भारत– गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ । भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ ।
यही माघ १ गतेदेखि सुरु भई ४५ दिनसम्म सञ्चालन हुने उक्त कुम्भमेलामा हिन्दु धर्मावलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गङ्गा, यमुना र पौराणिक सरस्वती नदीको सङ्गममा स्नान गर्ने गर्छन् । मेलामा ४५ करोड तीर्थालु भक्तजन आउने विभागले अनुमान गरेको छ । हिन्दु धर्मावलम्बीहरूको पवित्र भूमि प्रयागराजमा महाकुम्भ स्नान गर्न भारत, नेपालसहित विभिन्न मुलुकबाट लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् ।
उत्तर प्रदेश पर्यटन विभागका महानिर्देशक ईशा प्रियाले एक सय ४४ वर्षपछि परेको महाकुम्भमेलाको विशेष महत्व रहेको भन्दै प्रयागराज महाकुम्भको अद्भूत आनन्द लिन सबैमा आह्वान गरे । उनले सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि महाकुम्भमेला उपयोगी बन्ने विश्वास व्यक्त गरिन् ।
मेलाको रौनक
मेलामा स्नान गर्न आउने तीर्थालु भक्तजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । मेलालाई दृष्टिगत गर्दै भारत सरकारले २५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।
मेलाको आकर्षणका रुपमा इलाहावाद सडकका चोकचोकमा सूचनामूलक ब्यानर, पोष्टर र झिलीमिली बत्तीले झकिझकाउ पारिएको छ । तीन नदीको सङ्गमस्थलमा दायाँ र बायाँ किनारमा तीर्थालु भक्तजनका लागि बासस्थानका निम्ति स्तर अनुसारको सुविधासम्पन्न अस्थायी ‘टेन्ट हाउस’हरु निर्माण गरिएका छन् । रातको समयमा टेन्ट हाउस क्षेत्रमा झिलीमिली बत्तीले मेलाको रौनकलाई थप बढावा दिएको छ ।
मेलामा बास व्यवस्थापनका लागि अस्थायी शिविर, स्वास्थ्य शिविर रहेका छन् । एक लाखभन्दा बढी टेन्ट स्थापना गरिएको छ । मेलामा नागाबाबा, अघोरी बाबाको भिन्न आकर्षण देखिन्छ । मेलाको सुरक्षालाई मध्यनजर गर्दै नदीको पानीमुनि २५ हजारभन्दा बढी सिसी क्यामेरा जडान गरिएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मेलामा पुग्ने तीर्थालुको सहजताका लागि प्रयागराज विमानस्थलबाट सात हजारभन्दा बढी बसको व्यवस्था गरिएको छ । पाँच सय ५० सटल बस, १३ हजारभन्दा बढी रिक्सा, १३ हजार ट्रेन, तीन हजार विशेष ट्रेनको व्यवस्था मिलाइएको छ ।
यसैगरी, मेला क्षेत्रमा ४३ अस्थायी अस्पताल स्थापना गरिएका छन् । सरकारी र निजी गरी ६ हजार शय्याको व्यवस्था छ । एयर एम्बुलेन्ससहित सडक एम्बुलेन्सको व्यवस्था गरिएको छ । हेलिकोप्टरबाट मेलाको अवलोकन गर्ने प्रबन्ध समेत गरिएको छ ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत महाकुम्भमेला अवलोकन गर्न पुग्ने बताइएको छ ।
दश करोड बढीले स्नान गरे
महाकुम्भमेलामा हालसम्म १० करोडभन्दा बढी व्यक्तिले पवित्र स्नान गरेको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । दैनिक एक करोड हाराहारी भक्तजन महाकुम्भ पुगिरहेका छन् । मेलाको आज १०औँ दिनमा पनि तीर्थालुको उत्तीकै घुइँचो रहेको छ ।
पवित्र नदीहरूको सङ्गममा स्नान गर्दा पापमोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । मेलामा सहभागी धर्मावलम्बीहरूको ताँती अन्तरिक्षबाट देख्न सकिने बताइएको छ । दैनिक एकदेखि डेढ करोड भक्तजनले गङ्गा स्नान गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
ज्योतिषीहरूले निश्चित ग्रह र नक्षत्रहरूका आधारमा नुहाउने मिति र शुभ समय तय गरेका छन् । त्यसका आधारमा स्नानका लागि सोमबारबाहेक अन्य पाँच दिन शुभ रहेको बताइएको छ । कुम्भमेला हिन्दु धर्मावलम्बीको एक महान् स्नान पर्व हो । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले उल्लेख गरेका भए पनि हालसम्म जम्मा पाँचवटा स्थान मात्र पत्ता लागिसकेका छन् । ती पाँच स्थानमध्ये भारतका चार ठाउँमा प्रत्येक तीन–तीन वर्षको अन्तरालमा लाग्दछ भने एक कुम्भस्थल नेपालमा पर्दछ । कुम्भमेला हुने स्थलहरुमा इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र), हरिद्वार (उत्तराखण्ड) र चतराधाम (बराहक्षेत्र, सुनसरी नेपाल) रहेका छन् ।
के हो महाकुम्भमेला ?
यो मेला एक स्थानमा प्रत्येक १२ वर्षमा लाग्ने गर्दछ । हिन्दु धर्मका सबै ग्रन्थमा कुम्भमेलाको वर्णन गरिएको पाइन्छ । धर्म ग्रन्थका अनुसार जो व्यक्ति कुम्भमा स्नान गर्दछ त्यो सम्पूर्ण पापबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ । भारतका चार कुम्भमेलाका सन्दर्भमा सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ सङ्क्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई महाकुम्भ भनिन्छ ।
कुम्भमेला भारतको तीन ठाउँमा लाग्ने गरेको थियो । तर २०५९ वैशाख १ गतेदेखि नेपालको सुनसरी जिल्लास्थित चतराधाममा समेत लाग्न थालेको छ ।
‘डिजिटल’ महाकुम्भ
भारतको संस्कृति मन्त्रालयका अनुसार महाकुम्भमेलामा विज्ञान प्रविधिको पनि भरपुर उपयोग गरिएको छ । प्रयागराज महाकुम्भमा अध्यात्म र नवप्रवर्तनको असाधारण मिश्रणका रुपमा ‘सेट’ गरिएको छ । आधुनिक प्रविधिलाई अँगालेर उच्च–टेक सुरक्षा उपायहरुदेखि डिजिटल भूमि ‘आवंटन’हरु र ‘इमर्सिभ भर्चुअल’ वास्तविकता अनुभवहरु, महाकुभ्भ २०२५ ले भक्तहरुलाई पूर्वाधार, सुरक्षा र डिजिटल सेवाहरुमा व्यापक तरिकाका साथ महाकुम्भ परम्परा र प्रविधिबीचको मेलमिलापको नमूना बनेको छ । भक्तजनको सुरक्षाका लागि विशेष साइबर सुरक्षा व्यवस्था सुरु गरिएको छ ।
साइबर सुरक्षा
उत्तर प्रदेश सरकारले प्रिन्ट, डिजिटल र सोसल मिडियासहित प्रत्येक प्लेटफर्म प्रयोग गर्ने निर्णय गरेको छ । एआई, फेसबुक, एक्स र इन्स्टाग्राम जस्ता प्लेटफर्महरू शोषण गर्ने गिरोहहरूको अनुसन्धान गरिरहेका छन् । व्यापक जनचेतना अभियानका लागि मोबाइल साइबर टोली पनि तैनाथ गरिएको छ ।
उत्तरप्रदेश पर्यटन विभागका अतिरिक्त रणनीतिक अधिकृत आकाश दीपले प्रयागराज महाकुम्भले ऐतिहासिक रेकर्ड बनाएको बताउँदै धार्मिक पर्यटन अभिवृद्धिमा टेवा पुग्ने धारणा राखे । वनारसी टुरिजम गिल्टका अध्यक्ष सन्तोषकुमार सिंहले १२ वर्षपछि लाग्ने कुम्भमेलामा हिन्दु नेपाली पर्यटकलाई सहभागी हुन आह्वान गरे । आगरा ट्राभल एजेन्ट एसोसिएसनका महासचिव कौशलेन्द्र सिंहले महाकुम्भ मेलाले क्षेत्रीय धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने बताए ।
महाकुम्भमेलामा पहिलो दिन मकर सङ्क्रान्तिका दिन महामण्डलेश्वरले शाही स्नान गर्ने चलन छ । त्यसो त श्रीपञ्चमी, शिवरात्रि र पूर्णिमा पनि शाही स्नान गर्ने प्रचलन छ । उक्त दिन शाही स्नानका कारण केही समय सर्वसाधरण भक्तजनका लागि केही असुविधा हुने समेत आयोजकको भनाइ छ । अन्य दिन भने भक्तजनहरुले सहज रुपमा महाकुम्भ स्नान गर्नेगरी विभिन्न घाटहरु निर्माण गरिएको छ भने घाटसम्म पुग्नका लागि मोटरबोट तथा डुङ्गाहरु पर्याप्त मात्रामा उपलब्ध छ ।
महाकुम्भको इतिहास पुरानो छ । केही ग्रन्थहरुका अनुसार सत्ययुगमा पहिलो महाकुम्भमेला आयोजना भएको मानिन्छ । जसको सुरुआत शङ्कराचार्यले गरेका थिए । जानकारहरुका अनुसार कुम्भको परम्परा हजारौँ वर्ष पुरानो हो ।
नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा तीर्थालुहरु महाकुम्भ मेलामा गइरहेका छन् । साथीभाइ, परिवार र समूह बनाएर नेपालीहरु प्रयागराजमा स्नानका लागि गएका हुन् ।
समुद्र मन्थनको समयमा देवता र दानवहरू अमृत पाउनका लागि लडिरहेका थिए, सोही क्रममा भगवान् इन्द्रका छोरा जयन्त अमृतको भाँडा लिएर भागिदिए, त्यसपछि ती दानवहरू पनि कलश लिन जयन्तको पछि लागे । यस समयमा राक्षस र देवताहरूबीच भयानक युद्ध भयो । जब जयन्त अमृत कलश लिएर भागे, अमृत कलशका केही थोपा भने चार ठाउँमा खसे, जहाँ अहिले महाकुम्भ आयोजना गरिएको छ । त्यसबेलादेखि, प्रयागराज, उज्जैन, नासिक, हरिद्वारमा १२–१२ वर्षको अन्तरालमा कुम्भमेला आयोजना गरिएको पाइन्छ ।
प्रतिक्रिया