भक्तपुरमा पृथक गठामङ्गल पर्व, राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो | Khabarhub Khabarhub

भक्तपुरमा पृथक गठामङ्गल पर्व, राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टा कर्ण अर्थात् गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले भव्य रूपमा उपत्यकामै पृथक शैलीमा मनाएका छन् ।

नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यसपर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पुर्‍याइ जलाएर पर्व मनाएको हो ।

भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा रहेको छ । निगालोको चोयाबाट पूर्ण राक्षसरूपी गठामङ्गल बनाई बाहिर कपडाले मोडेर विभिन्न रङ लगाई राक्षसको स्वरूप बनाएर टोलटोलमा घुमाएर परम्पराअनुसार जगाति लगेर विसर्जन गरिएको छ । यसप्रकारको राक्षसरूपी अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानीय भेलुखेलका बाबुरत्न द्यौलाले बताए ।

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ सातौँ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउँछन् । उनले महादेवलाई मनपराउने राक्षसका रूपमा गठामङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको बताए ।

उनका अनुसार आजको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने गरिन्छ । आजदेखि रोपाइँ सकेर रमाइलो गर्ने, चाडबाडको परम्परा सुरू हुने दिनका रूपमा पनि मानिने डा श्रेष्ठले बताउँछन्। आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर वैद्य बताउँछन् ।

यौनसँग सम्बन्धित पर्व

भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ । राक्षसरूपी गठामङ्गललाई शरीरको रूप दिएर परालको लिङ्ग बनाई दुई वटा भोगटेको अण्डकोष बनाएर अश्लील गीतहरू गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौँदेखि चल्दै आएको उनले बताउँछन् ।

यहाँका बासिन्दाले राँको बालेर भूत भगाउने भन्दै पुत्लाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याइन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखि नै यो पर्व मनाउँदा अश्लील शब्दहरूको प्रयोग गर्ने छुट रहेको उनी बताउँछन् ।

घण्टाकर्णको दाहसंस्कार गरी फर्किंदा बाटोमा पर्ने धारा, ढुङ्गेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाँले घर सेक्ने प्रचलन पनि छ भने घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ ।

आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरू गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायत विभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैदेखि गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरू गरिन्छ ।

शक्तिपीठमा घुइँचो

त्यसैगरी, भक्तपुरका विभिन्न शक्ति पीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो ।

नेवार समुदायले आज बिहानै स्नानगरी शुद्ध भएर घरघरमा लिपपोत गरी विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । नेवार समुदायले रोपाइँ सकिएको पर्वका रूपमा पनि गठेमङ्गललाई ‘सिनाज्या ब्यङ्केगु’ अर्थात् रोपाइँ सकिएको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ११ : ०२ बजे

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ ।

गाजामा भोकभोकै मर्नथाले सर्वसाधारण : राहतका लागि संयुक्त दबाब

काठमाडौं – सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन ८ गते बिहीबार। साउन

आज २०८२ साल साउन ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ८ गते बिहीबार। साउन