पर्यटकको आकर्षण बन्दै चौरीखर्क « Khabarhub

पर्यटकको आकर्षण बन्दै चौरीखर्क


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बागलुङ– रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौरीखर्कसम्म तान्न पर्याप्त छन् । स्थानीहरू यो ठाउँलाई चुङ्री भन्छन् । यही चुङ्री केही समययता प्रकृतिप्रेमीका लागि गन्तव्य बन्दै गएको छ ।

हरिया डाँडामा सुस्ताउँदै प्राकृतिक सुन्दरतामै झुम्न रमाउनेका लागि यो अनुपम थलो हो भन्दा फरक पर्दैन ।

उत्तरतर्फ फैलिएका हिमशृङ्खला र भेडीगोठ पर्यटकका लागि भुल्ने बाहना बनिदिन्छन् । बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्रका गोठाला र भेडा डुल्ने समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइको चौरीखर्क गत वर्षसम्म धेरैका लागि अपरिचित जस्तै थियो । तर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थालेपछि बाहिरी मानिसका लागि यो परिचित बन्दै गएको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत दुई जिल्लाको सिमाना पातीहाल्नेदेखि सहज रुपमा चौरीलेकमा पुग्न सकिने हुँदा पछिल्लो समय दैनिक पर्यटक आउने गरेका छन् ।

लेकाली हावापानी र पोषिलो घाँस पाइने हुँदा वर्षौँदेखि बागलुङ, पूर्वीरुकुम, रोल्पा र म्याग्दीका गोठालाहरू बर्खाको समयमा यहाँ आउने गर्छन् ।

पातीहाल्नेदेखि करिब आधा घण्टा गाडीको यात्रा र साढे दुई घण्टा पैदल यात्रापछि चौरीखर्क लेकमा पुग्न सकिन्छ ।

दुई जिल्लाको सङ्गमस्थलका रुपमा रहेको चौरीखर्कमा पर्यटकको चहलपहल हुन थालेपछि गोठालाहरू अहिले दङ्ग छन् । पहिले सुनसान हुने उक्त ठाउँमा अहिले डाँडैभरी पर्यटक भरिने गरेको बागलुङको निसीखोला गाउँपालिका–६ का गोठाला भागवीर घर्ती मगरले बताए ।

‘गत वर्ष भदौमा हो जस्तो लाग्छ १२–१५ जनाको टोली चौरीखर्कमा आएको थियो, त्यसपछिका दिनमा यहाँ आउनेहरू बढ्दै गरेको देखिन्छ’, उनले भने । आफू जेठको अन्तिम साता गोठ लिएर चौरीखर्क आएको भन्दै असार महिनामै सयौँ पर्यटक लेकमा आइसकेको घर्ती मगरले बताए ।

पर्यटकलाई लक्षित गरी यहाँ अघिल्लो वर्ष पदमार्ग निर्माण भएको छ । बर्खाको समयमा चारैतिर हरियाली देखिने, वनफूल फुल्ने र भेडीगोठ भेटिने हुँदा पर्यटक बढ्न थालेको पूर्वीरुकुमको भूमे गाउँपालिका–१ गोठाला नमसिंह गुरुङले बताए ।

पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख टङ्कनाथ खनालले अघिल्लो वर्ष १० लाख रुपैयाँमा रुकुमपूर्वको रानीबास–पाइपा हुँदै चौरीखर्क जोड्ने गरी करिब पाँच किलोमिटर पदमार्ग निर्माण गरेको बताए । यसवर्ष पनि पदमार्गसहित थप पूर्वाधार निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले २५ लाख रुपैयाँ विनियोजन गरेको उनको भनाइ छ ।

प्रमुख खनालले भने, ‘गत वर्षदेखि यहाँ आउने पर्यटक बढेका छन्, यस क्षेत्रलाई प्रवर्द्धन गर्न लम्बिनी प्रदेश सरकारले पनि ध्यान दिएको छ, अघिल्लो वर्ष कोइपामा जलाकी निर्माण भएको छ, त्योसँगै पदमार्ग पनि बनेको छ, यसको प्रचारप्रसार गर्ने, पूर्वाधार थप्ने र चौरीखर्कलाई उत्कृष्ट गन्तव्य बनाउने गरी काम भइरहेको छ ।’

तुल्सीपुर दाङबाट घुम्न आएका पारस न्यौपानेले चौरीखर्क लेक निकै मनमोह रहेको प्रतिक्रिया दिए । दाङबाट बुटवल, गुल्मी, बागलुङको बुर्तिवाङ र निसीखोला हुँदै यहाँ आएको उनको भनाइ छ ।

यो याममा दाङमा निकै गर्मी रहेको भन्दै चौरीलेक आएपछि निकै आनन्द आएको न्यौपानेले अनुभव सुनाए ।

सरकारले पातीहाल्नेदेखि चौरीलेकसम्म पुग्ने विभिन्न ठाउँमा ठाउँ चिनाउने बोर्ड र ठाउँठाउँमा विश्रामस्थल बनाउन सके पर्यटकलाई सहज हुने उनको बुझाइ छ । (रासस)

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ८ : १३ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले