काभ्रेमा रगतको चरम अभाव, बिरामी समस्यामा « Khabarhub

काभ्रेमा रगतको चरम अभाव, बिरामी समस्यामा


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । बिरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज  केन्द्रमा पुग्दा केन्द्रले  एक यूनिट रगतसमेत दिन नसकेको जनाइएको छ । 

केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । ‘केन्द्रमा एक यूनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट माग भइरहेको छ’, केन्द्रका ‘स्टोर इन्चार्ज’ गोकुल बानियाँले भने। 

उनका अनुसार रगतका लागि बिहीबार बिहानैदेखि केन्द्रमा लगातार फोन आइरहेको छ । रगतको मुख्य बैंकका रुपमा रहेको  नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालितको उक्त केन्द्रमा रगत नहुँदा निकै समस्या भइरहेको उनले बताए। रेडक्रसले सात सय यूनिट रगत भण्डारण क्षमताको केन्द्र सञ्चालन गर्दै आएको छ । 

जिल्लामा नियमित रूपमा रक्तदाता नहुनुले पनि रगतको अभाव भइरहेको जनाइएको छ । केही दिनयता जिल्लामा रगत अभाव हुनथालेको हो । रगत दान गर्नेभन्दा रगत लिनेको सङ्ख्या बढ्न थालेपछि रगत अभाव हुनथालेको केन्द्रले जनाएको हो । रक्तदान कार्यक्रम कम भएका कारण पनि रगत अभाव देखिएको रेडक्रस काभ्रेले जनाएको छ । 

केन्द्र प्रमुख राधा थापाका अनुसार हाल केन्द्रमा रगतको अभाव पूर्ति गर्न कठिनाइ भइरहेको छ । ‘कहिलेकाही सम्पर्कमा रहेका रक्तदातालाई अनुरोध गरेर बिरामीका आफन्तसँग समन्वय गराउँछौँ, अन्यथा निकै कठिन भइरहेको छ’, उनले भने। उनका अनुसार केन्द्रमा ‘ए–पोजेटिभ’, ‘बी–पोजेटिभी’, ‘एबी–पोजेटिभी’ र ‘ओ–पोजेटिभ’लगायत सबै प्रकारको रगतको माग भएको हो । रगत अभाव हुन थालेपछि बिरामीहरू समस्यामा परेका छन् । 

काभ्रेमा रगत अभाव भएपछि केही हप्तादेखि भक्तपुर र काठमाडौँबाट रगत पूर्ति गर्नुपर्ने बाध्यता रहेपनि पछिल्ला दिनदेखि ती दुई जिल्लामा रगत अभाव भएको खबर प्राप्त भएको ‘स्टोर इन्चार्ज’ बानियाँले बताए। जिल्लामा आधा दर्जन अस्पताल तथा एक दर्जन क्लिनिक सञ्चालनमा छन् । जिल्लाका सबै अस्पतालमा सामान्यदेखि विशिष्ट खालका शल्यक्रियासमेत हुने गरेका छन् । शल्यक्रियाका क्रममा रगतको आवश्यकता पर्ने भएकाले बिरामीलाई आवश्यकता पर्ने ग्रुपको रगत नहुँदा अस्पतालका साथै बिरामीका आफन्तलाई समेत समस्या हुने गरेको पाइएको छ । 

काभ्रेमा सञ्चालित अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा तथा ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरसँगै मधेस र भित्री मधेसका विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । अस्पतालमा बिरामीको चाप बढेसँगै रगत अभावको समस्या चुलिएको हो । 
 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १ : ०५ बजे

१३ कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै प्रतिजैविक औषधिको बिक्री गरेको भेटियाे

काठमाडौं – औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीमा छड्के अनुगमन गर्दा

एनपीएलमा लुम्बिनीको पहिलो हार, काठमाडौं ३६ रनले विजयी

काठमाडौं – साविक विजेता लुम्बिनी लायन्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

चितवन – चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले