के सोचेँ मैले, के भयो अहिले
कसम हाम्रो अल्झाई राख
नलैजाउ टाढामा।
पुरानो नेपाली सिनेमा ‘सम्झना’मा गायक किरण प्रधानले गाएको यो गीत सामाजिक सञ्जाल तताएर नेता बन्नेका हकमा हुबहु लागू भएको छ। अरुलाई होच्याएर आफू अग्लिएका केही पात्रहरु जसले उचाले, उसैको घानमा पर्न थालेका छन्। फरक विधाबाट राजनीतिमा हाम्फालेर आफूलाई लामो रेसको घोडा दाबी गर्दै आएका उनीहरु खुइलिने क्रम बढेसँगै नेपाली राजनीतिमा पुस्तान्तरण र परिवर्तनको भोक भड्खालोमा पर्दै गएको छ। नयाँ अनुहार खुइलिँदै जानु, ७० माथिको राजनीतिक नेतृत्वले अबको दुई दशक सक्रिय राजनीतिको कोर्ट नछोड्ने अभिमान सार्वजनिक हुनु पछाडिको पृष्ठभूमि नयाँ अनुहारको अलोकप्रियता हो भन्नेमा दुईमत छैन।
इमान, नैतिकता र सदाचार राजनीतिज्ञका प्रमुख योग्यता मानिन्छ। महात्मा गान्धीले भनेका छन्- ‘आदर्शरहित राजनीति नाविक नभएको डुंगाजस्तै हो।’ त्यो भन्दा अघि खबरदारी लगाउँदै नीति भन्छ- ‘खराब मन्त्रीहरुले राज्य नाश वा विघटन गर्छन्। मात्तिएको सन्काहा हात्तीले गाउँ सखाप पार्छ। साङ्लाले घर सिध्याउँछन् भने विवेकहीन जमातले सबै पक्षको नास गर्छन्।’ राजनीतिमा शुद्धिकरण र स्थायित्वको बहस चलिरहँदा राजनीतिमा आएको नयाँ नेतृत्व किन सिल्भरको ताप्के जस्तै रन्की नसक्दै थन्किए भन्ने प्रश्न उठेको छ।
राजनीतिक एजेण्डाभन्दा सामाजिक सञ्जालको लोकप्रियताबाट नेता बनेका केही यस्ता जनप्रतिनिधि छन् , जोसँगको आशा राख्दाराख्दै निराशा शुरु भएको छ। सामाजिक सञ्जालको प्रयोगसँगै राजनीतिमा केही यस्ता पात्र उदाएका छन्। जसको धरातल निकै कमजोर रहेको छ। सामाजिक सञ्जालले बनाएका हिरोहरु, सञ्जालले नै जिरो बनाएका केही पात्रहरु यहाँ हामीले चर्चा गर्ने प्रयास गरेका छौ।
गालीबाट स्थापित इज्जत गालीमै धुलिसातः रवि लामिछाने
लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्। २०७९ को निर्वाचनमा उनी चितवन २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। राजनीतिमा प्रवेश गर्नुअघि उनी न्यूज ट्वान्टी-फोर टेलिभिजनमा प्रस्तोता थिए। ‘सीधा कुराः जनतासँग’ उनको कार्यक्रम निकै लोकप्रिय रह्यो।
उनको प्रस्तुति र सम्पादकीय दृष्टिकोणलाई जनताले अत्यधिक मन पराए। लामिछानेले ठगी र भ्रष्टाचारबाट सिकार भएका सर्वसाधारणका गुनासोलाई आफ्नो कार्यक्रममा स्थान दिने गरेका थिए। साथै वैदेशिक रोजगारका क्रमम ठगिएका र बेचबिखनमा परेका चेलीको उद्धारमा समेत उनले महत्त्वपूर्ण काम गरे। सरकारले गर्न नसकेको काम गरेर उनी जनताको विश्वास जित्न सफल भए।

निरन्तर ६० घण्टा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनी गिनिज वल्र्ड रेकड्र्ससमेत कायम गर्न सफल भए। उनको काम पत्रकारितामा सीमित नरही सिङ्गो देशलाई हाँक्न सक्ने नेतृत्वको रुपमा नागरिकले लामिछानेको नाम बहसमा ल्याए।
यसैबीच २०७६ भदौमा न्यूज २४ मै सँगै काम गर्ने सहकर्मी शालिकराम पुडासैनीको आत्महत्याको खबर आयो। सँगसँगै पुडासैनीले आत्महत्या गर्नुपूर्व रेकर्ड गरेको भिडियो आयो, जसमा आफ्नो रविको कारण आफूले आत्महत्या गर्नुपरेको बताएका थिए। लामिछाने जति पापी अरु कोही नभएको र त्यो पाप एकदिन तिमीले भोग्नुपर्छ भन्दै उनी भिडियोमो रोएका थिए।
उक्त भिडियोको आधारमा लामिछाने पक्राउ परे। तर यथेष्ट प्रमाण नपुगेपछि चितवन जिल्ला अदालतले पाँच लाख धरौटीमा उनलाई रिहा गरेको थियो। त्यसपछि विस्तारै लामिछानेका पारिवारिक गसिप बाहिर निस्कन थाले। पहिलो पत्नी इसा र दुई छोरीको वेवास्ता गरेको आरोप आयो। इशासँग विवाह गरेको २४ वर्षमा सम्बन्ध विच्छेद गरेर रविले चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलसँग विवाह गरे। आधिकारिकबाहेक अन्य महिलासँगको सम्बन्धको बारेमा पनि उनी आफैँले स्वीकार गरेको पाइन्छ। तर पनि उनको लोकप्रियता बढिरह्यो।

न्युज २४ सँगको सहकार्य छोडेर लामिछाने ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशक भए। त्यतिबेला देशमा चुनावको माहोल बनेको थियो। नागरिक पुरानो पार्टीबाट हत्तु भएका बेला स्थानीय निर्वाचनमा स्वतन्त्रले जितिरहेको माहोल थियो। नागरिकले वैकल्पिक पार्टी खोजिरहेको मेसो पाएका लामिछाने पत्रकारिता होइन, राजनीतिमा होमिनुपर्ने साइत कुरिरहेका थिए।
त्यसैअनुरुप फोरकेसँगको सहकार्य बीचैमा छोडेर उनी २०७९ असार २ मा प्रतिनिधि सभा निर्वाचन लड्न राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे। चितवनवासीले पुडासैनीको केसमा सहयोग गरेकाले उनले आफ्नो निर्वाचन क्षेत्र चितवन २ लाई नै रोजे। निर्वाचन आउनुभन्दा थोरै समय अगाडि दल दर्ता गरेको उनको पार्टीले पहिलो चुनावमै २१ सिट जितेर इतिहास रच्न सफल भयो।
कांग्रेसलाई भारी मतले जित्दै लामिछाने निर्वाचन जिते। निर्वाचनलगत्तै बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारलाई समर्थन गर्दै उनी रास्वपाको तर्फबाट उपप्रधान सहित गृहमन्त्रीमा नियुक्त भए। तर विगतदेखि उनको नागरिकताको विवादले सर्वोच्चको अन्तरिम आदेश पश्चात गृहमन्त्रीको पद गयो।
उत्तेजित भएर उनले पत्रकार सम्मेलन गर्दै मिडियाका मालिक, सम्पादक र नेताहरुलाई गाली गरे। त्यो देखेपछि उनीमाथि ठुलो आशा राखेकाहरुले पनि उनलाई काँचो माटोको संज्ञा दिए। ‘राजनीतिक संस्कार’ नभएको टिप्पणी हुन थाल्यो। तर पनि उनको समर्थक कम थिएनन्।

नेपाली नागरिकताको प्रक्रिया पूरा गरेर उनी पुन उपनिर्वाचनमा गए। फेरि पनि भारी मतले चुनाव जितेर दोस्रोपटक गृहमन्त्री भए। त्यसपछि फेरि उनलाई विभिन्न सहकारीको रकम हिनामिना गरेको आरोप लाग्यो। सहकारी ठगीको आरोपमा हाल उनी सहकारीकै मुद्दामा भैरहवास्थित कारागारमा थुनामा रहेका छन्।
उनको पक्षमा खरो उत्रिएका समर्थक यतिबेला सेलाएका छन्। जुनसुकै घटनामा लामिछाने जोडिएको खबर आएपनि जनता उनलाई एकपटक प्रधानमन्त्री बनाएर हेर्ने भन्नेमा थिए। तर अहिले उनको बचाउ गर्न नसक्ने स्थितिमा समर्थक पुगेका छन्। रविको लागि ज्यान दिने, घर घडेरी दिने समर्थक थिए। जुन भिडले रविलाई हिरो बनाएको थियो। त्यो भिड आज गुमनाम हुन पुगेको छ।
‘-याप’बाट उदय, ‘झ्याप’को बद्नामी : बालेन साह
कुनै समय काठमाडौं महानगर प्रमुख बालेन्द्र साह साउथ इण्डियन फिल्मको हिरोभन्दा कम थिएनन। सामाजिक सञ्जालका लाखौं प्रयोगकर्ता उनका पक्षमा ढाल, तरबार लिएर तैनाथ हुन्थे। २०४७ मा काठमाडौँमा रैथाने मधेशी परिवारमा जन्मिएका बालेनको पुख्र्यौली घर महोत्तरी हो। सानैदेखि बालेनको रुचि सङ्गीत र कवितामा थियो। उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ २०६९ मा गाएका थिए। यो गीत उनले कक्षा ९ मा हुँदा लेखेका थिए। उनी -यापर, सङ्गीत निर्माता, गीत लेखक, निर्देशक र इन्जिनियर हुन्।
उनले सविना काफ्लेसँग प्रेम विवाह गरेका हुन्। काफ्ले जनस्वास्थ्यकर्मी हुन्। साथै, उनीहरुको एक छोरी छिन्। साहले ‘ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजी’बाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरप्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। र्याप र इन्जिनियरिङसँगै उनले नेपालको राजनीतिमा पनि रुचि थियो।

२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा नक्सा बनाउने कार्य गरे। विवेकशील र साझा पार्टी छुट्टिएको बेला उनलाई विवेकशीलले काठमाडौँ नगर प्रमुखको उम्मेदवारको रूपमा उठ्न भनेको थियो। विवेकशीलबाट उठ्ने मनस्थिति बने पनि पार्टीको सदस्यता भने लिएका थिएनन्। पछि उनी स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्ने तयारीमा जुटे।
२०७४ सालको स्थानीय निर्वाचनमा उनले आफूले मतदान नगरेको र अर्कोपटक आफैँलाई मतदान गर्ने बताएका थिए। अरुको विश्वास नभएको र आफूले देश बनाउन सक्ने जिकिर गरेका थिए। नभन्दै उनले २०७९ को स्थानीय तह निर्वाचनमा मेयरको पदमा चुनाव लड्ने घोषणा गरे।
नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्यायो। २०७९ जेठ १२ गते बालेन काठमाडौँको मेयरमा निर्वाचितभए। नेपाली काँगेसका बलियो उम्मेद्वार सिर्जना सिंहलाई हराएका थिए।
काठमाडौँका मेयरका रुपमा उनले पृथक गर्न खोजेका छन्। फुटपाथ व्यवस्थित गर्ने उनको पहल प्रशंसायोग्य छ। तर फुटपाथ बनाउँदै गर्दा कैयनले काठमाडौँबाट विस्थापित हुने स्थिति आयो। बाटोमा मकै पोल्नेदेखि कवाडीखानाको उछितो काढे। ‘गरिबीको चमेली बोल्दिने कोही छैन’ गीत गाएका उनीमाथि गरिबमाथि अन्याय गरेको आरोप लाग्ने गरेको छ।
महानगर व्यवस्थित गर्ने भन्दै उनले अन्धाधुन्ध संरचना भत्काएर बनाउन सकेका छैनन्। आफ्नी श्रीमतीलाई ट्राफिक प्रहरीले चेक गरेको देखि महानगरको कर्मचारीले तलब नपाएको कारण देखाउँदै उनले कहिले सिंहदरबारमा आगो लगाउने तर कहिले टुकुचामा नेताहरुलाई गाड्ने प्रतिक्रिया दिइरहन्छन्। प्राय उनको प्रतिक्रिया शुक्रबार आउने हुनाले अधिकांशले नशा खाएर स्टाट्स लेख्ने भन्दै टिकाटिप्पणी गरिरहेका हुन्छन्।
भविष्यमा राम्रो नेताको रुपमा हेरिएको बालेनको क्रेज विस्तारै-विस्तारै घट्दै गएको छ। धैर्य नभएको, आफ्नो आलोचना सुन्न नसक्नेका रुपमा उनी परिचित हुँदै गएका छन्। बालेनबाट निरंकुश शासकको गन्ध आउन थालेको टिप्पणी हुन थालेको छ।
पदमै रहँदा अराजकता हावी : हर्क साम्पाङ
धरानका मेयर हर्क साम्पाङको वास्तविक नाम हर्कराज राई हो। उनको जन्म २०३९ सालमा खोटाङको खार्तम्छाको चोखाने गाउँमा भएको थियो। शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षाका लागि धरान झरेका हुन्। उनले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन्।
स्नातक पढ्दै गर्दा उनले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए। रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तान गए। साहित्यमा रुचि भएका उनी गीत लेख्ने, गाउने गर्छन्। एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एलबम पनि निकालेका छन्।

साम्पाङले जनसरोकारको विषय र समसामयिक बेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सामाजिक अभियन्ताको परिचय बनाएका थिए। सीमा अतिक्रमण र एमसीसीविरुद्ध उनी कहिले एक्लै प्रदर्शनमा हिँड्थे। कहिले सीमित संख्यामा आफ्ना समर्थकहरूको साथमा विरोध प्रदर्शन गर्थे।
उनमा देशलाई केही गरौँ भन्ने भावना थियो। २०७२ मा धरान हुँदै जाने मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठिबास लगाउने भएपछि संघर्ष समिति बनेर आन्दोलन भएको थियो।
समितिमा उनी सहसंयोजक थिए। उनको राजनीतिको ‘टर्निङ पोइन्ट’ त्यही धनकुटे रोड विस्तारविरुद्धको संघर्षबाट बनेको थियो। जनताको ठूलो मुद्दा होइन, जनजीविकाको विषयमा आवाज उठाए। धरानमा मुख्य समस्या बनेर बसेको खानेपानीको मुद्धा उनले उठाए। आफू मेयर भएर खानेपानीको चुहावट र कालाबजारी तत्काल रोक्ने कामलाई प्राथमिकता दिने उनको नारा थियो।
तर पनि २०७६ को उपनिर्वाचनमा धरानको मेयरमा उनी पराजित भए। त्यसबेला मात्र उनले ४२२ मत पाए। तर उनले खानेपानीको मुद्धा उठाउन छोडेनन्। अन्ततः २०७९ को स्थानीय निर्वाचनमा सत्ता गठबन्धन र नेकपा (एमाले) जस्ता ठूलो दलका उम्मेदवारलाई कडा टक्कर दिदै लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार उठे र लोकप्रिय मतसहित विजय हासिल गरे।

निर्वाचन जितेसँगै उनले आफू नै कानुन आफू नै राज्य भन्दै अभिव्यक्ति दिदैँ हिड्न थाले। प्रविधिको युगमा ढुङ्गा बोक्दै उनले लोकप्रियता कायम गर्न खोजे पनि वडाध्यक्षसँगै मिलेर काम गर्न सकेनन्। पत्रकारलाई गाली गर्ने धम्क्याउनेदेखि उनका अराजकताका सिलसिला रोकिएको छैन।
स्टण्ड फैलाउनुपर्ने, कसैगरी राष्ट्रिय मिडियामा छाइराख्नुपर्ने उनको रुचि छ। क्यामेराबिन एक पाइला चाल्दैनन्। विरोध गर्नेलाई मेयरको मयार्दा नराखी गाली गर्न। देश बनाउन सक्ने भिजन आफूसँग मात्रै भएको दाबी गर्छन्। सुरुमा जसरी उनीमाथि जनताले सम्भावना देखेका थिए। विस्तारै उनको कार्यकुशलता पनि टोले नेताभन्दा माथि उठ्न नसक्ने देखिन्छ।
शिक्षक कुटेको इतिहास, संगठित अपराधको अभियोग : दुर्गा प्रसाईं
झापा विर्तामोडका प्रसाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएपछि राष्ट्रिय स्तरमै चर्चामा आए।
तेह्रथुमबाट झापा झरेका प्रसाईंको परिवार सामान्य आर्थिक अवस्थाको थियो। खेतीपाती गरेर जीविका चलाउँदै आएका थिए। सानै उमेरमा विवाह गरेका उनले ग्रील कारखानामा काम गर्दै रोजगारीका लागि युरोपसम्म पुगे। तर उनी त्यहाँ टिक्न सकेनन्।

विदेशमा भैँसी फार्ममा काम गरेको अनुभव लिएर स्वदेश फर्किएर उनले विर्तामोडमा व्यावसायिक रुपमा भैँसी पालन गरे। सयवटा भैँसी पालेका उनले दूध मेची पारीसम्म बेच्थे। बैँकबाट ऋण लिएर व्यवसाय सुरु गरे पनि व्यवसाय चलेन। बैँकको ऋण तिर्न कठिन भयो।
त्यतिबेला नेपाली काँग्रेसमा आबद्ध उनी ऋणमा डुबेपछि भूमिगत अवस्थामै रहेको माओवादीमा लागेका हुन्। आफ्नै ससुराविरुद्ध छापामार प्रयोग गरेर सम्पत्ति हडपेको उनको निकटस्थ बताउँछन्। जग्गा पाएपछि प्रसार्इंले सालासँग मिलेर जग्गा प्लटिङ गरी धनार्जन गरे। काठमाडौँ, भक्तपुर र बिर्तामोडमै आलिसान घर बनाए। सम्पत्ति जोड्दै गए।
नेकपाको विघटनपछि प्रसाईं एमाले प्रवेश गरेका हुन्। उनले डा.गोविन्द केसीको आन्दोलनको विरोध गर्दै आए। संयुक्त अरब इमिरेट्सका राजकुमारलाई नेपाल भ्रमणमा ल्याएर सुनको छडी उपहार पाएको भनेर चर्चा भयो। सत्तासँग निकटता बढाउँदै उनी मेडिकल कलेजको सञ्चालक भए। अर्को बैँक तथा वित्तीय संस्थालाई गाली गलौज गर्दै उनी चर्चामा आए।
काँग्रेस, एमाले, माओवादी निकट भई शक्ति र सम्पत्ति थोपरेका प्रसाईं हाल राजतन्त्रको मुकुण्डो भिरेर हिँडेका छन्। गत चैत १५ गतेको हिंसात्मक आन्दोलनमा राज्यविरुद्ध कसुरमा उनी हिरासतमा छन्। कार्यकर्ता उचाल्नमा माहिर उनी आफू भने भारत लुक्न पुगेका थिए। तर चैत २८ गते उनी समातिए।

न पढाइ छ, न योग्यता छ, न त संयमता र अनुशासन। परिवारसँगै बसेर सुन्न नसकिने प्रसाईंका अभिव्यक्ति हुन्छन्। प्रसाईंको पछि लागेर बैंकको ऋण मिनाह हुन्छ कि भनेर पछि लाग्नेहरु यतिबेला निराश छन्। राजा ल्याइदिने कुरा पनि आकाशको फल भएको छ।
प्रतिक्रिया