झिनियाँको माग बढ्दो, व्यवसायीलाई उत्पादन गर्न भ्याइनभ्याई « Khabarhub

झिनियाँको माग बढ्दो, व्यवसायीलाई उत्पादन गर्न भ्याइनभ्याई


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रामपुर (पाल्पा)- यसपटक तिहारमा मागअनुसार झिनियाँ पुर्‍याउन नसकिएको व्यवसायीले बताएका छन् । तिहारको बेला व्यवसायीले झिनियाँ बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् । चाडपर्वका बेला ग्राहक तथा व्यापारीबाट माग बढी आए पनि पुर्‍याउन नसकिएको उद्यमी रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने रुद्रनारायण श्रेष्ठले बताए ।

तिहारमा पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा झिनियाँ दिने चलन बढ्दो रहेकाले माग बढी आउने गरेको उनको अनुभव छ । “व्यवसायीलाई उत्पादन गर्न हम्मेहम्मे परेको छ, उत्पादन गरेमात्र हुन्छ, व्यापारको पिरलो छैन, उद्योगबाटै धमाधम बिक्री भइरहन्छ, अहिलेको मागअनुसार पुर्‍याउनै मुस्किल पर्छ”, उनले भने । उद्यमी श्रेष्ठले रामपुरमा विगत एक दशकदेखि झिनियाँको व्यापार गर्दै आएका छन् ।

उनी यो क्षेत्रका पहिलो व्यवसायी हुन् । श्रेष्ठलाई श्रीमती लक्ष्मीले निरन्तर रूपमा व्यवसायमा साथ दिँदै आएकी छिन् । चाडपर्व छिटो, वर्षा पनि लामो परेकाले विगतका वर्षको तुलनामा पहिले नै तयार गरेर राख्न नसकिएको हुँदा चाडपर्वमा उत्पादन गर्न भ्याइनभ्याई भएको लक्ष्मीले बताइन् ।

श्रेष्ठले सञ्चालन गरेको यो व्यवसायमा छ जनाले रोजगारसमेत पाएका छन् । यसपटकको चाडपर्वमा करिब रु छ लाख बराबरको कारोबार हुने उद्यमी रुद्रनारायणले बताए । उनका अनुसार यहाँ उत्पादन भएको झिनियाँ पाल्पा, स्याङजा, तनहुँ, नवलपुर, बुटवल, भैरहवा, चितवनलगायतका विभिन्न स्थानमा खपत भइरहेको छ । रामपुर–४ सिर्जनाचोकका विष्णु सारुले यसपटक बजारको मागअनुसार थेग्न मुस्किल परेको सुनाए ।

उनले तीन वर्षदेखि निरन्तर झिनियाँ उत्पादन गर्दै आएका छन् । यसबाट मनग्य आम्दानी हुने भएपछि व्यावसायिक उत्पादनमा जोड दिएको सारुले उल्लेख गरे । घरमै झिनियाँ खरिद गर्न आउने भएपछि उद्यमीलाई बिक्रीका लागि बजार धाउनुपरेको छैन । प्रतिकिलो खुद्रा मूल्य रु एक सय र थोक मूल्य रु ९० मा बिक्री भइरहेको छ ।

छोटो समयमा कम लगानीमा घरमै बसेर आयआर्जन गर्न सकिने हुँदा हिजोआज झिनियाँ व्यवसायमा आकर्षण बढ्दो छ । बजारमा यसको माग बढ्दो रहेकाले व्यवसायीलाई सहज भएको छ । उत्पादन गर्न झन्झट गर्न नपर्ने, घरमै बसेर आयस्रोत लिने भएकाले झिनियाँलाई व्यवसायका रूपमा गाउँघरमा लिने गरिएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । हिजोआज खाजाका रूपमा पनि यसको प्रयोग बढिरहेको छ ।

तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजलगायत विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ । “पहिला बजारमा झिनियाँ अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घरघरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने कार्य गरिँदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन्”, सारुले भने ।

झिनियाँबाट मनग्य आम्दानी हुन थालेपछि हिजोआज महिलाहरूको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यावसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने भएकाले उत्पादित झिनियाँ सुरक्षित भण्डारण गरेर जुनसुकै समयमा पनि बिक्री गर्न सकिने सारुको अनुभव छ । गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ ।

बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ । चामलको पीठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिलेपहिले तिहारका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रूपमा पनि झिनियाँलाई लिने गरिन्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  १२ : १६ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित