काठमाडौं– संसद् त्यस्तो ऐना हो, जहाँ जनताका हरेक सरोकारका विषयको दृश्य देख्न, सुन्न पाइन्छ । जनप्रतिनिधिमार्फत् सुनिने त्यही विषयले कार्यपालिकालाई दिशा निर्देश गर्छ ।
जनताका सन्देशबाहक जनप्रतिनिधिहरूको गतिविधिमा जनताको कसी लाग्ने गर्छ । त्यति मात्र होइन, नागरिकका नजरमा उनीहरूको राजनीतिक मानक यहीँ भित्रका गतिविधिबाट स्थापित हुन्छ । हरेक संसद् अधिवेशन सांसदहरूका लागि अघोषित परीक्षा पनि हो । त्यसैले संघीय संसद्लाई जनताद्वारा चुनिएका जनप्रतिनिधिहरूको पहिचान स्थापित गरी व्यक्तित्व विकास र मतदातालाई प्रभावित पार्ने थलोका रूपमा लिइन्छ ।
कतिपय सांसदहरूले संसद्को भरपुर सदुपयोग गरेर आफ्नो व्यक्तित्व विकाससँगै मतदाताको मन जित्ने गरेका छन् । कतिपय सांसद अक्क न बक्कको स्थितिमा देखिएका छन् । आत्मविश्वासको अभावमा कति सांसद कुण्ठा पालेर बसेका छन् । त्यसो त कुनै पनि पार्टीको संसदीय दलले यो बोला सांसदलाई बोलाउने अभ्यास नै गरेका छन् ।
जनताबाट अनुमोदन भएर सांसदको हैसियतमा पुग्ने जनप्रतिनिधिहरूमध्ये कतिपय संसद्को सदुपयोग नै नगरी पाँच वर्षे कार्यकाल बिताउने सांसदहरू थुप्रै छन् । संघीय संसद्को अघिल्लो कार्यकालमा नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाललगायतका केही सांसदहरूले राम्रो छाप छाडेका थिए । भावुकता, बौद्धिकता, विषयसँगको रुझान, बोलीमा स्पष्टताको आधारमा संसद्मा सांसदको छनोट हुन्छ ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू मध्ये यसपल्ट पनि त्यस्तै केही चर्चित अनुहारहरू छन्, जसले आमनागरिकमा कुनै न कुनै प्रकारले छाप छोड्न सफल देखिएका छन् ।
गत निर्वाचनबाट प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फका ११० जना विभिन्न दलका २७५ जना प्रतिनिधिसभामा सदस्यहरू छन् । जसमध्ये केही चर्चित सांसदहरूको चर्चा गरौँ ।
‘ग्ल्यामर’ले धानेको रास्वपाको साख
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिसभामा २१ सिट छ । जसमध्ये चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी सांसद रवि लामिछाने निलम्बनमा परेका छन् । उनी रास्वपाका सभापतिसमेत हुन् ।
रास्वपाका सांसदहरू प्रतिनिधिसभालाई सदुपयोग गरेर आम नागरिकमा आफ्नो छाप छोड्न भरमग्दुर प्रयासरत देखिन्छन् । रास्वपाका सबै सांसदहरू युवा भएकाले पनि उनीहरूका प्रति आम नागरिकको चासो बढेको देखिन्छ । यही कारण संसद् बैठकको प्रत्यक्ष प्रसारण (लाइभ) प्रचलन बढेको देखिन्छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि निलम्बित रास्वपा सभापति लामिछाने यसअघि सांसदको हैसियतमा संसद्मा आक्रामक ढंगले प्रस्तुत हुने गरेका थिए । रास्वपाबाट प्रतिनिधित्व गर्ने सांसद युवा पुस्ताका धेरै भएकाले पनि उनीहरूले संसद्मा दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा छाउने गरेको छ ।
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेपछि प्रतिपक्षी हैसियतमा पुगेको रास्वपाले आसन्न हिउँदे अधिवेशनमा पनि आक्रामक रूपमा पेस हुने सम्भावना देखिन्छ ।
‘प्रतिपक्षी आवाज हाम्रो हिजो पनि स्थापित आवाज हो । यो अधिवेशनमा जनताका मुद्दामा प्रतिपक्षीय भूमिका अझै प्रभावशाली बनाउँछौँ,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भन्छन् ।
उनले जनताका दैनिक जीवनसँग जोडिएका मुद्दादेखि भ्रष्टाचारका मुद्दा उठाउने, कानून निर्माणमा विशेष ध्यान दिँदै संविधानमा व्यवस्था भएअनुसारको कानून निर्माणका लागि हिउँदे अधिवेशनमा विशेष काम गर्ने बताए ।
‘हामी जनताको दैनन्दिन जीवनसँग जोडिएका मुद्दादेखि भ्रष्टाचारका मुद्दा उठाउने, कानून निर्माणमा विशेष ध्यान दिन्छौँ,’ परियारले खबरहबसँग भने, ‘संविधानमा व्यवस्था भएअनुसारको कानून निर्माण गर्न सदनमा यो हिउँदे अधिवेशनमा विशेष काम गर्छौँ ।’
रास्वपाबाट डा. स्वर्णिम वाग्ले, मनिष झा, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सन्तोष परियार, सुमना श्रेष्ठ, सोविता गौतम, डा. तोसिमा कार्कीलगायत सांसदहरूको प्रभावकारी प्रस्तुति देखिँदै आएको छ ।
कांग्रेस : प्रतिपक्षमा क्रान्तिकारी, सत्तामा आज्ञाकारी ?
संसदीय व्यवस्थाको हिमायती मानिने नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन–२०७९ बाट सबैभन्दा ठूलो दलका रूपमा उदाएको थियो । पछिल्लो समय संसदीय व्यवस्थामा विरलै मानिने अभ्यास गर्दै कांग्रेसले दोस्रो ठूलो दलसँग मिलेर सरकार गठन गरेको छ ।
कांग्रेस–एमाले मिलेर गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो अधिवेशन अन्त्य भएपछि अहिलेसम्म विभिन्न ६ वटा अध्यादेशहरू ल्याएर शासन–सत्ता चलाइरहेको छ ।
यसअघि प्रतिपक्षमा हुँदा होस् कि आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा होस् कांग्रेसका सांसदहरू बेथितिविरुद्ध संसद्मा आक्रामक रूपमा प्रस्तुत हुँदै आएका थिए । कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. चन्द्र भण्डारी, रामहरि खतिवडा, सुशीला थिङलगायतलाई संसद्मा खरो ढंगले अभिव्यक्ति दिने सांसदका रूपमा लिने गरिन्छ ।
उनीहरूले संसद्मा दिने अभिव्यक्ति सबैले सुन्ने र सत्ता पक्षले गम्भीर रूपमा लिने पनि गरेको छ । तर, यसपल्ट आफैँ ओली नेतृत्वको सरकारको साझेदार भएका कारण कांग्रेसका चर्चित अनुहारहरूले माघ १८ गतेदेखि सुरू हुन गइरहेको अधिवेशनमा कुन रूपमा आफूलाई प्रस्तुत गर्छन्, चासोको विषय बनेको छ ।
तर, माघ ३ गते सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको संसदीय दल कार्यसमितिको बैठकमा महामन्त्रीसमेत रहेका सांसदद्वय थापा र शर्माले अध्यादेश सहमतिमा नै आएकाले थप चर्चा गर्न आवश्यक नरहेको बताइसकेका छन् ।
‘बैठकमा अध्यादेशका विषयमा पनि कुराकानी भयो । अध्यादेश ल्याएको जानकारी गराउनुभयो महामन्त्रीज्यूले । यसमा पोजिटिभ कुरा भयो,’ संसदीय दल कार्यसमिति बैठकमा सहभागी युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलेभनेका थिए, ‘छलफल गरेरै अध्यादेश ल्याएका हौँ, यसमा थप चर्चा–परिचर्चा नगरौं भन्नुभयो ।’
तथापि, कांग्रेसका सांसदहरू डा. शेखर कोइराला, एनपी साउद, डा. चन्द्र भण्डारी, अजुर्ननरसिंह केसीले मन्त्रिपरिषद् बैठकबाट गत पुस २६ गते राति सरकारले अध्यादेशका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि विरोध गरेका थिए ।
रक्षात्मक एमाले
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेबाट पनि संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने अनुहारहरू अनेक छन् । जसमा प्रमुख सचेतक महेशकुमार बर्तौलादेखि रघुजी पन्तसम्म पर्दछन् । तर, आसन्न हिउँदे अधिवेशनमा उनीहरूको अभिव्यक्ति सरकारको बचाउमा केन्द्रित हुने निश्चितजस्तै छ ।
सरकारले ल्याएका ६ वटा अध्यादेश संसद्मा पेस भएपछि प्रतिपक्षी दलहरूले विरोध गर्ने सम्भावना अत्याधीक छ । यस्तै सत्ता साझेदार कांग्रेसभित्र सरकार गठनअघि दुई दलबीच भएको ७ बुँदे सहमतिअनुसार सरकारले काम गर्न नसकेको गुनासो सुनिँदै आएको छ ।
सातो हराएको माओवादी
संघीय संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता समीकरण भएपछि अप्रत्याशित ढंगले प्रतिपक्षी कित्तामा पुगेको नेकपा माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२ सिट छ । माओवादीका ३२ जना सांसदमध्ये कसैको पनि संसद्मा भूमिका खासै प्रभावकारी देखिएको छैन ।
संसद्को अघिल्लो कार्यकालमा प्रभावकारी भूमिकामा देखिएका सांसद अमनलाल मोदीको संसद्मा यसपल्टको भूमिका अपेक्षाकृत देखिँदैन । माओवादीका तर्फबाट अन्य सांसदको तुलनामा सांसद हितराज पाण्डे र माधव सापकोटा चर्चित अनुहारमा पर्छन् ।
पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद जनार्दन शर्माको संसद् बैठकको उपस्थितिलाई गम्भीर रूपमा लिइए पनि पछिल्लो अधिवेशनमा भूमिका प्रभावकारी मान्न सकिँदैन ।
हेर्नलायक चित्रबहादुर केसी र प्रेम सुवाल
प्रतिनिधिसभामा समान एक सिटको प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीलाई संसद् अधिवेशनको समयमा रोचक साथ हेरिनेमा पर्छन् । साना दलबाट निर्वाचित जनप्रतिनिधि भए पनि उनीहरूले संसद्मा उठान गर्ने विषयका कारण सुवाल र केसीलाई सुन्ने गरिन्छ ।
कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्य बनेका डा. अमरेशकुमार सिंह पनि संसद्भित्रका चर्चित पात्रको सूचिमा पर्दछन् । उनी संसद् बैठकमा एकपल्ट लुगा नै फुकालेर चर्चामा आएका थिए । स्वतन्त्र सांसद सिंह प्रतिनिधिसभामा जनजीविकाका, सुशासनलगायतका मुद्दा उठाउने सांसदमा पर्दछन् ।
राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा)का अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पनि चर्चित अनुहार हुन् । उनीहरूले पनि संसद् बैठकमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् । प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् ।
एमालेबाट चोइटिएर गठन भएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको प्रतिनिधिसभामा १० सिट छ । एकीकृत समाजवादीका मेटमणि चौधरीबाहेक अन्य सांसदहरूको संसद् बैठकमा भूमिका अपेक्षाकृत देखिँदैन ।
मधुरा मधेशवादी
मधेश प्रदेशलाई आधार बनाएका राजनीतिक दलहरूबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पनि संसद्मा खासै गतिलो प्रस्तुत देखिँदैन । मधेश प्रदेशलाई आधार बनाएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले गत निर्वाचनबाट प्रतिनिधिसभामा १२ सिट जितेको थियो । तथापि, यतिबेला यो दल फुटिसकेको छ ।
यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र डा. सीके राउत नेतृत्वको जनमत पार्टीको प्रतिनिधिसभामा क्रमशः ४ र ६ सिट छ । पश्चिम तराईंबाट उदाएको रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका पनि प्रतिनिधिसभामा ४ जना सांसद छन् ।
प्रतिक्रिया