काठमाडौ– नेकपा (माओवादी केन्द्र)बाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापन गरिसकेका छन् । उनी अहिले पार्टी उपाध्यक्षको भूमिकामा फर्किसकेका छन् ।
उता नेकपा (एमाले) बाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीलाई भने राजनीतिमा आउन नदिने गरी छेक्न अध्यक्ष केपी शर्मा ओलीले साम-दाम-दण्ड-भेद सबै प्रयोग गरिरहेका छन् । उनले हिजो एमालेमा सक्रिय हुँदासम्म आफ्नै गुटमा रहेकी भण्डारीलाई फोनदेखि भेटमा समेत सम्मानित भएरै बसिरहन सुझाएका छन् ।
राष्ट्रपतिबाट बिदा हुँदासम्म कुनै समस्या नदेखिएको ओली र भण्डारीबीचको सम्बन्धमा २०८२ वैशाख १ गतेको शुभकामना सन्देशले तिक्तताको बीजारोपण गरेको खुलेको छ ।
पूर्वराष्ट्रपति भण्डारीले नयाँ वर्ष–२०८२ को शुभकामना सन्देशमार्फत् देशको राजनीतिक परिस्थितिसँगै एमालेको समीक्षा गरेपछि ओली बिच्किएका हुन् ।
उक्त वक्तव्य मार्फत पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा आउँदै गरेको प्रष्ट सन्देश दिएकी थिइन् । त्यही सन्देशअनुसार गत असार १४ गते उनले एमालेको राजनीतिमा फर्किएको घोषणा नै गरिन् ।
उनले उक्त सन्देशमा एमालेको वर्तमान नेतृत्व अर्थात् केपी शर्मा ओलीमाथि प्रश्न पनि उठाएकी थिइन् । ‘…संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको कायापलट हुने विश्वास हामीले जनतालाई दिलाएका हौँ, खोजेको व्यवस्था प्राप्त भएपछि पनि जनताको जीवन स्तरमा महत्वपूर्ण परिवर्तन किन हुन सकिरहेको छैन ?,’ उनले त्यसबेला भनेकी थिइन्, ‘यस्ता प्रश्नहरूमा अब चिन्ता मात्रै प्रकट गरेर जनताको सहानुभूति बटुल्न खोज्नुभन्दा निर्मम आत्मसमीक्षा गर्दै फेरि पनि निरन्तर इमान्दार प्रयास गर्नुको विकल्प छैन ।’
उक्त सन्देशलाई लिएर ओलीले भण्डारीसँग पटक पटक रोष प्रकट गरेको खुलेको छ । भण्डारी स्वयम्ले पनि आफूले वैशाख १ गतेको सन्देशमार्फत् व्यवस्थालाई बलियो बनाउन अहिलेको अवस्थामाको समीक्षा गरौँ भनेकको बताएकी छन् ।
उनले उक्त शुभकामनामा सन्देशमा जनताको बहुदलीय जनवादको दिशानिर्देशअनुसार नेतृत्वको समीक्षा गर्ने बेला आएको कुरा उल्लेख गर्दा ओलीले चित्त दुखाएको खुलाएकी हुन् ।
‘त्यस सन्देशमा जबजको दिशानिर्देशअनुसार वर्तमान नेतृत्वको सान्दर्भिकताको समीक्षा गर्नेबेला आयो भनिएको हो । तर मसँग कुरा गर्दा उहाँ (केपी शर्मा ओली) दुखी भएको पाएँ’, उनले मंगलबार केही सञ्चाकर्मीमाझ भनेकी छन्, ‘उक्त सन्देश जारी भएपछि वैशाखदेखि नै उहाँले भेट्नु पर्यो भनेको हो । उहाँले नै समय मिलाउनु भनिरहनु भएको थियो ।’
उनले आफूलाई समय मिलाउन भनिए पनि आफूलाई बालुवाटार बोलाउँदा नगएको खुलाइन् । ‘सधैं नभेटी भएन भनेर असार १४ को सन्दर्भमा बालुवाटार गएँ । चीन जानुअघि र पछि पनि भेटेकै हो । मैले बालुवाटारमा पनि गएर भेटेको हो, चीन जानुअघि र पछि’, उनले भनिन्, ‘उहाँसँगको भेटबारे पनि गलत सूचना दिइयो ।’
आफूले असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा एमालेको सदस्यता नवीकरण गरिसकेकाले राजनीतिमा आउने भनिसकेको उनको भनाइ थियो ।
तर त्यसपछि ओलीबाटै आएको एक फोन कलका क्रममा आफ्नो सदस्यता पेन्डिङमा राखिएको भभनेर ओलीले नै भनेको उनले खुलाएकी छन् ।
‘जारी बैठकका क्रममा २०८१ वैशाखमै नवीकरण गरिसकेको सदस्यता पेन्डिङमा राखेको आएपछि चासो राखेको थिएँ । उहाँसँग फोनमा कुरा हुँदा सदस्यता पेन्डिङमा रहेको बताउनु भयो । मैले, सदस्यता पनि पेन्डिङ हुन्छ भनेर सोधेँ। तर उहाँले राजनीति निर्णय गर्नुछ, यस्तो त्यस्तो भनेर लामो कुरा भन्नुभयो ।’
भण्डारीले च्यासलको भेट पनि ओलीकै चहानाअनुसार भएको खुलाएकी छन् । आफूले त्यस भेटमा पार्टीको संस्थागत कुरा हुनुपर्छ भनेको पनि बताइन् ।
‘उहाँले बालुवाटारमा भेटौँ भनेपछि म त्यहाँ आउँदिन भनेकी हुँ । त्यसबेला मैले च्यासलमै भेट्न भनेको थिएँ’, उनले भनिन्, ‘शुक्रबार च्यासलमा भेट्ने सवालमा पनि मैले बिरामी छु, तपाईं समयमा आउनु भनेको थिएँ । तीन बजे भेट्ने भनेपछि म २ बजे हिँड्न लाग्दा ४ बजे भनेपछि रोकिएँ । तर साथीभाइ भेट्छु भनेर गएँ, च्यासलको वातावरण अर्कै रहेछ ।’
प्रतिक्रिया