काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनःप्रवेश घोषणा गरिसकेकी छन् । उनले असार १४ गते नै आफूले एमालेको सक्रिय राजनीति थाल्ने घोषणा गरेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले मंगलबार आफूले सक्रिय राजनीति थाल्नु पछाडि गणतन्त्रपछिको राजनीतिक इतिहास सुनाएकी छन् ।
दुई कार्यकाल राष्ट्रपति भएर बिदा भइसकेकी उनी राजनीतिमा फर्किन खोज्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छेक्न सबै शक्ति लगाएको अवस्थामा उनले लामो कथा सुनाएकी हुन् ।
उनले मंगलबार भंगालस्थित निवासमा सीमित सञ्चारकर्मीमाझ आफू राष्ट्रपति हुँदाको पृष्ठभूमि र अब राजनीतिमा फर्किनुको कारणबारे लामो व्याख्या गरेकी हुन् ।
उनले गणतन्त्रपछिको आफ्नो राजनीतिक यात्रा र पार्टीसँगको सम्बन्धबारे लामो आत्मवृत्तान्तात्मक व्याख्या प्रस्तुत गरेकी छन्।
पूर्वराष्ट्रपतिले राष्ट्रपति हुँदा लिएको निर्णयदेखि हालको नेकपा एमालेभित्रको चुनौतीसम्म आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। उनले विशेषगरी अध्यक्ष ओलीको व्यवहारप्रति तीव्र असन्तुष्टि पनि व्यक्त गरिन्।
एमालेको इच्छामा राष्ट्रपति
भण्डारीले राष्ट्रपति पद स्वीकार गर्नु कुनै व्यक्तिगत आकांक्षा नभएको बताएकी छन् । त्यसबेला एमाले पार्टीको निर्देशमा र मदन भण्डारीको जबज सिद्धान्तको उत्तराधिकारीको हैसियतमा गरिएको निर्णयका रुपमा उनले व्याख्या गरेकी छन् । आफूलाई तीन दिनअघि मात्रै आएको प्रस्तावले त्यसबेला अक्क न बक्क बनाएको पनि उनले बताइन् ।
‘मलाई राष्ट्रपतिको प्रस्ताव आउँदा छोरीहरूले पनि विरोध गरे, राष्ट्रपति पद त ‘सेरेमोनियल’ मात्र हो, मदनको सपना त्यहाँबाट साकार हुँदैन भन्थे,’ उनले सुनाइन्, ‘तर म एमालेले दिएको जिम्मेवारी र जबजको लिगेसीकै कारण तीन दिनअघि मात्रै आएको प्रस्तावमा सहमत भएँ।’
संविधान निर्माण
पूर्वराष्ट्रपति भण्डारीले आफू संविधान निर्माण प्रक्रियामा सुवास नेम्वाङलाई सभामुखमा निरन्तरता दिँदै रामवरण यादवलाई दोस्रो कार्यकालमा राष्ट्रपतिको रुपमा राखेर प्रक्रिया अघि बढाउन चाहेको स्मरण गरिन्।
‘त्यतिबेला त्रिपक्षीय सहमतिमा रामवरणलाई निरन्तरता, एमालेले प्रधानमन्त्री र माओवादीले सभामुख लिने प्रस्ताव गरेकी भएको थियो,’ उनले भनिन्, ‘तर कांग्रेस पछि हट्दा त्रिपक्षीय सहमति भाँडियो । त्यसपछि मैले राष्ट्रपति हुनुपर्ने परिबन्द बनेको हो ।’
तर, २०७२ मा संविधान जारी भएसँगै कांग्रेसले सहमति तोडेपछि उत्पन्न राजनीतिक परिस्थितिमा ओलीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउन इन्कार गरेका थिए । र, अन्ततः तीन दिनअघि मात्रै आएको प्रस्तावमा आफू राष्ट्रपतिका लागि तयार भएको उनले बताएकी छन् ।
राष्ट्रपतिको अफरले अक्क न बक्क
राष्ट्रपतिमा प्रस्ताव आउँदा आफू निकै आश्चर्यचकित भएको उनले उल्लेख गरेकी छन् । ‘तीन दिन बाँकी रहँदा अफर आयो, मलाई छोरीहरूले विरोध गरे, गेटमै सुत्छौँसमेत भने। तर म वामपन्थी आन्दोलन र मदन भण्डारीको लिगेसीको निरन्तरता दिन राष्ट्रपतिमा पुगेकी हुँ’, उनले भनिन् ।
ओली नेतृत्व र ‘पार्टीको अन्तरविरोध’
भण्डारीले नेकपा एमालेभित्रको आन्तरिक संरचना, दस्तावेज निर्माण र केपी ओलीको प्रारम्भिक लोकतान्त्रिक सोचको स्मरण गरिन्।
उनले ओलीकै नेतृत्वमा ‘पार्टी जीवनको लोकतान्त्रीकरण’ दस्तावेज आएको बताइन् । जसमा उमेर हद, दुई कार्यकालको सीमा, गुटबन्दी विरोध जस्ता कुरा समावेश भएको उनले बताइन् । तर अहिले ओली स्वयम् ती विचारसँग विमुख भएको आरोप पनि उनले लगाइन्।
‘त्यही केपी कमरेड अहिले आफ्नै दस्तावेजको विरोधमा उभिनुभएको छ, अहिले उहाँलाई अरू सबै भुराभुरी लाग्छन्,’ उनले भनिन्।
ईश्वर उठे गाह्रो, म उठे सम्भावना थियो
काठमाडौंमा २०७१ सालमा भएको नवौं महाधिवेशनको प्रसङ्गमा विद्यादेवीले अध्यक्ष पदका लागि आफू सर्न खोजेको पनि उल्लेख गरिन्।
‘ईश्वर पोखरेल उठे कठिन हुन्छ, म महिला संवेदनाको कारणले जित्न सक्छु भन्ने धारणा थियो। तर वामदेवले पनि ओलीलाई समर्थन गरेपछि त्यो परिस्थिति बन्यो,’ उनले भनिन्।
संसद विघटन र निर्णयको बचाउ
पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन केपी शर्मा ओली क्याबिनेटले २०७७ र २०७८ मा दुई पटक सिफारिस गरेको संसद विघटन प्रस्ताव संविधानअनुसार स्वीकार गरेको बताइन् ।
‘मैले संसद विघटन गरेको हो, सर्वोच्च अदालतले आफ्नो काम गर्यो, मैले मेरो। त्यो राष्ट्रपतिको संवैधानिक कार्यक्षेत्रभित्रै थियो’, उनले भनिन् ।
सक्रिय राजनीतिबाट पछि नहट्ने
उनले आफू सक्रिय राजनीतिमा आइसकेकाले पछि नहट्ने पनि बताइन् । ‘पार्टी र देशलाई आवश्यक परे राजनीतिमा फर्किनुपर्छ भन्ने विचार केपीले नै राख्नुभएको थियो,’ उनले सुनाइन् । भण्डारीले एमालेभित्र वैचारिक विचलन, गुटबन्दी र विचारहीनता बढेको सन्देश दिँदै आफ्नो निर्णयबाट पछि नहट्ने बताइन् ।
उनले २०८१ वैशाख १ मा एमाले सदस्यता नवीकरण गरेको बताइन् । एमालेले सम्मानस्वरूप आफूलाई दिएको गणतान्त्रिक गौरवको सम्मानबारे पनि आफूले त्यसबेला प्रश्न उठाएको बताइन् । त्यो सम्मानबारे आफूले त्यसबेलै संशय व्यक्त गरेको उनले सुनाइन् ।
उनले विधान महाधिवेशन नभई र ११ औँ महाधिवेशनको मिति नतोकिई नेतृत्वको बहस गरिनुलाई गलत भनिन् । ‘११ औँ महाधिवेशनको मिति नतोकिँदै नेतृत्वबारे चर्चा गर्नु अनुचित हो। पार्टीको जारी बैठकमा नीतिमा भन्दा नेतृत्वका लागि भएको बहस असान्दर्भिक छ ,’ उनले भनिन्।
मदनको ७५ औँ जन्मजयन्ती’मा मतभेद
उनले जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउने कुरामा पनि अध्यक्ष ओलीसँग मतभेद देखिएको खुलासा गरेकी छन् ।
पूर्वराष्ट्रपतिले मदन भण्डारी ७५ औँ जन्मजयन्ती समितिमा एमालेकै नेताहरूलाई समेट्न खोज्दा ओलीले सहमति नदिएको बताइन् । त्यो विषयले आफूलाई असन्तुष्ट बनाएको उनले बताइन्।
‘मैले केपी कमरेडलाई समितिको संरक्षक बनाउने प्रस्ताव गरेँ, उपाध्यक्षबाट एकजना राखौँ भनेँ, उहाँले मान्नु भएन। यस्तो के कारणले हो?’ उनले प्रश्न गरिन्, ‘जनसंगठनका अध्यक्षहरूलाई समितिमा राखौँ भन्दा पनि उनीहरू काममा व्यस्त छन् मिल्दैन भन्ने जवाफ दिनु भयो ।’
प्रतिक्रिया