बहिनी यो तिहारमा म घर आउँदिन | Khabarhub Khabarhub

बहिनी यो तिहारमा म घर आउँदिन


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 8 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर आउलान् भनेर बाटो हेरेर बसिरहेकी छिन् तर मेरो भनें आजसम्म तिहारको लागि घर जाने टुंगो छैन । अरुबेला पनि आफ्नो गाउँ रमाइलो नै हुन्छ तर यो दशैं तिहारको बेला भनें आउनेजानेको लर्कोले गाउँलाई बेग्लै पहिचान दिने गर्दछ । गाउँघरका धेरैजसो घर गएर रमाइलो गर्न थालेका छन्, फुर्सद हुनेहरु चोकबजार निस्केर पैसा तिर्ने नपर्ने सित्तैमा गफ लगाइरहेका छन् भनें बल्लबल्ल घर पुगेर घरै बसौं भन्नेहरु पनि घरमा केही न केही गरेर नै बसेका होलान् ।

दशैं–तिहारको बेला गाउँ नै पूरै हाँसेको देखिन्छ । काठमाडौंको जीवन अझै त्योमाथि पनि आफ्नो काम सिधै जनतासँग जोडिने भएकाले सबैलाई घर नपठाई मलाई प्रायः घर जानेः फुर्सद नै हुँदैन । भरसक दशैंमा चाहिँ घर जाने नै गरेको थियो पहिले तर पछिलो समयमा २७ महिनासम्म झापाको गौरादह नपुग्दा गाउँ कस्तो भयो होला, घर कस्तो भयो होला, गाउँघरका साथीभाइहरु के गर्दै होलान् भन्ने लागिरहेको थियो तर यसपालिको दशैंमा भनें म घर जाँदै गर्दा ती प्रश्नको जवाफ आइसकेको छ । म त त्यसै पनि अर्थ राख्ने मान्छे किनकि काठमाडौ बसेको छु, काठमाडौंमा जस्तै दुःख गरेर बसे पनि काठमाडौं बसेको मान्छेको बेग्लै अर्थ हुने गर्दछ गाउँमा, जुनकुरा मैले म सानै छँदा र गाउँघरका मान्छे काठमाडौं बस्दा र गाउँ फर्कदा भोगेको थिएँ । हुन त गाउँका कुनै पनि घरका मान्छे काठमाडौं नआएका छैनन् । काठमाडौं त के वल्लाघरे, पल्लाघरे अमेरिकामा बसेर सम्पन्न जीवन बिताइरहेका पनि छन् त्यो तुलनामा म र काठमाडौं केही पनि होइन तर सबैको साझा मान्छेजस्तो भएको, सबैलाई समान ढंगले हेर्ने र विभेदका आँखामा बस्न कसैलाई नदिने भएकाले पनि म गाउँमा थोरै भए पनि पहिचान नै बनाएर बसेको छु।

स्कुलमासँगै पढेको, बाल्यकालमा गुच्चा र खोप्पी, चुंगी, डण्डीबियो, छुरजस्ता खेल खेल्दा प्रायःजसो जितिरहने पल्लाघरको साथी कमलले धेरै अघिदेखि दशैंको मुखसम्म नै ‘पत्रकार कहिले आउने ? भनेर बुबालाई सोधिरहेको थियो अरे, मेरा बुबालाई पनि के थाहा हुनु र म कहिले जान्छु– आउँछु भन्ने तर पनि बुबाले फूलपातीपछि नै आउँछ होला भनिदिनुभएको रहेछ, नभन्दै त्यस्तै पनि भयो । अहिले पनि कमल ’तिहारमा कहिले आउँछस् ? भन्दैछ, अस्ति दशै मानेर काठमाडौं आउने बेलामा पनि भेटेर उसले तिहारमा आइज न, बसेर रमाइलो गर्नुपर्छ, रम्नुपर्छ, जम्नुपर्छ, बाँचुञ्जेल त हो नि रमाइलो गर्ने भनेर राम्ररी सम्झाएको छ । उसले थप केही कुरा पनि गरेको छ, ती सबै लेख्न सान्दर्भिक छैनन् । कमलले मलाई अझै पनि जम्ने तरिका कस्तो भन्ने भनेको छैन तर मैले अनुमान भनें पाइसकेको छु ।

मेरो बानी कमललाई थाहा छ र उसले भन्न खोजेको कुरा पनि मैले नबुझेजस्तो गरेर भए पनि बुझेकै छु । आफ्नैमात्र चर्चा गर्न खोजेको त होइन तर पनि म घर गएपछि त्यहाँको माहौल नै बेग्लै हुन्छ । पत्रकारिता गरेर काठमाडौंमा २० वर्ष बिताएको मात्रै होइन नेताहरुसँग रेडियो, टिभी र पत्रिकामा अन्तरवार्ता लिएको गाउँलेले देखेकाले अबको राजनीति के हुन्छ ? भनेर गाउँलेले बारम्बार सोध्ने गर्छन् । हुन त कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, दुई पटसम्म सांसद जितेका उनका दाइ दीपक कार्कीमात्रै होइन एमालेका त खुङखार नेता भएको ठाउँ, अझ त्यसमा पनि स्थानीय तहका प्रतिनिधि कसैलाई पनि नजान्ने र नबुझ्ने भन्न मिल्दैन किनभनें अहिलेसम्म उनीहरुकै कुराले गाउँ चलिरहेको छ । यो अवस्थामा मेरा कुरा नबिके पनि होलसेल कुरा नराखी व्यक्तिगत छलफल गर्ने भएकाले मेरो गफ पनि चानचुने हुँदैन । हुन त धेरैले जो भेट्यो त्यसै अनुसारको कुरा गर्छन्, थोरै खुशी पारेर बढी लाभ लिने दाउ उनीहरुको होला, मलाई यो अवस्थामा त्योभन्दा बढी लोभ भए पनि सत्य कुरा गर्दै, तपाईं यस्तो मान्छे, उस्तो मान्छे, यसो भन्दा उसो लाग्ला भनेर गफ दिन पछि परेको छैन । पार्टीका मान्छेलाई आफ्नो पार्टीको बचाउ गर्नुपर्छ, थोरै ढाँटेर भए पनि आफू र आफ्नो पार्टी राम्रो देखाउनुपर्छ तर मलाई त्यो लोभ छैन । राजनीतिको सप्रसंग व्याख्यासहित सबै राजनीतिक इतिहास सम्भावना र चुनौती भनिदिएपछि बुझ्नेले जसरी बुझे पनि मलाई आफ्नो काम सकिएको महसुस हुन्छ ।

यसपालिको दशैंमा घर गए पनि विभिन्न कारणले गर्दा राम्रोसँग गाउँ घुम्न पाइएन, चोकमा बसेर चिया, चटपटे र चना चिउरा खाँदै चुइगम पड्काउने रहर पूरा भएन । टीका लगाउन हुल नै बाँधिएर जानुपर्ने भएकाले पनि कहीँ बाटामा कसैलाई भेट्दा पनि नदेखेजस्तो गर्नुपर्ने बाध्यता अरुलाई जस्तो मलाई पनि भयो । बोल्न थालेपछि भरसक अरुले नबोलुन् भन्ने मलाई लाग्छ भन्ने मलाइसहित धेरैलाई थाहा छ ।

फेरि मध्यदशैं पनि नभई पानी दर्केकाले पनि गन्तव्यहरु पुग्ने इच्छा पानीले नै बगाइदियो । काठमाडौं आउन हतार र सबै संयन्त्रको व्यवस्थापन प्रमुख भएकाले दशैंमा घर लगिएका धेरै इच्छाहरु काठमाडौंबाट बोकेर त लगें तर जस्ताको त्यस्तै नै फिर्ता ल्याएँ । अब केही दिनमा काठमाडौंबाट धेरै मानिस गाउँ नगएको र म एक्लैजस्तो भएको बेला गाउँ गएर सित्तैमा पाइने बाँकी धेरै इच्छा पूरा गर्ने छु ।

काठमाडौं बसेको मान्छे, साथीभाइलाई थोरै भए पनि खर्च गरौं, चियापान गराउँ, मिल्यो भनें पोखरीको डिलतिर गएर ‘तिहार त हो नी खानुपर्छ’ भनेर राती अबेरसम्म बस्दै पुरानो बाबुबाजेको संस्कृतिलाई निरन्तरता दिन पनि मन छ । समाजले नचिन्ने त कुरै भएन, देखे भनें ‘यो पनि बिग्रेछ’ भन्ने खतराबाट पनि बच्नु छ । हुन त हाम्रो कसैको पनि पेशा त्यही होइन, चाडबाडका नाममा हुने खालका सामान्य तलमाथिलाई लिएर व्यक्तिमा नै लक्षित गरेर वचन लाउनु पनि राम्रो होइन । काठमाडौंमा चियाखाजा खाएको पैसाले उता हाम्रो गाउँ गौरादहमा बेलुका खाना नै खानु नपर्ने गरी जे-जे खाए पनि पुग्छ भनें किन पछि हट्ने भन्ने पनि मलाई लागेको छ तर अहिलेसम्म घर जाने टुंगो छैन ।

ढिलो जाँदामात्रै हुन्छ खोजी
छिटै घर जाँदा पनि यसको कामै रहेनछ, कति छिटो आयो भन्छन् कि भन्ने पनि पीर छ त्यसैले पनि दशैंतिहारमा अन्तिममा घर जाने मेरो बानी छ, यसको पछि पनि अरु धेरै तथ्य छ, जुन कुरा व्यक्तिगत भेटमा मन मिल्दा भनें भन्दा फरक पर्दैन । यताबाट खुजुरा पैसा साटेर गाउँघरका केटाकेटीलाई २०-५० रुपैंयाँ दिँदा उनीहरुलाई आफ्नो बनाउन सकिन्छ भन्ने मेरो पुरानै लाइन हो, यसपालि पनि तिहारमा खुजुरा साटेर बाँड्ने तयारी गरेको थिएँ ।

चिन्नेले त चिनिगए नचिनेकाले पनि पैसा पाएपछि ‘गंगा अंकल’ भनेर चिन्थे भन्ने लक्ष्य हो मेरो । गाउँमै बसेर पढेको त्यहीँको हावापानीसँग बर्षौ बिताएकाले पनि गाउँघरका हिजोका प्रत्येक याद मलाई आउने गर्दछ । शहरमा बसेर जति नै ठूला कुरा गरे पनि, ठूलै होटेलमा बसेर महँगो पिजा र बर्गर खाए पनि गाउँघरको तत्लाघरकी कान्छी दिदीको खेतको बारीमा फलेको सागको डुकु टिपेर खान नि मलाई मजा आउँछ । पुष-माघमा गुन्द्रुक सिंकी निकालेको बेला गाउँका प्रत्येक घर चारेको र आलो गुन्द्रुक अचार बनाएर खानासँग जिब्रो पड्काउँदै खाँदा कतिपय अवस्थामा अरुलाई फेरि खाना पकाउनुपरेको याद पनि ताजै छ ।

गाउँको जिन्दगी रमाइलो नै हुन्छ, गाउँमा टिक्न नसकेर होइन, गर्नुपर्ने सामान्य प्रगति गरिसकेर अवसरको खोजीमा काठमाडौ छिरेको हो म । घर जानेबित्तिकै झोला बिसाएर आमाबुबालाई दर्शन गरेर हिँडेको छोरो कतिबेला घर फर्किने हो कसैलाई पनि पत्तै हुँदैन । तल्लोघर, पल्लोघरमा चिया खाँदै तिहारको रोटी, अरसा, पापड, टोक्रीले मेरो मन निकै तान्ने गरेको छ । दिएर भन्दा पनि ओहो दिदी, भाउजु भन्दै, खासै नाता नभए पनि नाता लगाउँदै खाएको हिसाब गरेर साध्य नै छैन ।

गाउँको हापपाइन्ट र प्याटप्याटे चप्पल
गाउँमा हुँदा हापपाइन्ट लाउन र प्याटप्याटे चप्पल लाउन नै रहर लाग्दछ । हामी त त्योबेलामा चप्पलको लोती चुँडिदा बत्तीमा लोती जोडेर लाउने मान्छे, हिँड्दा नचुँडिने चप्पल पाउनु त भाग्यकै कुरा थियो । लोतीको रङ फरक हुनु, साइकलको घण्टी नबज्नु र कराउँदै ‘ओइ बाटो छोड’ है भन्दै हिँड्नु हाम्रो मौलिक पहिचान नै बनेको थियो । घर वरिपरि रहेको अम्बा खानु, छिमेकीको घरमा गएर होक्से, भुँइकटहरजस्ता सामग्री नसोधी खानु नै गाउँको खास पहिचान हो । आमा भन्नुहुन्छ ‘यो छोरो त बल्लतल्ल घर आउँछ तर पनि एकैछिन पनि घर बस्दैन ।’ आमालाई छोरो जनताको मान्छे भइसकेको थाहा नहुन सक्छ । आमाले मलाई सानै देख्नु नै आमाले मलाई गर्ने माया हो । फेरि घरमा बसेर पत्याउन नसकिने वा आमाबुबाले बुझ्न समस्या हुने कुरा म नगर्ने भएकाले पनि छोरो सोझै छ भन्ने बुबाआमालाई लाग्नु अनौठो पनि होइन । उहाँहरु अहिले मैले गरेको कामप्रति खुशी नै भए पनि मुख्य मुद्यामा केन्द्रित हुन नसेकोमा भनें दुःखी हुनुहुन्छ, जसका कारण कतिपय अवस्थामा मैले फोनमा थोरै बोल्नपरेको छ भनें, कहिलेकाहीँ भनें अन्तिममा ‘अरु त ठिकै छ होला नि ? म एकछिन उता र त्यता जानुपर्ने छ भन्दै प्रहारबाट उम्किने प्रयास गर्नु पनि मेरो आफ्नै कलाकौशलभित्र पर्दछ । पत्रकारिता गरेर बिग्रिस, तेरै उ साथीले त्यस्तो प्रगति गरे, जग्गा किनेर घर बनाए, अहिले पनि राम्रो कमाई छ, तैले भनें काठमाडौं गएर पनि केही गरिनस् भन्ने बुबाआमाको प्रश्न, सुझाव र आलोचना पचाइसकेकाले मलाई अब भनें त्यो नौलो विषय नै लाग्दैन।

सबैको जिवनमा एउटा लक्ष्य हुन्छ त्यसलाई तिलाञ्जली दिएर कसैले भनेको वा सम्झाएको भरमा नै उसले आफूले लगानी गरेको क्षेत्र छोड्न सक्दैन, मलाई पनि त्यस्तै भएको छ अहिले आफैंलाई सम्झाउनुको विकल्प नै छैन । घरमा साह्रै धेरै किचकिच गरिरहे एकछिन बाहिर निस्किनु नै अन्तिम विकल्प हो, फेरि बल्लतल्ल घर गएको छोरोलाई सधैं एउटै प्रश्नले पेलिरहने कुरा पनि आउँदैन । राजनीतिमा बुबालाई धेरै चासो हुने भएकाले उहाँसँग भनें प्रायः राजनीतिक कुरा हुन्छ । उहाँ ७३ वर्ष पुग्नुभएकाले उहाँको बुझाइ र मेरो बुझाइमा फरक हुने भएकाले बुबाले जे चाहनुहुन्छ त्यही भनिदिएजस्तो गर्नु मेरो कर्तव्य नै हुने छ । मैले भनेको कुरा नपत्याउने सम्भावना भएकाले नै बुबाकै कुरामा सही थप्दा कुनै दुश्मनी हुने कुरा भएन । आमालाई भनें राष्ट्रिय राजनीतिमा चासो भए पनि मेरो शब्दमा प्रतिकार नहुने भएकाले ‘यसो हो कुरा’ भनेर बुझाउने नै प्रयास गर्छु । मतदानका बेला पनि आमाकै भावना बुझेर कुरा गर्ने मेरो चलख्याँइ नै हो । मेरो घर रहेको झापाको गौरादहको डिपु चौक सबैको साझा केन्द्र भएकाले सबैजना भेला गफ गर्नु हाम्रो विशेषता नै हो । आफूले सम्मान गर्नैपर्नेलाई सम्मान र नमस्कार गर्ने, सँगै बसेर चिया खाँदै दुःखसुखका कुरा गर्ने र कसैले ठूलै पद पाएको छ भन्दैमा अनावश्यक चाकरी र चाप्लुसी गरेर परिक्रमा नगर्ने मेरो आफ्नै शैली छ । मानिसहरु अरु क्षेत्रमा विज्ञ भए पनि पत्रकारितामा त ‘म नै हो उभन्दा जान्ने’ भन्ने मलाई लाग्दछ ।

दशैंतिहारको महत्व यति धेरै छ कि यो एउटा चाडबाडमात्रै होइन, आफन्त र साथीभाइलाई भेट गराउने पर्व पनि हो । बीचमा कुनै समय घर नजाँदा भनें फेरि घर जान वर्षदिन नै लाग्ने गर्दछ । दशैंमा आफू घर जाँदा सबै व्यवस्थापन भइसकेकाले पनि अब घर गएर के गर्ने होला, कसरी व्यवस्थापन गर्ने होला ? को टीका लगाउन आउँछ कि आउँदैन, कस्ता पैसा दिने, खाममा हाल्ने कि हातैमा ठाडै दिने भन्ने चिन्ता नभएकाले पनि मलाई प्रादेशिक परिवारको मात्रै चिन्ता रहने गर्दछ ।

घर नगएको २७ महिना
म घर नभएको २७ महिना भइसकेको थियो दशैंमा । बरालको परिवार ठूलो भएकाले पनि दशैंको बेला कहिले कसैको निधन हुने त कहिले को सुत्केरी हुनेलगायतका समस्याले गाँज्ने गर्दछ । यो नियम नरोकिने हुनाले स्वाभाविक नै मान्नुपर्छ तर चिन्दै नचिनेका ‘बराल खसे अरे’ भन्दैमा पैसा जोगाउने मुख्य उद्देश्यले टीका नै नलाउनु भनेको तानाशाही कदम नै हो भनेर मैलेजस्तै अरुले पनि भन्दै आएका छन् । ६ वर्षअघि पनि यस्तै कसैको निधन भएर टीका लगाइएन तर ती मान्छे को हुन् र मेरा के पर्छन्, बुबाले के सम्बोधन गर्नुभएको थियो भन्ने अझैसम्म पत्ता लागेको छैन । दशैंमा मानिसको निधन हुँदा टीका लगाउन नहुने र त्योबाहेक अरु सबै गर्न मिल्ने परिपाटी पनि घातक नै बनेको छ । टीकामा दक्षिणाखर्च भनेर छुट्याइएको केही रकम बचाउनुबाहेक यसमा कुनै अर्को तर्क देखिँदैन । फेरि दशैंको बेला यस्तो हल्ला यति छिटो आउँछ कि मृत्यु भएका मान्छेको ढुकढुकी नै सेलाइसकेको हुँदैन ।

म अझै पनि ६ वर्षअघि मृत्यु भएका बराल मेरा के पर्थे भनेर सोधिरहेको छु, घरकी हजुरआमा र जान्नेबुझ्ने माइला बढीबुबाले पनि जवाफ दिन सकेका छैनन् । दशैंमा कस्तो अवस्थामा टीका लगाउने र कस्तो अवस्थामा टीका नलगाउने भन्ने प्रष्ट मापदण्ड नहुँदा आफूअनुकूल निर्णय हुनु पनि अचम्मको कुरा होइन । दशैंमा नगएपछि बीचमा अरुबेला घर जाने समय पनि जुरेको छैन ।

सालोको बिहेले जुरायो
धन्न २०८० सालको असार ११ गते माइलो सालो सन्तोषले विवाह गरिदिएकाले घर पुग्न पाइयो भन्ने बेला भएको छ । सामान्य अवस्थामा घर जानु भनेको बिनाकामको खर्चमात्रै भन्ने मानसिकता विकास भएको छ । अहिले त हाम्रो घर अगाडिको बाटो पनि पीच भयो अरे, देख्नसमेत पाएको छैन । पहिले एक पटक पीच गर्नका लागि ग्राभेल गर्दा त हुँइकिएर तल्लो गाउँ पुगेको थिएँ, यसपालि त्योभन्दा थोरै समय लाग्ने भएकाले त्यसमा सतर्क रहेको छु । पीचमा कुद्नुको आनन्द नै बेग्लै छ, अब म पनि विकसित गाउँको मान्छे भइसकें भन्ने लाग्छ ।

खेलमा झ्याली भएपछि…
भनिन्छ ‘दशैं खाने पर्व हो, तिहार खेल्ने’ तर त्यसो भन्दैमा दशैंमा कोही नखेली बस्दैन र तिहारमा खानु हुँदैन भनेर भोकै बसेको पनि देखिँदैन । पुरानो परम्परा बचाउने भन्दै आधुनिकताले नछोएको ‘कलब्रेक’ तास खेल्नु मेरो रुचीको विषय हो । पैसा मार्दा पनि थोरै र पैसा जाँदा पनि थोरै जाने भएकाले यो खेलको लागि म संचालक समितिको अध्यक्ष नै बन्ने गरेको छु । आफूले खेल्दा नजान्ने र सिकाउन भने जान्नेको संख्या पनि गाउँमा कम छैन । आफ्ना साथीभाइसँगै काका, मामा, पल्लाघरे बा, घिमिरे कान्छो, गाउँकै केदार, मास्तिरको यादव, परतिरको ख्यामुलगायतका खेलका मेरा साथी हुने गर्दछन् । अलिकति पाका उमेरका अग्रज व्यक्तिले ‘म त बुढो मान्छे, आँखा पनि देख्दिन’ भन्दै जानीजानी झ्याली गर्दा पनि आममाफी नै दिने गरेका छौं । तास खेल्न थालेपछि घरबाट चिच्याएर खाना खान र खाजा खान आइज भनेकाले पनि हामीलाई छुनेवाला छैन । गाउँघरमा पीङ हाल्ने चलन अझै छ, क्षेत्र छुट्याएर गाउँमा दुई-तीनवटा पीङ त्यतिबेला हुन्थे भनें अहिले पीङको संख्या पनि घटेको छ, यसको कारण युवाहरु कम हुनु हो । पीङ लगाउन निकै समय मिहनेत र पाटा पनि धेरै चाहिने भएकाले पनि पीङ संस्कृति ओझेलमा पर्दै गएको छ । पीङमा ‘मेरो पालो आएन’ भनेर झगडा गर्नुलाई पनि अनौठो मान्नु पर्दैन ।

दशैंतिहारमा घर जाँदा आनन्दले बसिन्छ । घर गएपछि काठमाडौंको कामको तनाव पनि अन्त्य हुने र उता बेग्लै माहौल बन्ने भएकाले कुरा गरेर साध्यै छैन । तर यसपालि चाडबाड मनाउने मनस्थिति पनि मानिसमा खासै छैन । राजनीतिक रुपमा परिवर्तन नै भएको महसुस भए पनि गत भदौमा भएको जेनजी आन्दोलनले मानिसमा खुशी दिन सकेको छैन । अकालमा धेरै युवाको ज्यान गएकाले खुशीले तिहार मनाउने अवस्था छैन । बहिनीलाई कसैले ‘किन उ नआएको अरे? भनेर सोध्दा सानो स्वरमा यसपालि आउँदैन अरे, भ्याएन अरे भन्नुको विकल्प छैन ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ११ : ०४ बजे

प्रधानमन्त्रीसँग जेन–जी युवाको भनाभन : बारबरा फाउन्डेसनको बचाउ गरिन्, जनमत संग्रहबारे कुरै सुन्न मानिनन्

काठमाडौं– जेन-जी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारपक्षबीच मंगलबार बालुवाटारमा

ओलीको टिप्पणी : अचानक पलाएको सरकारका धाक-धम्कीसँग हामी डराउँदैनौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४

जेन-जीका नाममा जलाइएको बालकोटस्थित घरमा ओली (तस्बिरहरू)

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४

अमेरिकी राष्ट्रपतिको दक्षिण कोरिया भ्रमणअघि उत्तर कोरियाद्वारा धेरै क्षेप्यास्त्र प्रक्षेपण

सियोल- उत्तर कोरियाले बुधबार बिहान धेरै वटा छोटो दूरीका ब्यालेस्टिक

जलाइएको घर हेर्न बालकोट पुगेका ओलीले भने- यो सरकार मसँग दुष्मनी मोल्दैछ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४