बजेट विनियोजनमा सांसदको असन्तुष्टि | Khabarhub Khabarhub

बजेट विनियोजनमा सांसदको असन्तुष्टि


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालयको विनियोजनमाथिको छलफलमा सहभागी अधिकांश सांसदहरूले बजेट विनियोजनमा असन्तुष्टि जनाएका हुन् । 

उनीहरूले आफूहरूसँग निर्वाचन क्षेत्रका जनताले विकास निर्माणबारे अपेक्षा राखेको उल्लेख गर्दै सरकारले बजेट विनियोजनमा सन्तुलन कायम गर्न नसकेको बताए । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद वासुदेव घिमिरेले विधायकको अधिकार नीति निर्माण गर्ने भए पनि जनताले आफूहरूसँग विकास निर्माणको अपेक्षा गर्ने गरेको बताए । उनले आगामी दिनमा जनतामा विधायकको भूमिका नीति निर्माणमा मात्र सीमित हो भन्ने कुरा बुझाउनुपर्ने उल्लेख गरे । 

‘सांसद विधायक मात्र हो विकास निर्माणमा सांसदहरू जोडिनु पर्दैन भन्ने आमजनताले बुझ्ने गरी व्यवस्था गरौँ’, उनले भने, ‘नत्र सांसदलाई बजेट निर्माण प्रक्रियामा सहभागी गराउने विधि तय गरौँ ।’ सांसद घिमिरेले सरकारले ल्याएको बजेट हुबहु पारित हुने परम्पराप्रति टिप्पणी गर्दै यसलाई दोहोरिन नदिन आग्रहसमेत गरे । 

नेपाली कांग्रेसका सांसद मैना कार्कीले पनि जनताले आफूसँग विकासको आवश्यकता र मागको आशा राखेको तर बजेटमा जाजरकोट जिल्ला प्राथमिकतामा नपरेको गुनासो गरिन् । 

‘आज सरकार र मन्त्रीज्यूहरूले सांसदहरू कानुन मात्र बनाउने हो भनेर बुझाइदिएको भए हुन्थ्यो’, सांसद कार्कीले भनिन्,’दुई हात जोडेर भन्छु, मिल्छ भने जाजरकोट र कर्णाली प्रदेशलाई कतैबाट बजेट विनियोजन न्याय दिनुहोस् ।’

सांसद कार्कीले बजेट विनियोजनमा विभेद भएको गुनासो गर्दै जाजरकोटका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरिन् । ‘एक पालिकामा योजना पर्‍यो अर्को पालिकाको रिसाउँछ । एक वडामा पर्‍यो अर्को वडाको रिसाउँछ’, सांसद कार्कीले भनिन्, ‘योजनाहरू लिएर मन्त्रालयको ढोका ढोका धाउँछौँ । तर, रातो किताबमा शून्य लागत देख्दा बोल्न बाध्य भयौँ ।’

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले बजेट निश्चित क्षेत्रमा मात्रै विनियोजन गर्ने प्रवृत्तिको आलोचना गरे। ‘अहिले पूर्वमन्त्रीहरु रोष्ट्रममा उभिएर आफ्नो क्षेत्रमा बजेट नपरेको गुनासो गर्दै हुनुहुन्छ । उहाँहरुले पनि आफ्नो समयमा यस्तै गर्नुभएको थियो,’ सांसद तिमल्सेनाले भने, ‘आखिर सन्तुलित विकास भएको भए यी गुनासोहरू गर्न पर्दैन थियो, सदन राम्रो हुन्थ्यो ।’

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद प्रभु हजाराले समग्र मधेसको विकासमा जनता आवास कार्यक्रममा अनुगमनका लागि ध्यानाकर्षण गराए । उनले वीरगञ्जको नारायणी रङ्गशाला, नारायणी अस्पतालको स्तरोन्नति र बन्द छोटी भन्सार कार्यालयहरू सञ्चालनका लागि ध्यानाकर्षण गराए । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तिमगरले बजेट विनियोजनको ‘ट्रेन्ड’ पुरानै शैली भएको उल्लेख गर्दै यसले सङ्घीय प्रणालीको अभ्यासका लागि सहयोग नगर्ने बताए । ‘बजेट कर्मकाण्डी ढङ्गले अघि बढाउने काम भयो । यो सच्याउनुपर्छ,’ उनले भने । 

नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले बजेट समन्यायिक हुनपर्नेमा जोड दिए । उनले बजेट सीमित नेताहरूको क्षेत्रमा मात्र परेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘बजेट तत्काल संशोधन हुनुपर्छ, समन्यायिक हुनुपर्छ,’उनले भने । 

एमाले सांसद मनबहादुर गुरुङले वित्तीय सङ्घीयता कार्यान्वयनमा जोड दिए । माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नियमित रूपमा बजेटमा छलफलमा भाग नलिएको भन्दै उनीहरूको माग वार्तामार्फत सम्बोधन गर्न सुझाव दिए । 

कांग्रेस सांसद पूर्णबहादुर तामाङले  मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्र बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाए । एमालेका सांसद दामोदर पौडेल वैरागीले पोखरा महानगरपालिकाभित्रका धेरै पुल र सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन नभएकातर्फ ध्यानाकर्षण गराए । 

पौडेलले फेवातालको सीमाङ्कन र मापदण्ड विवादबारे सरकारको ध्यानाकर्षण गराए । ‘फेवातालको सीमाङ्कन र मापदण्डका कारण स्थानीयहरू आहत भइरहेका छन् । अझै टुङ्गो लागेको छैन,’ उनले भने, ‘त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ रासस

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : २३ बजे

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई

काठमाडौं – गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’