काठमाडौं – हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ पछिल्लो समय कलाकारितामा पुनरागमन गर्ने चरणमा छन् । कलाकारिताबाट अघोषित विश्राम लिएर समाज सेवामा लागेका उनलाई चितवन रंगशालाले नराम्रो झट्का दियो ।
सर्वसाधारणबाट चन्दा सहयोग उठाएर निर्माण थालिएको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक अभावका कारण अलपत्र छोड्नुपर्यो । कलाकारिताको करिअर दाउमा राखेर अर्बौँको परियोजना अघि बढाउन खोज्दा धुर्मुस विवादमा परेनन् मात्रै नसोचेकव तनाव पनि व्यहोर्नु परेको छ ।
उक्त तनाव अझै सकिएको छैन । उनले ऋण गरे रंगशाला निर्माणमा खर्चिएको भनिएको करोडौं रुपैयाँ अझै उनको हातमा परेको छैन ।
अहिले भरतपुर महानगरपालिकले उक्त अपुरो योजनालाई पूरा गर्ने प्रतिवद्धता लिएको छ । यससँगै धुमुर्स कलाकारितामा फर्किएका छन् । वि.सं २०८० को अन्त्यबाट उनी कलाकारितामा फर्किएका हुन् ।
धुर्सुस अहिले पत्नी कुञ्जना घिमिरे सुन्तलीलाई साथ लिएर स्टेज कार्यक्रम र मेला महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन जुटिरहेका छन् ।
विश्रामपछि कलाकारितामा फर्किएको पुष्टि गर्ने गरी शुक्रबार एउटा फिल्मको पोस्टर सार्वजनिक भएको छ । धुर्मुसका भाइ कुमार कट्टेलको निर्देशन रहने फिल्म ‘लाज शरणम्’मा धुर्मुस देखिने भएका छन् । तर, निर्माण पक्षले उनको अभिनय र भूमिकालाई अझैसम्म गोप्य राख्दै आएको थियो ।
गत साउनमा यो फिल्म निर्माणको घोषणा गरिएको थियो । सिरियल ‘सक्किगोनि’ अर्थात् कुमार कट्टेल र अर्जुन घिमिरे ‘पाँडे’ नेतृत्वको टिमले यो फिल्म निर्माणको घोषणा गरेको हो ।
त्यस समयमा उनको अभिनय रहने खुलाइएको थिएन । घोषणापछि पनि निर्माण पक्षले कलाकार चयन जारी राखेको थियो ।
निर्माण पक्षले अनुबन्ध प्राय : सबै कलाकारलाई सार्वजनिक गरेको थियो । यस क्रममा पनि निर्माण पक्षले धुर्मुस फिल्ममा अनुबन्ध भएको सार्वजनिक गरेन ।
जिग्री–पाँडे प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मको छायाङ्कन गत भदौबाट सुरु भयो । असोजमा भने धुमुर्स छायाङ्कनस्थल डोल्पा पुगेको तस्बिर सार्वजनिक भएको थियो । यस फिल्ममा धुमुर्सको पनि अभिनय हुन सक्ने अड्कलबाजी सामाजिक सञ्जालमा चले ।
अर्थात् पाँडेले फिल्ममा धुमुर्सको अभिनय रहने कुरा गोप्य नै राख्न चाहेको अहिले आएर खुलेको छ ।
त्यस बेला खबरहबले अर्जुन घिमिरे अर्थात् पाँडेलाई फिल्ममा ‘धुमुर्सको अभिनय रहने हो ?’ भनेर सोधेको थियो । उनले धुमुर्सको अभिनय रहेको कुरा सत्य नभएको बताएका थिए ।
गत पुस दोस्रो साता निर्माण पक्षले तीन पोस्टर सार्वजनिक गरेको थियो । त्यस पोस्टरमा पनि धुर्मुसले स्थान पाएनन् ।
‘लाज शरणम्’ टीमले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गर्यो । यस पोस्टरमा धुर्मुस फिचर्ड छन् । यो पोस्टर अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
सार्वजनिक पोस्टरमा धुर्मुस हाल जेल जीवन बिताइरहेका विवादित कांग्रेका नेता मोहम्मद अफ्ताव आलमको गेटअफमा देखिएका छन् । पोस्टरमा उनलाई विशेष स्थानमा दिइएको छ । झट्ट हेर्दा धुर्मुस दुरुस्तै आलम देखिन्छन् ।
६ जना कलाकार समावेश उक्त पोस्टरमा ठूलो तस्बिर धुर्मुसकै छ । उनको पृष्ठभूमिमा वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई देखाइएको छ ।
यो पोस्टरले फिल्ममा धुर्मुसको महत्वपूर्ण भूमिका रहेको संकेत गर्छ । उनले नेताको भूमिका निर्वाह गरेको तथ्य पनि पोस्टरले बोलेको छ । धुर्मुसको भूमिकालाई अहिलेसम्म गोप्य राख्नुको कारणबारे निर्माण पक्षले केही खुलाएको छैन ।
यो फिल्मको प्रदर्शनम मिति फागुन १४ गतेलाई तोकिएको छ । निर्माण घोषणादेखि नै यो फिल्म चर्चामा छ ।
के थियो आलम प्रकरण ?
विस्फोटक पदार्थ (बम) समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानको कसुर गरेको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्म अफताव आलम २९ कात्तिक २०७६ देखि जेलमा छन् ।
उनलाई जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशले आलमलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो ।
आलममाथि २८ चैत २०७४ मा सम्पन्न पहिलो संविधानसभा चुनाव विथोल्नका लागि बनाउँदै गरेको बम विस्फोट भइ घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको आरोप लागेको थियो । तर उनले शक्तिका आडमा आफूलाई जोगाउँदै आएका थिए ।
२७ चैत २०६४ मा भएको उक्त घटनामा संलग्न भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय रौतहटले १२ वर्षपछि अदालतमा अभियोग पत्र दायर गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित ११ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत रौतहटमा अभियोग पत्र दायर गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमविरुद्ध कर्तव्य ज्यानमा २५ वर्ष, ज्यान मार्ने उद्योगमा १० र विस्फोटक पदार्थको उत्पादनमा ५ एवम् भण्डारण तथा ओसारपोसारमा थप ५ गरी १० सहित ४५ वर्ष कैद सजायको मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त प्रकरणमा आलमका अफताव आलमका अतिरिक्त मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह? बद्री सहनी र मुक्ति साहलाई प्रतिवादी बनाएको थियो । तर, त्यसबेला अरु सबै प्रतिवादीहरु फरार थिए ।
आलमविरुद्ध इँटाभट्टामा जलाएर मारिएका रौतहटको तत्कालीन सरुअठा गाविस–२ का पिन्टु भनिने त्रिलोक प्रताप सिंहका बुवा नारायणसिंह राजपुत र ओसी अख्तरकी आमा रोक्साना खातुनले दिएको जाहेरीका आधारमा सरकारी वकिलले मुद्दा चलाएको थियो ।
जाहेरीकर्तामध्येकी रोक्सानाको गोली हानी हत्या गरिएको थियो । उक्त घटनामा ज्यान गुमाएका व्यक्तिहरुका आफन्तले आलमविरुद्ध किटानी जाहेरी पनि दर्ता गराएका थिए । तर, रौतहट प्रहरीले जाहेरी लिनै मानेको थिएन । ।
आफन्तहरूले हुलाकमार्फत जाहेरी दिएका थिए । उक्त जोहरी बार एसोसिएशनको रोहबरमा सनाखत भएको थियो । तर, आवश्यक प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले उक्त जाहेरीका आधारमा मुद्दा नचालउने निर्णय गरेको थियो ।
पछि, बम विस्फोटमा घाइते भएर इँट्टा भट्टामा लगेर जलाइएका भनिएका रौतहटको तत्कालीन सरुअठा गाविस–२ का पिन्टु भनिने त्रिलोक प्रताप सिंहका बुवा नारायणसिंह राजपुत र ओसी अख्तरकी आमा रोक्साना खातुनले २१ साउन २०६५ मा घटनाको अनुसन्धान नगर्ने सरकारी वकिलको निर्णय बदरको मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि १२ औं पटकको सुनुवाइमा सर्वोच्च अदालतकी तत्कालीन न्यायाधीश सुशीला कार्की र डा. भरतबहादुर कार्कीको संयुक्त इजलाशले सरकारी वकिलको कार्यालयको निर्णय बदर गर्दै घटनामाथि पुनः थप अनुसन्धान गर्नु भनि १६ जेठ २०६९ मा अन्तिम आदेश जारी गरेको थियो ।
तर, आदेश कार्यान्वयन गर्न प्रहरी र सरकारी वकिल कसैले पनि तदारुकता देखाएनन् । सर्वोच्च अदालतको उक्त आदेश कार्यान्वयन नभएपछि पीडित पक्षले प्रहरीसमेतका विरुद्ध फैसला कार्यान्वयन निर्देशनालयमा उजुरी दिए ।
उक्त उजुरीपछि पुनः ८ चैत २०६९ मा प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश जारी भयो ।
प्रतिक्रिया