काठमाडौं- भदौ २३ गते १३ देखि २७ वर्ष उमेर समूहका जेनजी युवाहरुले सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरे । २३ गते आन्दोलन सुरु भएको पहिलो दिनको केही घण्टामै सुरक्षा संयन्त्र तथा जेन–जी पुस्ताबीच ठेलमठेल र बलमिच्याँइको अवस्था बन्यो ।
भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा काठमाडौं उपत्यकामा १९ र इटहरीमा २ जना गरी १९ जना युवाको जीवन गुम्यो । आफूहरुमाथि प्रहरीले दमन गरेको भन्दै २४ गते पुनः प्रदर्शनकारीको भीड सडकमा उत्रियो । यस दिन उनीहरुका अगाडि सरकारसहित सुरक्षा निकायले घुँडा टेके । अन्ततः राति १० बजे सेना सडकमा आएपछि अवस्था सामान्य बन्दै गयो ।
आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट सरकारी क्षेत्रमा करिब १ खर्ब तथा निजी क्षेत्रमा ८० अर्ब रुपैँया बराबरसम्पत्तिको क्षति पुगेको प्रारम्भिक आंकलन गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार जेन–जी आन्दोलनका क्रममा देशभर २ हजार ७९ वटा भवनमा आगजनी तथा तोडफोड भयो ।
जसमध्ये ५ सय १९ भवन पूर्ण रूपमा जले भने १ हजार ५६० मा आंशिक क्षति पुगेको छ। यीमध्ये प्रहरीका १९७, सरकारी २१०, पार्टी कार्यालय ४५ र आवासीय तथा व्यापारिक ९७ भवन पूर्ण रूपमा जलेका छन । यस्तै २ सय ५८ प्रहरी, ८३६ सरकारी, १ सय ७४ पार्टी र २ सय ९२ आवासीय तथा व्यापारिक भवनमा आंशिक क्षति पुगेको छ।
प्रदर्शनका क्रममा लगाइएको आगोको रापमा पिल्सिएका भवनमध्ये एक हो कलंकी मालपोत कार्यालय । २३ गतेको घटनापछि २४ गते मालपोत कार्यालयमा कुनै कर्मचारी आउनसक्ने अवस्था थिएन । जसकारण विगत १६ वर्षदेखि सोही कार्यालयमा सहयोगीका रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका सिन्धुपाल्चोकका प्रेमप्रसाद मैनाली मात्रै कार्यालयमा थिए ।
त्यसैले कार्यालय सुरक्षाको जिम्मा पनि उनले नै लिनुपरेको थियो । २४ गते बिहान कलंकी चोकमा ठूलो सङ्ख्यामा जम्मा भएको आन्दोलनकारीको भीड तितरबितर पार्न प्रहरीले बल प्रयोग गर्न थालेपछि कलंकी क्षेत्रमा भएका सरकारी कार्यालयमा तोडफोड र आगजनी सुरु भयो ।
त्यस दिनको घटनाक्रमलाई नजिकबाट नियालेका मैनालीका अनुसार सुरक्षार्थ प्रहरीले यत्रतत्र पारेको भीड सर्वप्रथम उनीहरुमाथि नै हाबी भएको थियो । चोकबाट चक्रपथ हुँदै बल्खुतर्फ आएका केही आन्दोलनकारीले भाटभटेनी नजिकै रहेको प्रहरीकै कार्यालयमा आगजनी गरे ।
त्यसपछि भाटभटेनी नजिकै अवस्थित प्रहरी प्रभागलाई पनि उनीहरुले निशाना बनाए । ती दुई कार्यालय जलाएपछि त्यहाँबाट अगाडी बढ्ने क्रममा करिब ११ः३० बजे २-३ सय जनाको हुल मालपोत कार्यालय अगाडि पुगे ।
त्यति ठूलो हुल एक्लैले नियन्त्रण्ण हुने नदेखेपनि कार्यालय नजलाउन मैनालीले आन्दोलनकारी सामु विन्ती बिसाए । आक्रोशले भरिएका आन्दोलनकारीले उनीतर्फ ध्यान दिएनन् । कार्यालयको अण्डरग्राउण्डमा रहेका सवारीमा बोतलमा लिएर आएको प्रज्वलनशील पदार्थको सहायतामा आगजनी गरे ।

‘रोक्दारोक्दै २ वटा मोटरसाइकल बाहिर सडकमा ल्याएर आगो झोसे । गाडी त अन्डरग्राउण्डमै आयो लगाइदिए । नगर भन्दा मानेनन् । त्यतिगरेपछि उनीहरुलाई हटाइयो । बाइक त जले । गाडीको आगो एकछिनमा आफैँ निभ्यो,’ मैनालीले भने ।
उनले थपे, दोस्रो पटक फेरी पाँच जनाको समूह गुलेली लिएर आयो, माथि हान्न खोज्दै थिए, तीनलाई पनि हटाए,’ । साढे तीन बजेतिर पुनः २० जना प्रदर्शनकारी कार्यालय प्रवेश गरे ।’
‘मैले यो सम्पत्ति तिमीहरुकै करबाट बनेको हो, भोलि सबैलाई समस्या हुन्छ नगर भनेर हरेक किसिमबाट रोक्न प्रयास गरिरहेँ । कोही कालो माक्स लगाएका थिए भने कोही अनुमानित ३५/३६ वर्ष उमेर समूहका थिए, उनीहरुले आगजनीको प्रयास गरे ।’ उनले भने ।
‘पेट्रोजस्तो के लिएर तिनीहरु माथि पनि गए, यहाँ सहायता कक्ष रहेको ठाउँको जेनेटरमा पनि आगो लगाउन खोजे । त्यो भने मैले रोकेँ । त्यसबेलासम्म भवनको तल्लो तलाका केही भाग जलिसकेको थियो । त्यसपछि उनीहरु निस्किए । म एक्लोको केही उपाय लागेन,’ निराश हुँदै उनले भने ।

‘सरकारकै भएपनि सम्पत्ति जल्दै गर्दा पारीपट्टिबाट करिब ३/४ सय जनाले जोडसँग ताली पिटे, रमिते बने,’ आक्रोशका साथ उनले थपे ।
जलिरहेको भवन हेर्न राति ११ बजे फेरि अन्दोलनकारी कार्यालयको गेटमा आइपुगेको उनी सुनाउछन् । ‘उनीहरुलाई विवादित जग्गाका कागजात तामेली राखिएको माथिल्लो तलाबारे कसरी थाहा रैछ कुन्नी रोडबाट तामेली बाकिँ नै रछ, जाऔँ भन्दै थिए, मलाई देखेपछि पछि हटे,’ उनले बताए ।
सोही क्रममा मालपोतको विपरीतमा रहेको नापी कार्यालयमा साढे ११ बजे आगलागी भयो । ‘यहाँबाट गएपछि त्यही समूहले होला सायद दिनभर जोगिएको नापीमा आगो झोसेछन्,’ उनले बताए ।

भू–अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनीको हक संरक्षण गर्ने मुख्य जिम्मेवारी बोकेका २२ मालपोत कार्यालय जेन–जी आन्दोलनका क्रममा भएको आगलागीबाट क्षतिग्रस्त बने । ती मध्ये १० वटा ध्वस्त छन् ।
प्रतिक्रिया