बनाउँदा बनाउँदै अलपत्र छाडिए हुलाकी मार्गका पुल (तस्बिरहरू) | Khabarhub Khabarhub

बनाउँदा बनाउँदै अलपत्र छाडिए हुलाकी मार्गका पुल (तस्बिरहरू)



काठमाडौं– झापाको केचनाकवलदेखि गौरीगन्जसम्म यात्रा गर्नेले हुलाकी राजमार्ग अन्तर्गत पर्ने कनकाई, बिरीङ र रतुवा नदीका पुलहरू मध्ये कन्काई नदीको पुल अलपत्र अवस्थामा देख्दा ठेकेदारको चरम लापरबाही उदाङ्गिएको थाहा पाइनेछन् ।

हुलाकी मार्ग केही ठाउँमा बाहेक कालोपत्रे बनिसकेको छ । सडक कालोपत्रे भएर मात्र नहुने रहेछ, बीचमा आउने खोला–नदीहरूमा पक्की पुल छैन भने त्यो कालोपत्रे सडकको महत्त्व स्वतः घट्दो रहेछ भन्ने उदाहरण झापामा देख्न सकिन्छ ।

कालोपत्रे फराकिलो सडक विस्तार गर्दागर्दै आसपासका बासिन्दाले नसोचेको विकासको नमूना घर आँगनमा देखेका थिए । तर जब खोला नदीमा पुल निर्माणमा ढिलाइ, लापरबाही हुन थाल्यो तब कालोपत्रे सडक विस्तार मात्र सबैथोक होइन रहेछ । 

खबरहबकर्मीका रूपमा केही साता अघि केचनाकवलदेखि गौरीगन्ज सम्मको हुलाकी मार्गमा मोटर साइकल यात्रामा निस्कँदा मनै खिन्न हुने विकास भइरहेको पाइयो । 

विरिङ खोलामा ठेकेदार कम्पनी लामा/मैनाचुली जेभीले पुल त बनायो तर पश्चिमी किनारको मोहडामा कमजोर बांध हालेकाले गत असोजमा बाढीले भत्काइदियो । पूर्व पश्चिम कालोपत्रे सडक छ, बीचमा पक्की पुल छ तर न स्थानीय बासिन्दा त्यो पुल भएर जान सके, न सवारी साधन नै । 

करिब १५ मिटर जति बाढीले बगाएपछि काम चलाउकालागि मोटर साइकल र पैदल यात्रु वारिपारि गर्न फलामे अस्थायी पुल बनाइएको थियो । तर त्यहाँ स्कुल बस, एम्बुलेन्स, वा चार चक्के सवारी साधन चल्न सकेका थिएनन् । स्थानीय बासिन्दाको लगातार दबाब पछि बाढीले कटान गरेको स्थानलाई पुरेर  हालै मात्र पुल र कालोपत्रे सडक जोडिएको छ ।

विरिङ पुल त जसोतसो निर्माण भयो तर ७ सय २५ मिटर लम्बाइको कनकाई नदीको पुल भने ०६८ सालदेखि अलपत्र छ । कनकाईको बीचबीचमा लामा लामा पिलर, मोटामोटा र फलामे रड र तेर्साएका वीमहरु देखिन्छन् । ती पुलको मुनीबाट आकाश तिर हेर्दा यस्तो लाग्छ कुनै खण्डहरमा पुगियो । 

नेपालमै खराब पुल र सडक निर्माण गर्ने भनेर कुख्यात पप्पु कन्ट्रक्सन कम्पनीले निर्माण सुरु गर्दागर्दै छाडेपछि महादेव जेवीले फेरि ठेक्का पाएको कनकाई पुलको अवस्था यति नाजुक र उदेक लाग्दो छ, हलिवुडका लागि एक्सन थ्रिलर मुभी सुटिङ गर्ने थलो जस्तो देखिन्छ ।

१३ वर्ष अघि बन्न सुरु भएको कनकाईको पुल निर्माण हुँदाहुँदै प्राविधिक समस्या आएकाले ढिलाइ भएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले जानकारी दिए । ‘झापाको कनकाई पुल अहिलेसम्म किन अलपत्र ?’ भन्ने खबरहबले जिज्ञासामा उनको भनाई थियो, ‘ठेकेदार कम्पनीले अलिकति गर्ने अनि वीचमा छाड्ने गरे । 

प्राविधिक त्रुटि पनि देखियो । त्यो प्राविधिक त्रुटिलाई पुलचोक इन्जिनियरिङ अध्ययन संस्थानका प्राविधिकहरूले मर्मत गरेका छन् । अव लोड टेस्ट गर्न बाँकी छ । त्यसपछि फेरि निर्माण कार्य सुरु हुन्छ ।’ स्थानीय बासिन्दाहरूले ठेकेदार कम्पनीले पुल निर्माण गर्दै गर्दा तोकिएको मापदण्डअनुसारको लोड थाम्नु भन्दा अगाडि नै क्र्याक भएकाले पुल निर्माण अलपत्र बनेको हो ।

०६८ मा पप्पु कन्ट्रक्सनले ३२ करोड रुपैयाँमा निर्माण गर्ने सम्झौता गरेको थियो । हालसम्ममा ५ प्रतिशत पनि निर्माण नभएको कनकाई पुलको लागत बढेर यो १३ वर्षपछि एक अर्ब रुपैयाँ भन्दा बढी खर्च हुने देखिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीले जनाएको छ । कनकाईपुल कम्तीमा पाचासात वर्षमा निर्माण सम्पन्न भएको भए यति बेला झापाको दक्षिणी भेगमा बस्ने स्थानीय बासिन्दाको जनजीवनमात्र आर्थिक परिवर्तन आइसक्ने थियो । 

पुल निर्माणमा लापरबाही भएपछि स्थानीय बासिन्दाले पानी बग्ने भागमा करिब दुई सय मिटर लामो बाँसको पुल बनाएका छन् । तर दुख लाग्दो कुरो बाँसको पुल तर्नकालागि पैदल यात्री, मोटरसाइकल यात्रीले २० रुपैयाँ देखि ५० रुपैयाँसम्मको शुल्क अनिवार्य तिर्नु पर्छ । पश्चिमी तट तिर पर्ने गौरिगन्ज गाउँपालिकाले सर्वसाधारणको सहजताकालागि आफै बाँसको पुल निर्माण नगरेर अरूलाई कमाइ खाने अवसर दिनुले स्थानीय सरकार कति कमजोर अवस्थामा छ भन्ने पनि देखाउँछ ।

पूर्वपश्चिम हुलाकी मार्गको इतिहास

तत्कालीन राणा प्रधानमन्त्री पद्म शमशेर विसं २००२ देखि २००४ सम्म सत्तामा रहेका बेला हुलाकी राजमार्गको अवधारणा बनिएको हो । हुलाकीहरूलाई चिठ्ठी पत्र बोकेर ओहोरदोहोर गर्न छिटो र सजिलो होस् भन्ने उद्देश्यले पूर्वपश्चिम हुलाकी राजमार्गको निर्माण शुरु गरेको बताइन्छ ।

हुलाकी सडक निर्माणको काम शुरु भएको करिब ७९ वर्ष भए पनि गलत ठेकेदार कम्पनीका कारण सर्वसाधारणले सास्ती खेपिरहेका छन् । भनिन्छ, मेचीदेखि महाकालीसम्म  सवारीसाधन चल्न सक्ने वैकल्पिक राजमार्गको रूपमा हुलाकी राजमार्ग समयमा नै निर्माण सम्पन्न हुने हो भने करिब ८० लाख तराईवासीहरु प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । 

पूर्वमा मेचीदेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको तराईका भू–भागका २० जिल्ला हुँदै विस्तारित हुलाकी राजमार्गको कूल लम्बाइ १ हजार ७ सय ९२ दशमलव ४२ किलोमिटर रहेको छ । निर्माण शुरु भएको ७८ वर्षपछि हुलाकी राजमार्ग अन्तर्गत झापामा पर्ने ४८ किलोमिटर सडकखण्डमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । पहिलो चरणमा मेची नदीदेखि राजगढसम्मको सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ भने राजगढदेखि रतुवा खोलासम्मको काम दोस्रो चरणमा सम्पन्न भएको छ । राजगढदेखि रतुवा पुलसम्म २८ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ७५ करोड ३२ लाख ३१ हजार तीन सय रुपैयाँमा ठेक्का लागेको थियो ।

मोरङमा हुलाकी सडकको कूल लम्बाइ ४४ किलोमिटर छ । त्यसमध्ये विराटनगर बजार क्षेत्रको अढाइ किलोमिटर क्षेत्रबाहेक सबैतिर सडक निर्माणकै चरणमा छ । जसमध्ये रतुवा खोलादेखि १६.५ किलोमिटर पश्चिमसम्मको क्षेत्रको सडकको काम लगभग पूरा भइसकेको छ । पिएस गजुरमुखी मोतीदान जेभीले ठेक्का पाएको छ । तर ठेकेदार कम्पनी हाल बेपत्ता छन् ।

हेर्नुहोस् पुरा तस्बिरहरु :

 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  २ : ४६ बजे

दुई सय ३६ ह्याचरी उद्योग बन्द

चितवन– कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका

कर्मचारी आन्दोलनले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि ठप्प

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले लेखा क्षेत्रका कर्मचारीको वृत्ति विकास सुविधा

अनमेल विवाहबारे कानून मौन, ८२ वर्षमा पिता बनेका भन्छन्- ‘छोरो हाकिम भएको हेर्न मन छ’

केही दिन अगाडि टिकटकमा विवाह भाइरल भयो। लगनको समयमा धेरैले

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

कठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक