काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वव्यापी उच्च तापमान वृद्धिको प्रमुख कारणका रूपमा रहेका हाइड्रोफ्लोरो कार्बन जस्ता रसायनको प्रयोग नियन्त्रण गर्न ‘मोन्ट्रियल प्रोटोकल’को ‘किगाली’ संशोधन गर्नु आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले उक्त प्रस्तावलाई यथाशक्य चाँडो अनुमोदन गर्न आवश्यक रहेको बताए ।
उनले ओजोन तहको रक्षा र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अति आवश्यक रहेको ओजोन तह नष्ट गर्ने पदार्थसम्बन्धी मोन्ट्रियल प्रोटोकलको किगाली संशोधन कार्यान्वयनका लागि तयार पारिएको उक्त प्रस्ताव प्रस्तुत गर्नुपरेको जानकारी गराए ।
‘ओजन तहको संरक्षणका लागि व्यवस्था भएको भियाना महासन्धि र यसै महासन्धिको अधीनमा रही ओजोन तह नष्ट गर्ने रसायन/पदार्थको उत्पादन एवं खपत कम गर्न र ओजोन तहको विनाश घटाउन तयार भएको हो’, मन्त्री ठकुरीले भने, ‘ओजोन तह नष्ट गर्ने पदार्थसम्बन्धी मोन्ट्रियल प्रोटोकलमा नेपालले अनुमोदन गरी सन् १९९४ जुलाई ६ देखि पक्ष राष्ट्र भइसकेको छ ।’
यसैगरी, मोन्ट्रियल प्रोटोकलमा विभिन्न समयमा गरिएका चारवटा संशोधनहरू (लन्डन, कोपन्हेगन, मोन्ट्रियल र बेइजिङ संशोधन) लाई समेत नेपालले अनुमोदन गरिसकेको उनले जानकारी गराए ।
यस्तै, सन् २०१६ मा रुवान्डाको किगालीमा सम्पन्न मोन्ट्रियल प्रोटोकलका पक्ष राष्ट्रहरूको २८औँ बैठकले किगाली संशोधन पारित गरेको थियो ।
मोन्ट्रियल प्रोटोकलका २० भन्दा बढी राष्ट्रले अनुमोदन गरेपश्चात् विसं २०७५ पुस १७ गतेदेखि किगाली संशोधन कार्यान्वयनमा आइसकेको छ ।
हालसम्ममा एक सय ६३ राष्ट्रले किगाली संशोधन अनुमोदन गरिसकेका छन् । यस संशोधनले ओजोन तहलाई प्रत्यक्ष असर नगर्ने तर विश्व तापमान वृद्धिको प्रमुख कारणमध्ये एक रहेका हाइड्रोफ्लोरो कार्बन तथा हाइड्रोफ्लोरो कार्बन समाविष्ट मिश्रणको प्रयोगलाई नियन्त्रण गर्ने लक्ष्य राखेको मन्त्री शाहीले बताए ।
यसले तिनको उत्पादन र खपतलाई क्रमशः न्यूनीकरण गरी वातावरणीय सन्तुलन कायम गर्न नेपाल सरकारद्वारा लिइने नीति तथा रणनीति तय गर्नेछ ।
बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । यसअघि उनले ‘मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू रघुजी पन्त, चन्दा कार्की भण्डारी, नागिना यादव, ध्रुवबहादुर प्रधान, विमला सुवेदी, माधव सापकोटा, विनिता कठायत, नारायणी शर्मा, हेमराज राई, सराजअहमद फारुकी, एकनाथ ढकाल र अब्दुल खाँनले भाग लिएका थिए ।
यसैगरी, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन, २०७९/०८० पेस गरेका थिए । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विसं २०७० मा काभ्रेबाट संविधानसभा सदस्यमा निर्वाचित हाल नेकपा (एकीकृत समाजवादी)मा आबद्ध विदुरप्रसाद सापकोटाको ५९ वर्षको उमेरमा यही फागुन ८ गते भएको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन १२ गते १ बजे बस्नेछ ।
प्रतिक्रिया