बढ्दैछ कांग्रेसमा नेतृत्व फेर्ने दबाब, विशेष महाधिवेशन बोलाउने पक्षमा उठ्यो सामूहिक आवाज | Khabarhub Khabarhub

बढ्दैछ कांग्रेसमा नेतृत्व फेर्ने दबाब, विशेष महाधिवेशन बोलाउने पक्षमा उठ्यो सामूहिक आवाज


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससभित्र नेतृत्व परिवर्तनको मागले जोर पक्रिँदै गएको छ।

८० वर्ष पुगेका सभापति शेरबहादुर देउवालाई बिदा गरेर नयाँ नेतृत्व छनौटका लागि कांग्रेसका ठूलो संख्याका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउन माग गरेका छन्।

महाधिवेशन प्रतिनिधिहरूले साझा विज्ञप्ति जारी गरेर भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमनको पनि निन्दा गरेका छन् ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा आन्दोलनकै आवरणमा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति कार्यालय शितलनिवासलगायतका संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटको भर्त्सना गरिएको छ। त्यस्ता कार्य आन्दोलनलाई बदनाम गराउने तत्वहरूले गरेको ठहर पनि उनीहरूले गरेका छन् ।

‘जेन-जी आन्दोलनमाथिको दमनको विरोधमा भदौ २४ गते भड्किएको भिडले नेपालको मुख्य प्रशासनिक केन्द्र तथा ऐतिहासिक भवन सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति कार्यालय शितलनिवास लगायतका विभिन्न सरकारी संरचना तथा व्यापारिक एवम् नीजि सम्पत्तिमाथि भएको तोडफोड, आगजनी र लुटपाटको घोर भर्त्सना गर्दछौँ’, उनीहरूले भनेका छन्, ‘उक्त कार्यमा संलग्न व्यक्तिहरू आन्दोलनलाई बदनाम गराउने तत्व हुन् भन्ने हाम्रो ठहर छ। यस्ता घृणित तत्वउपर आवश्यक छानबिन गरी कडा भन्दा कडा कारबाही होस् भन्ने हाम्रो माग छ।’

परिवर्तित राजनीतिक अवस्था र विषम राजनीतिक परिवेशमा नेपाली कांग्रेस मुकदर्शक रहन नमिल्ने पनि उनीहरूले भनेका छन् । ‘नेपालमा यस्तो अवस्था कसरी सिर्जना भयो? यसको कारण के हो? र कारक पक्ष को हो? भन्ने विषयमा अविलम्ब समिक्षा गरी निर्णयमा पुग्नु आजको प्राथमिक तथा ऐतिहासिक आवश्यकता हो’, वक्तव्यमा भनिएको छ, ‘कांग्रेसको स्थापनाकालदेखि नै पार्टीसामु धेरै संकट उत्पन्न भए। हामीले ती सबै संकट र चुनौतीसँग मुकाविला गर्‍यौँ। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रमाथिका हरेक संकटको सामना गर्दै पार्टीमाथिका आक्रमण परास्त गर्दै आएका छौँ।’

कांग्रेस सभापति शेरबहादुर देउवा र उनको परिवारमाथि भदौ २४ गते भएको आक्रमणको पनि निन्दा गर्दै उनीहरूले कारबाहीको पनि माग गरेका छन् ।

नेताहरूले कांग्रेस ‘मूकदर्शक’ भएर बस्न नसक्ने उल्लेख गर्दै देशमा व्याप्त भ्रष्टाचार, कुशासन र असन्तोष बढ्नुमा पार्टीका विगतका नीतिहरू र निर्णयहरू पनि जिम्मेवार रहेकाले आत्मसमीक्षाको आवश्यकता औंल्याएका छन्।

‘आजको अवस्था र परिस्थिति आउनुमा कतै विगतमा हामीले अख्तियार गरेका नीति, लिएका निर्णय, चालिएका कदम र हामीले गरेका काम कारवाही त जिम्मेवार छैनन् ? देशमा व्याप्त भ्रष्टाचार, कुशासन, बेथिति, समाजमा फैलिएको असन्तोष र चुलिदै गएको जनआक्रोशका लागि कतै हामी त जिम्मेवार छैनौँ?’, उनीहररुले प्रश्न गरेका छन् ‘यसबारे निर्मम समीक्षाको खाँचो छ। आज पार्टीसामु गम्भीर प्रत्र उठेका छन। यसको सामना गर्नपर्ने वाध्यता हाम्रा लागि निकै कष्टकर तर पन्छाउनै नसकिने प्रत्रहरू पहाड बनेर खडा भएका छन्।’

उनले विगतका गल्तीहरूप्रति नेतृत्वले क्षमा माग्नुपर्ने पनि बताएका छन् । ‘यी सबै विषयमा छलफल गरी विगतका गल्तीहरूप्रति आम देशवासीसँग क्षमा माग्न र सुधारिएर भविष्यको बाटो तय गर्न विशेष महाधिवेशनबाहेक अर्को माध्यम छैन’, उनीहरूले भनेका छन् ।

महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशन प्रक्रियामा जाने निर्णय गरेको उल्लेख गर्दै सबै कार्यकर्तालाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

‘वर्तमान परिस्थितिको गम्भीरता बोध गरी केन्द्रीय समितिको क्षेत्राधिकार समेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय समितिले मनन् गर्ने सम्भावना क्षीण वन्दै गएकाले हामी महाधिवेशन प्रतिनिधिहरूमा रहेको वैधानिक अधिकारको उपयोग गर्दै तयारीमा लाग्ने संकल्प लिएका छौँ’, उनीहरूले भनेका छन्, ‘यो पार्टीलाई यथास्थितिमा राखे कि अग्रगमनतर्फ लैजाने आजको मूल प्रश्न यही हो। आजको विषम परिस्थिति र संकटबाट कांग्रेसलाई मुक्त गर्न वर्तमान केन्द्रीय समिति मात्र होइन, हाम्रो पनि उत्तिकै दायित्व हो। इतिहासको यस संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरावस्थाबाट निकालेर समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको प्रक्रियामा सामेल हुन आग्रह गर्दछौँ ।’

विशेष महाधिवेशन माग्दै यसरी वक्तव्य निकाल्ने नेताहरूमा गुरुराज घिमिरे, जनकराज गिरी, रामपल्टन साह, सुरज काप्ले, मेदनी सिटौला, प्रविण ओझा, दिक्पाल शाही, युवराज पाण्डे, टीका गुरुङ, कृष्ण रिजाल, ऋषिकेश तिवारी, युवराज भट्टराई, बीरबहादुर राना, सुरेन्द्रराज आचार्य, मुकेश घिमिरे, देवराज चालिसे, तारानाथ दाहाल, विनोद खनाल, रुद्र कन्दङ्वा, कुमार लुइँटेललगयत महाधिवेशन प्रतिनिधिहरू छन्।

कांग्रेस नेताहरूले विशेष महाधिवेशनमार्फत् पार्टीलाई वर्तमान संकटबाट निकाल्ने र समयसापेक्ष, लोकप्रिय तथा सुदृढ बनाउनै पर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ३ : ०६ बजे

कञ्चनपुरमा चाडपर्वमा वन सुरक्षा गर्न द्रुत प्रतिकार्य टोली परिचालन

कञ्चनपुर– चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न

प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले गरे पदभार ग्रहण (तस्बिरहरू)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

मलेखु– अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ । बेनिघाट रोराङ

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौं– निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले

घरका एक्ला छोराको अपहरणपछि हत्या, आफन्त र छिमेकीसहित ८ जना समातिए

सिराहा- सिरहामा अपहरणपछि हत्या गरिएको अवस्थामा १५ वर्षीय किशोरको शव