादन भएको चिज जस्तो तिमीहरुको छैन त्यसैले हामी लिँदैनौ भन्ने तर्क नेपालसँग नभएको उनी बताउँछन्। जसको लागि स्वदेशकै उत्पादनबाट बजारमा आएकोलाई पनि अध्ययन गरेर विषादी रहित छ भनेर प्रमाणित गर्न सक्यौं भने बाहिरबाट हुने विषादीयुक्त फलफूलको आयात प्रतिबन्ध लगाउन सकिन्छ। नत्र बिना प्रमाण रोक्न नसकिने आचार्य बताउँछन्।

नियमन गर्न चाहने हो भने राज्यले गर्न पाउने अधिकार छ तर क्षमता हामीसँग कति छ भन्ने चाहिँ अर्को पाटो हुनसक्छ। प्रयोगशाला सुविधाको कुरा, कति समय होल्डमा राखेर उपभोग गर्न मिल्छ भन्ने समितिको निर्णय लगायतका आधारमा आयात रोक्न मिल्छ। तर बिना प्रमाण स्वास्थ्यमा असर गर्छ भन्ने सामान्य भनाइकै आधारमा भने रोक्न नमिल्ने उनको तर्क छ।

आयातमा प्रतिबन्ध कति सम्भव ?
सबैभन्दा पहिले प्रयोगका लागि उपभोक्ता सचेत हुनुपयो र राज्यले पनि त्यस्ता चिजलाई निरुत्साहित गर्न पहल गर्नुपर्ने आचार्य बताउँछन्। अघिल्लो वर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धनगढीमा धेरै मात्रामा विषादी पाइएको र खान अयोग्य भएको भन्दै आँप नष्ट गरेको उदाहरण दिँदै कतिपय अवस्थामा प्लाण्ट क्वारेण्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले प्रवेश अनुमति पत्र जारी गर्छ त्यसमा पनि केही शर्तहरु राख्न सक्छ। यस्ता कुराहरुमा ध्यान दियो भने समाधान हुने अन्यथा सम्भव नहुने आचार्यले बताए।

भारतसँगको सिमानामा फेरि कस्तो भइरहेको छ भने प्रवेश अनुमति लिएर सामान ल्याउने प्रक्रिया व्यवसायीले अलि झण्झटिलो मान्छन् भने सम्बन्धित निकायहरु पनि सहयोगी नभइदिँदा गैरभन्सारको बाटो अथवा अवैध रुपमा सामान भित्रिने भएकाले बजारमा प्रशस्त मात्रामा पाइने हुन्छ। आधिकारिक रुपमा न त भन्सारमा देखिन्छ न क्वारेन्टाइनले अनुमति नै दिएको देखिन्छ।

त्यसैले यसलाई नियन्त्रण गर्ने जिम्मा सीमा सुरक्षामा खटिएको सुरक्षा बलको नै सहारा लिनुपर्ने स्थिति भएकाले राज्यको जिम्मेवारी भनेको सीमा सुरक्षालाई अलि बढी सजग गराउने र भन्सारलाई पनि अलिकति सहज बनाइदिनुपर्ने उनको सुझाव छ।

कानुनी बाटोबाट मात्रै आउने हो भने पनि कम्तिमा एक सिजनमा कति आँप भित्रिन्छ र त्यसको प्रभाव के हुन्छ भन्ने कुराको जानकारी भयो भने भोलि त्यही अनुसारको योजना बनाउन सरकारलाई सजिलो हुने आचार्यको तर्क छ।

उनका अनुसार पहिलो कुरा त उपभोक्ता सजग हुनुपर्छ। त्यसपछि प्लाण्ट क्वारेण्टाइन, भन्सार, वाणिज्य लगायत राज्यका सम्बन्धित निकायहरुले पनि जैविक सुरक्षालाई मध्यनजर गर्दै जोखिम हुने चीजवस्तु नाकाबाट तोकिएको प्रक्रिया पुरा गरेर मात्रै मात्रै भित्र्याउने गरियो भने निगरानी र नमूना परीक्षणमा सहज हुने उनको बुझाई छ।

विषादीयुक्त आँप कसरी उपभोग गर्ने ?
बेमौसमी फलफूल सकेसम्म उपभोग नगर्न आचार्यको सुझाव छ। यदि गर्नै पर्ने अवस्थामा आँपको भेट्नो अर्थात बोटबाट फल छुट्याइएको भागमा कार्बोहाइट बसेको हुन्छ भन्ने छ।

त्यसैले भेट्नोको भाग काटेर अलि समय पानीमा डुबाएर राम्रोसंग सफा गरेपछि मात्रै उपयोग गर्नु उचित हुन्छ। यत्ति गर्दा कम्तिमा पनि बाहिरी सतहमा देखिएको विषादीको मात्रा केही मात्रामा कम गरेर जोखिम घटाउन सकिने उनले बताए।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ९ : ३४ बजे

रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै, न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा पेसी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट

अमेरिकी राजधानीमा इजरायली दूतवासको दुई कर्मचारीको हत्या

काठमाडौं– अमेरिकामा इजरायली राजदूतावासमा काम गर्ने दुई जना कर्मचारीको हत्या

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

सुनको मूल्य बढ्यो, तोलामा एक हजार सात सय रुपैयाँले वृद्धि

काठमाडौं– नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ ।

बागमती प्रदेशसभामा आज बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान