मध्यरातको १ बजे सीताको फोन आयो । मध्यरातमा पहिले कहिले फोन गरेकी थिइनन् । मनमा चिसो पस्यो, कतै केही त भएन ? भन्ने लाग्यो । उनले सुरुमै मध्यरातमा फोन गरेर निद्रा डिस्टर्ब गरेकोमा ‘सरी’ भनिन् । तर एउटा खुसीले आफू निदाउन नसकेको बताइन् । खुसी भनेपछि मेरो मन शान्त भयो ।
त्यो राति उनकी छोरी पहिलोपटक रजस्वला भएकी रहिछन् । छोरी रजस्वला भएपछि उनलाई घरी पीर पर्ने घरी खुसी लाग्ने भएको रहेछ । पीडा र खुसी एकसाथ भइरहेको छ भनेर सुनाइन् । अर्को उनले ‘छोरीको पहिलो रजस्वला’ भनेर राति कविता लेखेकी रहिछन् । खास एक बजे राति कविता सुनाउन उनले मलाई फोन गरेकी थिइन् ।
उनको यति कुरा सुनेपछि मेरो पनि निद्रा हरायो । एकल आमा सीताले छोरीलाई आफ्नी आमाको जिम्मेवारीमा राखेर काठमाडौंमा एक्लै संघर्ष गरिरहेकी थिइन् । पढाई, नृत्य र साथसाथै भविष्य बनाउनुपर्ने जिम्मेवारीले छोरीलाई चितवन आमासँग राखेकी थिइन् ।
हजुरआमाकै काखमा छोडेको भए पनि त्यो रात सीता आफ्नी छोरीलाई अँगालो हालेर मायाले बेर्न चाहन्थिन् । उनका कविताका हरेक शब्दमा मैले त्यही भाव पाएँ । त्यो रात हामी सँगै रोयौँ र सँगै हाँस्यौ पनि ।

उनको र मेरो भेट काठमाडौंमै भएको थियो । एक सामाजिक संस्थामा स्वयंसेवकका रूपमा काम पनि गर्यौ । साथी थियौँ, दिदीबहिनी भयौ । एक अर्काको प्रशंसक र आलोचक थियौँ । हामी दुवै एक अर्काको आदर्श पनि थियौँ । जीवनमा तिमीले जति दुख खेप्नु नपरे पनि केही हाम्रा पीडा उस्तै थिए । सँगै हामी रोयौँ तर त्यो भन्दा धेरै सँगै हामीले हाँस्यौ पनि ।
तिमीले १२ वर्षको कलिलो उमेरमा क्यान्सरले एउटा खुट्टा काट्नु पर्यो । खुट्टा काट्न जानुभन्दा अगाडी धित मरुञ्जेल नाचेर गएको कथा मेरो लागि मात्रै नभएर हरेकको लागि प्रेरणा थियो । एउटा खुट्टा नभएपछि अब यसले के गर्छे ? कसरी बाँच्छे ? कसरी दैनिकी चलाउँछे ? भनेर तिम्रो आमाबुवा र तिमीलाई हतोत्साहित गर्नेहरूका मुखमा तिमीले बुझो लगाइदिएकी थियौ ।
आफूलाई कुनै कुरामा कमजोर नठान्ने तिम्रो आत्मबलले तिम्रो उचाइ भरेको हो । छोटो उमेरमै स्थापित नृत्याङ्गना, गायिका, मोडल र मोटिभेसनल स्पिकरको रूपमा आफूलाई परिचित गराउन सफल भयौ । देश विदेशका कार्यक्रमहरूमा सहभागी भयौ । नेपालको कला र संस्कृतिको विस्तार गर्यौ ।

‘एमएस नेपाल इन्टरनेशनल २०२३’ की विजेता समेत रहेकी तिमीले सौन्दर्यको परिभाषा बदलिदियौ । दुई हातखुट्टा र सर्लक्क परेको शरीर भएको नारी मात्रै सुन्दर हुने होइन । सौन्दर्य हृदयको गहिराइभित्र हुन्छ भन्ने प्रमाणित गरिदियौ । प्रतियोगितामा भाग लिन समेत नदिएका निर्णायकहरुले तिमीलाई विजेताको रूपमा पुरस्कृत गर्न बाध्य भएका थिए ।
त्यो एउटा ऐतिहासिक फड्कोले भोलिका पिँढीका लागिसमेत बाटो बनाएको थियो । कुनै ठाउँ छैन जहाँ शारीरिक रूपले अशक्त मान्छे कमजोर हुँदैन भनेर तिमीले प्रमाणित नगरेको होस् ।
तिमीले आफ्नो लागि मात्रै गरिनौ, परिवार, समाज र राष्ट्रको लागि एक नागरिकको हैसियतले गर्ने भन्दा धेरै गर्यौ । एक सपाङ्ग व्यक्तिले गर्ने भन्दा धेरै गर्यौ । पढाइमा अब्बल शास्त्रीय नृत्य र समाजशास्त्रमा स्नातकोत्तर सकेकी अब एमफील गर्छु भन्ने तिम्रो सपनाले मलाई झकझकाइरहेको छ ।
बिरामी हुनुभन्दा अगाडी मुम्बई गएर एडभान्स शास्त्रीय नृत्य सिकेर आइसकेपछिको ‘एकेडमी’ स्थापना गरेर नृत्य सिकाउने तिम्रो सपनाले झकझकाइरहेको छ । मानिसको जीवन अनिश्चित रहेछ । खाँदाखाँदैको भाग छोडेर जानुपर्ने रहेछ । सुतिरहेको शरीर कहिले नउठ्ने गरी ढल्दो रहेछ ।

तिमी जीवनदेखि हारेको हरकोही व्यक्तिको प्रेरणा थियौ । तिमी जीवन र संघर्षको विश्वविद्यालय थियौ । तिमीभित्र सकारात्मक ऊर्जा थियो । तर तिमी नहुँदा पनि तिम्रा सत्मार्ग हामी पछ्याइरहेनेछौ । तिमी मेरो मन मुटुमा अविस्मरणीय रहनेछौ । तिम्रो बारेमा धेरै लेख्ने मन हुँदाहुँदै पनि हात काँपिरहेका छन् ।
तिमीलाई अलविदा लेखिरहँदा शरीर स्थिर छैन । तिमी जति बाँच्यौ, सानदार बाँच्यौ । सबैलाई हौसला बाँढेर बाँच्यौ । प्यारी साथी अलबिदा…।
प्रतिक्रिया