कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘कृषक पाठशाला’ | Khabarhub Khabarhub

कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘कृषक पाठशाला’


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा रैथाने सीप र प्रविधिलाई प्रयोगमा ल्याउन थालेका छन् ।

बेनी नगरपालिकाले सञ्चालन गरेको एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा व्यावहारिक ज्ञान, सीपको क्षमता विकास गरेर किसानहरूले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा स्थानीय वानस्पतिक विषादी बनाएर प्रयोगमा ल्याएका हुन् ।

पाठशाला सञ्चालनका लागि करिब एक रोपनी क्षेत्रफलमा गरिएको कोसेबालीमा देखिएका रोग कीराको समस्या समाधान गर्न प्याजको पात, केतुकी, पाती, असुरोलगायत तीतो, पिरो, टर्रो र अमिलो हुने प्रजातिका वनस्पति र बस्तुभाउको मूत्रबाट जैविक विषादी बनाएर प्रयोग गरिएको स्थानीय झरना थापाले बताइन् ।

वानस्पतिक विषादीको प्रयोगले कृषि उपजसमेत स्वस्थकर हुने गर्छ । डम्मरा माझखेत कृषक समूहका २२ जना महिला किसान सहभागी पाठशालामा खेतीबालीको बीउ लगाउनेदेखि फल उत्पादनसम्मको व्यावहारिक ज्ञान, सीप र क्षमता विकासका गतिविधि भइरहेका छन् ।

गत माघ २० गतेदेखि सञ्चालन भएको कृषक पाठशालामा सहजकर्ता सोबित शर्माले किसानहरूलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरेका छन् । पाठशाला सञ्चालन भएपछि गाउँघरमा रहेका स्रोत र साधनलाई प्रयोग गरेर कृषिको उत्पादन बढाउने र रोग कीराको पहिचान गरेर उपचार गर्ने ज्ञान सीप हासिल भएको तालिममा सहभागी स्थानीय किसान पशुपति भण्डारी खत्रीले बताए ।

हरेक साताको बिहीबार चार–चार घण्टाका दरले डम्मरा माझखेत आईपीएम कृषक पाठशाला सञ्चालन हुँदै आएको छ । वडाध्यक्ष कृष्णसिंह बानियाँले समूहका लागि पाठशाला सञ्चालन गर्न निःशुल्क रूपमा उपलब्ध गराएको करिब एक रोपनी बारीमा कोसेबालीअन्तर्गत सिमी र बोडीखेती गरिएको छ । तालिममा सिमी र बोडीखेतीसँगै आलुलगायत तरकारीखेती र अन्नबालीको बीउ लगाउनेदेखि फल उत्पादनसम्मका सिकाइ भएको स्थानीय कमला परियारले जानकारी दिइन् ।

कृषक पाठशालामा किसानहरूलाई व्यावहारिक सिकाइका लागि लगाइएको भट्टेसिमी, एसनाइन सिमी, हाइब्रिड सिमी, मिटरबोडी, मालेपाटन बोडीखेती गरिएको छ । सिमी र बोडी उत्पादन भएपछि किसानले घरायसी प्रयोगदेखि बिक्री गरेर नगद आम्दानी गर्न थालेका छन् । आईपीएम कृषक पाठशालाले एउटा बाली विशेषमा किसानलाई पूर्ण रूपमा तालिमप्राप्त बनाउने गर्छ ।

पाठशालामा कोसेबाली लगाउनेदेखि बिरुवाको हेरचाह, स्थानीय स्रोत र साधनको प्रयोग गरेर थाँक्रा बनाउने र फल उत्पादनका लागि बोटको काँटछाटका विषयमा व्यावहारिक तालिम प्रदान गरिएको छ ।

पाठशालामा सहभागी किसानले आफैँ लगाएका सिमी र बोडीको आफैँले स्याहार र गोडमेलका साथै स्थानीय वनस्पति विषादीको प्रयोग गरेर रोग कीराको उपचार गर्ने तरिकासमेत सिकेको पाठशालाका सहजकर्ता सोबित शर्माले बताए । किसानको हातबाट खेतबारीमा बीउ लगाएर फल उत्पादन गरी बजारीकरणसम्मको सबै पक्षलाई पाठशालामा नियमित प्रशिक्षण र व्यावहारिक तालिममा समावेश गरिएको उनले जानकारी दिए ।

बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सिमी, आलु, गोलभेँडा, काउली, अकबरे खुर्सानीलगायत तरकारीखेतीमा विभिन्न सात ठाउँमा आईपीएम कृषक पाठशाला सञ्चालन गरेको छ ।

विषादीरहित कृषि उपज उत्पादन, रोग कीराको नियन्त्रण र उपचारमा स्थानीयस्तरमा हुने जैविक र प्राङ्गारिक मलको प्रयोग गरी स्वस्थवर्द्धक कृषि उपजको उत्पादनमा आईपीएम पाठशाला किसानका लागि उपयुक्त थलो बनेको छ । खेतबारीमै पुगेर किसानलाई व्यावहारिक ज्ञान, सीपबारे पढाउनका लागि आईपीएम कृषक पाठशाला प्रभावकारी बनेको छ । (रासस)

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : २८ बजे

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई नियन्त्रणमा लिएको

नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल

युवतीको मृत्युपछि ‘छाउगोठ’ भत्काउन कृष्णपुर नगरपालिकाको निर्देशन

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक युवतीको छाउगोठमा मृत्यु भएपछि छाउपडी

लौरो टेक्दै उजुरी लिएर निर्वाचन आयोग पुगे नवराज सुवेदी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता

मोरङको कटहरीबाट तीन हजार केजी गाँजा बरामद

मोरङ- मोरङको कटहरी गाउँपालिका-३ कटहरी चोकबाट तीन हजार एक सय