वेम्बली ओभो एरिनामा मुखर नेपाल ! | Khabarhub Khabarhub

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

बेलायतमा रहेका नेपालीको प्यास नेपथ्यले मेटाएको क्षण



ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन वेम्बलीमा नेपथ्यको कन्सर्ट हेर्न म र मेरो श्रीमान अघिल्लै दिनदेखि उत्साहित थियौँ । कन्सर्ट बेलुका आठ बजेदेखि सुरु हुने थियो । फर्किँदा चिसो हुन सक्ने अनुमान लगाउँदै हातमा ज्याकेट भिरेर तीनै बजे हामी कोठाबाट निस्कियौँ ।

वेम्बली स्टेडियम स्टेशनमा ट्रेनबाट झरेपछि नेपालीहरूको लर्कोले नै कन्सर्ट हुने हलतर्फ मोडेर गेटै अगाडि पुर्‍याइदियो । नेपालीहरूको मुहारमा खुसी, हाँसो र नाचगानले आज यहाँ के भइरहेको छ भनेर अन्य मानिसहरूलाई समेत सोच्न बाध्य बनाइरहेको माहौल देखिन्थ्यो । कोही–कोही विदेशीहरू भन्दै थिए ‘आज राति प्रस्तुति दिने एक प्रशिद्ध गायक हुनुहुन्छ ।’

यही माहौलमा मानिसहरू हल बाहिर केही टिकटक बनाउन व्यस्त थिए । कोही हातमा ड्रिंक्स लिएर खाँदै थिए । फोटो खिच्दै, नाच्दै, ढाका टोपी लगाएका, नेपालको झन्डा बोकेर हिँडेका हेर्दा लाग्थ्यो, युनाइटेड किङडमभरि बस्ने नेपालीहरू एकै ठाउँमा भेला भएका छन् । वेम्बली स्टेडियम आसपासका सारा पब, रेस्टुरेन्ट, होटलहरू र सुपरमार्केटहरू नेपालीले खचाखच भरिएका थिए ।

मेरो श्रीमान् र म ट्रेनबाट यो बाटो आवत–जावत गर्दा सधैँ एउटै कुरा गर्दै हिँड्थ्यौँ, ‘यो वेम्बली स्टेडियममा एउटा मात्रै नेपाली ब्याण्डले कन्सर्ट गरेको ठाउँ हो नि । बाह्र वर्षपछि नेपथ्यले कन्सर्ट गरेर इतिहास रचेको यो वेम्बली ओभो एरिनामा आज फेरि नयाँ इतिहास रच्न गइरहेको छ । नेपथ्यको लाइभ कन्सर्ट हेर्ने मौका पाएकोमा उत्साहित हुँदै आफूलाई अत्यन्त भाग्यमानी ठान्दै सारा माहौलको भिडियो खिच्दै हिँडेँ ।

जतिबेला म हुर्किँदै थिएँ, गाउँमा बिजुली बत्ती थिएन । हामी छोराछोरीले गीत संगीत सुनुन् भनेर बुबाले ब्याट्रीबाट चल्ने क्यासेट र टेप ल्याइदिनुभएको थियो । विभिन्न क्यासेटहरूमध्ये एउटा नेपथ्यको एल्बम थियो । जुन, घरमा मम्मीले पनि गाइरहने गीतमा पर्थ्यो ।

छेक्यो छेक्यो देउराली डाँडा, जोमसोमै बजारमा १२ बजे हावा सरर जस्ता गीतहरू ममीले आफू शिक्षक ट्रेनिङमा जाँदा गाएर सुनाउनका लागि कापीको पानामा लेखेर अभ्यास गरेको याद हिजै जस्तो लाग्छ ।

आज समय फेरिएको छ । बालापनका यादहरूलाई थाती राख्दै, नेपालको माया र सम्झनालाई मुटुको एउटा कुनामा ताल्चा लगाएर राखेकी छु । काममा जाँदा होस् या बेलायतको रेष्टुरेण्टमा जाँदा अंग्रेजी खाना र अंग्रेजी गीत, संगीत या अन्य देशका संस्कृतिमा नेपालीहरू र विश्वका अनेकौँ मानिसहरू झुमिरहेको देख्छु । अनि मेरो मनमा यही विकास, यही सुविधा, यी नै घरहरू अनि यी सबै मानिसहरू नेपाली भइदिएको भए कस्तो हुन्थ्यो होला भन्ने लाग्छ ।

यी घरहरू नेपालीकै भए हुन्थ्यो नि भनेर धेरै पटक आँखा रसाएका छन् । काम गर्ने ठाउँमा कसैले नदेख्ने, नसुन्ने गरी एलेक्सामा नेपाली गीत बजाउन खोज्दै फेरि सुन्ला भनेर बन्द गर्ने गर्छु । सायद मलाई जस्तै आज यहाँ वेम्बलीमा उर्लिएका दशौँ हजार नेपालीहरूलाई पनि यस्तै अनुभूति हुन्छ होला । त्यसैले निर्धक्कसाथ ‘रेशम’, ‘रेशम’ भनेर चिच्याउन घण्टौँ लगाएर यात्रा गर्दै भए पनि यहाँसम्म आइपुगेका छन् ।

गत वर्ष श्रीमानका दाजु–भाउजूकोमा दशैं मनाउन गएका थियौँ । दाजु–भाउजू दुवै डाक्टर, छोराछोरी यतै जन्मेर ठूला भइसकेका छन् । दाजुले हामीलाई घुमाउन लिएर जानुभयो र आफ्नो गाडीमा गीत बजाउन थाल्नुभयो । पश्चिमका मौलिक लोक भाकाहरू गुनगुनाउँदै, खुसी हुँदै गीत, संगीत र आफ्नो देशलाई सम्झिँदै भावुक हुन थाल्नुभयो ।

जब म यूके आएँ, यहाँ वर्षौँदेखि बसोबास गरी आएका नेपालीहरूसँग भेटघाट गर्ने अवसर पाएँ । प्रायः सबैले आफ्नो घरलाई नै सिङ्गो नेपाल बनाएर बसेको पाएँ । नेपाली भाँडाकुँडा, खड्कुँलो, लोहोटा, झर्के थालहरू, नेपालको नक्सा, नेपालको विभिन्न भूभागका तस्बिरहरू, अनि लगभग टेलिभिजनमा नेपाली युट्युबबाट नेपाली कार्यक्रमहरू, नेपाली चलचित्र र नेपाली गीत संगीत हेरेर सुनेरै नेपालको तिर्सना मेटाएको पाएँ ।

म यहाँ अर्को प्रसङ्ग पनि जोड्न चाहन्छु ।

हामी भर्खरै आफन्त दिदीको घर गएका थियौँ । दिदीले नेपालबाट आफै सामान किनेर प्रतिकेजी एक हजार नेपाली रुपैयाँ ढुवानी खर्च तिरेर थुप्रै खानेकुराहरू मगाउनुभएको रहेछ । नेपालको हावापानीमा फल्ने मौसमी फलफूलहरू र तरकारीहरू युकेमा लगभग पाइँदैन । केही निश्चित ठाउँहरूमा निश्चित चिजहरू पाइन्छन् । त्यो पनि असाध्यै महँगो र उही स्वादको हुँदैन ।

दिदीले १० केजी आँप, सुकाएको निगुरो, सुकाएको तामा, छोप, बेसार, टिमुर, गुन्द्रुक, सुकुटी र अन्य चिजहरू मगाउनुभएछ । सुकाएका चिजहरू त सही सलामत आइपुगेछन् तर पाक्न तयार भएका देश केजी आँप भने सात– समुन्द्र पार गरेर यहाँ आइपुग्दा बिग्रिसकेछन् ।

यति दुःख र खर्च गरेर नेपालबाट मगाएको खानेकुरा काममा पनि लिएर गइन्छ । अनि कुनै बेला कुनै मानिसहरूले खानेकुराप्रति नाक पनि खुम्च्याइदिन्छन् । म भर्खरै यूके आएको थिएँ । स्टाफ रुममा गुन्द्रुक तताउँदा के हो यो भनेर नाक खुम्च्याउँदा मेरो बोली बन्द भएको थियो ।

खानाजस्तै पहिरन लगाएर हिँड्न पनि तिर्खाउनुपर्ने अवस्था आउँछ कहिलेकाहीँ । सुरु–सुरुमा त आफ्नो भाषा, खाना र भेषभुषालाई यति मिस गरेँ कि मैले नेपाल गएपछि कुर्ता सुरुवाल मात्रै लगाउँछु भन्ने भयो । आएकै साल तीज मनाउन साथीको घर गएको थिएँ । रातो कुर्ता सुरुवाल, रातो चुरा, पोते र रातो लिपिस्टिक लगाएर लण्डनको रातो बसलाई ब्याकग्राउण्डमा राखेर फोटो खिच्न निस्किएँ ।

दुई–चार जना विदेशी किशोरीहरूले मलाई देखेर एकदमै नौलो मान्दै फर्की–फर्की हेरे । अनि रोडको अर्कोपट्टि गएर जिस्क्याए । मलाई एकदमै नरमाइलो लाग्यो । ओहो यस्तो पनि हुने रहेछ । मन एकदमै खिन्न भयो । अनि थाहा भयो – आफ्नो देश छाडेर विदेशी भूमिमा आफूलाई खुसी र सुखी राख्न कति गाह्रो हुने रहेछ भनेर ।

नेपाल बाहिर बस्ने नेपालीहरूलाई नेपाली गीत, संगीत, कला, चाडबाड र संस्कृति प्रति झनै प्रेम बढ्दै जाँदो रहेछ । यो कुरा नेपथ्यको प्रस्तुति हेर्न आइपुगेका नेपालीहरूलाई बुझ्दा प्रमाणित गर्न गाह्रो परेन । अझै आजकल प्रत्येक दिनजस्तै नेपालीहरू बसोबास गर्ने ठाउँमा अनेकौँ नेपाली कार्यक्रमहरू भइरहेको समाचार आइ नै रहन्छन् । नेपालबाट कलाकारहरू दिनहुँ विदेश प्रस्तुति दिन हिँडेको सामाजिक सञ्जालमा देख्न पाइरहिन्छ ।

यो विदेशी भूमिमा चिच्याई चिच्याई आफ्नो गीत गाउन, नाच्न, आफ्नो झन्डा बोक्न, आफ्नो समुदाय भेट्न, आफ्नो भेषभुषा निर्धक्क लगाउन, एक भएर, जुटेर हाम्रो पनि गीत छ, संगीत छ भन्न विरलै पाइँदो रहेछ । त्यसैले एउटा समूह आफ्नो प्रस्तुति लिएर हामीसम्म आइपुग्दा आफ्ना सारा कुराहरूलाई एकातिर थन्क्याएर कुद्दै, अत्तालिँदै, हाम फाल्दै, रुँदै, नाच्दै, रम्दै, गाउँदै घरी–घरी भक्कानिँदै लाइभ कन्सर्ट हेर्न पुग्छौँ र दुनियाँलाई देखाउन चाहन्छौँ । दुनियाँलाई भन्न चाहन्छौँ हाम्रो नेपाली म्युजिकल ब्याण्डले पनि विश्वकै मानक ‘वेम्बली ओभो एरिना’ मा प्रस्तुति दिने ल्याकत राख्छ ।

प्रस्तुति सुरु हुनुभन्दा अगाडिदेखि नै मेरा आँखाहरूमा खुसी र आँशुमध्ये कुन अगाडि आउने भनेर तछाड मछाड गरिरहेका थिए । जब ओभो एरिना हलभित्र प्रवेश गर्नासाथ त्यो सारा नेपालीहरूलाई एक साथ देख्दा अनि त्यो भव्य हल, त्यहाँको लाइट, डेकोरेशन अनि आफूलाई मन पर्ने व्याण्डको प्रस्तुति सुरु हुनै लाग्दाको माहौलमा म आफूलाई रोक्न नसकेर रुन थाल्छु ।

खुसी र भावुकतालाई थाम्न नसकेर म चिच्याउन थाल्छु । सारा दश हजार दर्शकहरू यसै गरी चिच्याउन थाल्छन् । सायद सबैको मनमा मलाई जस्तै अनेकौँ अनुभूतिहरूले चलाएर चिच्याउने बनायो होला । अनि अमृत गुरुङ पनि भावुकताका साथ काँपेको स्वरमा गाउन थाल्छन्, ’आँगनै भरि हिउँ नै झरे…’

स्टेजको त्यो ठूलो स्क्रिनमा देखिएका नेपालका दृश्यहरूले निमेषभरमै कैयौँ पटक नेपाल पुर्याउँदै ल्याउँदै गरिरह्यो । अनि अमृत गुरुङले गाएका र बोलेका हरेक गीत र शब्दहरूले मलाई भित्र –भित्रै मुर्छा परे पार्दै, बिउँझाउँदै, लछार्दै, पछार्दै, माया गर्दै, सम्झाउँदै, सान्त्वना दिँदै, ढाडस दिँदै ‘नेपालको माया नमार है’ भन्दा मलाई भित्रभित्रै अठोट गर्ने बनायो । म जसरी हुन्छ मेरो देश अवश्य पनि फर्किने नै छु । यो मेरो आफैंले आफ्ना लागि गरेको बाचा भयो ।

मैले जस्तै यहाँ उपस्थित दर्शकहरूमध्ये धेरैले यस्तै बाचा गरे होला । युकेमा मैले भेटेका लगभग सबै नेपालीहरूको मनसाय बुझ्दा, ’म त नेपाल नै फर्कने हो’ भनेको सुन्छु ।

भोलिको परिस्थिति, छोराछोरीको शिक्षा, आएर दुःख गरेर बनाएको करिअर, स्थापित भएको सहज जीवनयापन, यहाँ पाएका भौतिक सुख सुविधालाई चटक्कै छाडेर जान मानिसहरूलाई कत्तिको सम्भव छ होला त्यो भने भन्न मुस्किल नै छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ११ : ३१ बजे

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ

कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प

खाँदबारी– कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण

रूस र अमेरिकाबीच ‘एलएनजी’ परियोजनामा सम्भावित सहकार्यबारे छलफल : पुटिन

मस्को– रूस र संयुक्त राज्य अमेरिका बीच तरल प्राकृतिक ग्यास

चीनमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२ जनाको मृत्यु, ४ जना बेपत्ता 

बेइजिङ– चीनको चिङ्हाई प्रान्तमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२