दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर « Khabarhub

दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, लहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा सुरु भएको उक्त शिविरमा उपचारका लागि दुई सय ५७ बिरामी आएका थिए । शिविर यही चैत ११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चश्मा वितरण गर्ने कार्यक्रम रहेको छ ।

आँखाको शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बासजस्ता सेवा निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्यचिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका नेत्र सहायक हरिहर श्रेष्ठससहित १६ चिकित्सक टोलीले सेवा प्रदान गरिरहेको छ ।

जिल्लाका तीन ठाउँमा सञ्चालन गर्नेगरी सुरु गरिएको शिविर यसअघि चैत ४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय ९२ जनाको आँखा जाँच, ३४ ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण र तीन सय १० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

नेत्रज्योति सङ्घले यही चैत १४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा निःशुल्क शिविर सञ्चालनको तयारी गरेको छ । यसपटकको शिविरमा जिल्लाका करिब दुई हजार आँखाका बिरामीले सेवा लिने अनुमान गरिएको आयोजकले जनाएको छ ।

जिल्लामा एक हजार पाँच सय ४२ जनामा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरूलाई संसार देखाउने उद्देश्यले निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविरको आयोजना गरिएको अध्यक्ष कसजूले जानकारी दिए ।

शिविरको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गरेका थिए । २०६० साल वैशाख १० गतेदेखि जिल्लामा औपचारिक रुपमा सेवा सुरु गरेको नेत्रज्योति सङ्घले २७ हजार पाँच सय एक जनाको उपचार गरिसकेको छ । सेवा सुरु गरेयता जिल्लाका तीन हजार ३८ ज्येष्ठ नागरिकलाई चश्मा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।

शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पतालले औषधि, उपकरण तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ८ : ३७ बजे

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला

सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक (तस्बिरहरू)

मोरङ– दुई समुदायबीच सुनसरीमा हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता